बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जनक शिक्षा केन्द्रले नै गर्‍यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

शनिबार, १२ असार २०७८, १३ : ४८
शनिबार, १२ असार २०७८

जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।

विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।

कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा  कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ । यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ ।

किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्य समेत राखिएको एक अभिभावकले जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्र भन्छ : स्टक होला, फिर्ता हुन्छ

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुन सक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने उल्लेख गरे ।

रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने, ‘पाठ्यपुस्तकमा नयाँ नक्सा प्रकाशन गर्ने पोहोर निर्णय भएको हो । त्यो निर्णयअघि नै छापिएका पुस्तक रहेछन् भने त्यसलाई सच्याउने प्रक्रिया चलिरहेको छ । अहिले कहीँ बजारमा त्यस्तो भेटिएको हुन सक्छ ।’

​गत महिनामात्रै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले बजारमा पुराना नक्सा प्रकाशन  भएको किताब विक्री वितरण गर्नेलाई कारवाही गर्ने बताएका थिए भने त्यस्ता किताब फिर्ता ल्याउन समेत निर्देशन दिएका थिए । यस्तै अघिल्लो वर्ष पाठ्यक्रम विकास केन्द्रले नै नेपालको नयाँ नक्सा सहित छापेको शिक्षक सहयोगी पुस्तक वितरण गर्न सरकारले नै रोक लगाइएको थियो ।

तर अहिले बजारमा भेटिएका पुरानै नक्सा भएका किताब गत बर्ष अगाडि नै प्रकाशन भएर देशभरीका बजारमा पुगेको हुनसक्ने दावी निर्देशक भट्टराईले दोहोर्‍याए । उनले भने, ‘बजारमा  देशभरी नै किताब पुगेको हुन्छ । पोहोर निर्णय भएपनि त्यतिबेला पनि सूचना थाहा  थिएन । नयाँ किताबमा त हामीले सच्याएका छौँ । त्यसभन्दा अगाडि छापिएका किताबहरु, स्टकका किताबहरुमा त्यस्तो रहन सक्छ । पहिले नै छापिएका किताबहरुमा नयाँ चित्र टाँसिदिने, त्यस्ता किताब बजारमा रहेछन् भने नयाँ दिएर फिर्ता ल्याउने भन्ने कुरा भएको छ ।’

बजारमा पुरानो नक्सा भएको किताब पुगेको छ भने जनक शिक्षा सामग्री केन्द्रले फिर्ता लिने निर्देशक भट्टराईले जानकारी दिए ।

अघिल्लो बर्ष जेठमा प्रतिनिधि सभाले भारतले अतिक्रमण गरेको नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसयता नेपालको नक्सा प्रयोग हुने हरेक विषय क्षेत्रमा नयाँ नक्सा प्रयोग गर्न थालिएको थियो ।

तस्बिरहरु-मकर श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप