शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना कहर : सुदूरपश्चिम प्रदेशमा दुई दिन यता मृत्यु दर शून्य

शनिबार, १२ असार २०७८, १० : ०९
शनिबार, १२ असार २०७८

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगबाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् 

दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्यू दर शून्य रहेको थियो ।
   
प्रदेशमा अहिलेसम्म ४३ हजार ४४२ सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
  
दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए । प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो ।
  
कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ ।  

सङ्क्रमित हुने मध्ये ५७० जना अर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ । 
 
हालसम्म एन्टिजेन परीक्षण ६६ हजार ९५० जनाको गरिएकोमा आठ हजार ३४४ र पिसिआर परीक्षण एक लाख ९१ हजार ९३७ जनाको गरिएकोमा ३५ हजार ९८ जना सङ्क्रमित भएका छन् । पिसिआर परीक्षण एक वर्ष अघि देखिनै शुरु गरिएकोमा एन्टिजेन परीक्षण भने गएको वैशाखदेखि गर्न थालिएको हो । 
 
एन्टिजेन परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर दुई दशमलब ९१ प्रतिशत रहँदा पिसिआर परीक्षण गराइ सङ्क्रमित हुनेको मृत्यु दर  शून्य दशमलब ९३ प्रतिशत रहेको छ । अहिलेसम्म एन्टिजेन परीक्षण गराएका २४३ र पिसिआर परीक्षण गराएका ३२७ जनाको उपचार व्यवस्थापनका क्रममा मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप