सुरवीर पण्डितको जीवन : मेरो मृत्युको जिउँदै अनुभव गर्न पाएँ
सुरवीर पण्डित पछिल्लो समय कलाकारितामा ‘दारी बा’का नामले चर्चित छन् । यो परिचय उनले हास्य सिरियल ‘मेरी बास्सै’बाट पाएका हुन् । यो सिरियलबाट उनी सर्वत्र चिनिएका हुन् ।
कलाकारितामा सुरवीर पण्डितको नामबाट चिनिएका उनको वास्तविक नाम केशवप्रसाद पण्डित हो । विसं २०४३ देखि नियमित कलाकारितामा रमाउँदै आएका उनी समकक्षीको तुलनामा धेरै पछि छन् । त्यसैले पनि उनी अहिले पनि भन्छन् कलाकारिता पेसा बनाउने कोसिसमै छु ।
सङ्ख्याले ५० भन्दा बढी टेलिसिरियल र ४० माथिका फिल्म र एक सय हाराहारीका म्युजिक भिडियोमा अभिनय गरेका पण्डित आर्थिक रूपले धेरै पछि परेका छन् । त्यसैले पनि होला उनी मोटरसाइकल चढ्दा सीधा बाटो डोर्याउँछन्, ओरालो स्टार बन्द गरेर चढ्छु । यसो गर्नु आफ्नो बाध्यता भएको बताउने उनी आफू डिमान्डेट र पपुलर कलाकार गुनासो पोख्छन् ।
कलाकारिताकै कारण केही दिनअगाडि उनको मृत्युको झुटो खबरसमेत फैलिएको थियो । ‘मेरी बास्सै’मा मृत्युको अभिनय गरेका कारण उक्त खबरको सामाना गर्नुपरेको उनी बताउँछन् । भन्छन्, ‘झुटो खबरले मेरो मृत्युको पछि आफन्त कति विछिप्त हुन्छन्, आतिन्छन् जिउँदै अनुभव भयो । यिनै कलाकार सुरवीर पण्डितका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा:
कलाकारिता
विसं २०४३ देखि म नियमित कलाकारितामै छु । ‘कोसँग जुधाँै’ टेलिसिरियलबाट मैले अभिनयमा डेब्यु गरेको हो । म अझै कलाकारिता पेसा बनाउन प्रयासरत नै छु । कलाकारिताको करिब ४ दशकको यो यात्रामा एक दर्जनभन्दा बढी स्टेज नाटक, करिब ५० सिरियल र ४० भन्दा धेरै फिल्म अभिनय गरिसकेको छु । म्युजिक भिडियो भने मैले धेरै गरेको छु । सङ्ख्या भन्नुपर्दा एक सय नाघ्यो होला ।
अहिले अभिनय गरिरहेको सिरियल ‘मेरी बास्सै’ हो । २०६२ देखि यो नियमित अभिनय गरिरहेको छु । ‘मेरी बास्सै’बाट मेरो कमेडी कलाकार बन्ने प्रयास जारी छ । लामो समयदेखि कलाकारितामा निरन्तर रहे पनि मेरो कलाकारिता हिलोमा फसेको गाडी जस्तै छ । परिवार पनि यही सोच्छन् । किनभने मेरो कलाकारिताले आर्थिक रूपमा अझै गति लिन सकेको छैन ।
कलाकारिताबाट अहिले भने सर्वत्र चिनिन्छु । त्यो पर्सनल रूपले भन्दा पनि सिरियलका कारणले हो । यही सिरियलका कारणले केही दिनअगाडि मेरो मृत्युको झुटो खबरसमेत फैलिएको थियो । त्यसले मलाई तनाव दियो । सबैलाई भन्नु चिन्ता नलिनुस् । मेरो मृत्यु भएको छैन ।
सिरियलमा हालै प्रसारण भएको भागमा मेरो मृत्युको दृश्य थियो । त्यसलाई लिएर केही भाइसाथीहरुले टिकटकमा सिरियलको चर्चाका लागि हार्दिक समवेदना भनिदिएछन् । त्यसलाई आधार बनाएर केही अनलाइन मिडियाले मेरो मृत्युको झुटो समाचारसमेत बनाएछन् । समाचारमा आएपछि मृत्युको झुटो खबर सबैतिर फैलिएछ ।
आफ्नो मृत्युको झुटो खबर म आफैले पनि सुन्नुपर्यो । खबर सुन्दा म नै विक्षिप्त भए । फोन उठाएरै भ्याइन । त्यो समय घरमै भएकाले परिवारले अप्ठ्यारो अवस्थाको सामना गर्नुपरेन । खबरले आफ्नो मृत्युपछि आफन्त कति विक्षिप्त हुन्छन्, आतिन्छन् भन्ने मैले जिउँदै अनुभव गर्न पाए ।
म आफैलाई फोन गरेर धेरैले मेरै मृत्यु भएको हो भनेरसमेत सोधे । केहीले तिमी जीवित रहेछौ, खुसी लाग्यो भनेर फोन काटे । झुटो मृत्युको खबरले मृत्यपछि मेरो अवस्था र अन्य धेरै कुराको अनुभव भने गरायो ।
सपना
राम्रो कलाकारका रूपमा चिनिने मेरो सपना हो । राम्रो कलाकारको नाम लिँदा मेरो नाम आहोस् भन्ने इच्छा रहेको छ । कलाकारिता अगाडि नेपाल सरकारको सेक्सनअफिसर बन्ने सपना थियो । ‘सिन्दूर’ भन्ने नेपाली फिल्म हेरेपछि मलाई कलाकारिताको भुत लाग्यो ।
प्रेम
बुबाआमाले खोजिदिएको केटीसँग विवाह गरेको हो । त्यसैले विवाहअगाडि होइन विवाह पछाडि श्रीमतीसँगै प्रेम बस्यो । बाहिर प्रेम कहिल्यै भएन । म प्रेमको लायक छैन । पेट्रोल बचत गर्न मोटरसाइकल ओरालोमा स्टार्ट बन्द गरेर चढ्ने र तेस्रोमा डोर्याउने मानिसँग कसले प्रेम गर्छ ।
दुःख
कहिलेकाहीँ काम नपाएर त्यसै बस्नुपर्ने हुन्छ । कहिले काम आउँछ, थोरै बजेट छ भनेर भन्छन् । ल भनेर काम ग¥यो । त्योबाट पनि मम खर्च जति पनि पाउन गाह्रो हुन्छ । काम लगाएर धेरैले पैसा दिँदैनन् । त्यस्तो बेला दुःख लाग्छ । धेरै पहिले काम गरेको पैसा उठाउन अहिले पनि धाउँदैछु ।
खाना
नेपाली खाना दाल, भात र तरकारीलगायत सबै प्रकारको खानेकुरो मनपर्छ । मन नपर्ने बफ आइटम हुन् । सुटिङ भएको समय र धेरै अप्ठ्यारो पर्दा मात्र रेस्टुरेन्ट जान्छु । नत्र घरकै खानेकुरा मनपर्छ ।
रेस्टुरेन्टका पनि सिम्पल खानेकुरा मनपर्छ । पकाउन फिटिक्कै रुचि छैन । पकाउनु परे दाल, चामललगायत सबैथोक एउटै भाँडोमा हालेर उमाल्छु ।
फिट्नेस
फिट्नेसका लागि त्यस्तो केही गर्ने बानी छैन । गाउँघरको उकाली ओरालीले नै अहिलेसम्म फिट छु । खेतबारीको काम र गाउँ घरको हिँडडुल मेरो मर्निङवाक हो ।
पोसाक
लाज ढाक्ने सिम्पल पहिरन नै मनपर्छ । सर्टपाइन्ट, कमिज सुरुवाल, दौरा सुरुवाललगायत बढी प्रयोग गर्छु । विशेष कार्यक्रम, भोज भतेरमा जानुपर्दा आफ्नो लागि भन्दा पनि साथीभाइले अप्ठ्यारो नमानुन् भनेर सुटपाइन्ट र दौरासुरुवाल प्रयोग गर्छु ।
सबै कलरका पहिरन मनपर्छ । साथीभाइले भने सुटपाइन्टमा बढी सुहाउँछ भन्छन् । पहिरन आवश्यक परे किन्ने हो ।
अध्ययन
पुस्तक अध्ययन गर्ने बानी छैन । समाचारका लागि कहिलेकाहीँ पत्रपत्रिका पढ्छु ।
घुमघाम
घुमघाममा खासै रुचि छैन । कसैले स्विजरल्यान्ड जाऊँ भने पनि जान मनलाग्दैन । मोबाइलबाट त्यो ठाउँ हेर्दा चित्त बुझ्छ । कुनै राम्रो ठाउँ घुमौ, हेरौँ भन्ने कहिल्यै लागेन ।
आफ्नै लोकल एरिया शिवपुरीका त कतिपय स्थान घुम्न बाँकी रहेको छ । सुटिङको सिलसिलामा जा गइन्छ । त्यहीँ सुटिङ गरेर फर्किने हो । दायाँबायाँ कहिलै घुमेको छैन ।
फुर्सद
फुर्सद निकाल्यो भने हुन्छ । नत्र कि सुटिङ कि घरको काम । केही न केहीमा म बिजी रहन्छु । केही काम भएन भने एफएम सुनेर पनि समय बिताउन सक्छु ।
खेलकुद
स्कुल पढ्दा कहिलेकाहीँ फुटबल खेल्थेँ । एकपटक साथीले खुट्टाको हाडमा हिर्काएका थिए । अहिले पनि सम्झिँदा दुखेर आउँछ । भलिबल र ब्याडमिन्टन पनि पहिले खेल्थँे ।
खेलकुद हेर्न खासै मनपर्दैन । कसैसँग बसेको समय उसले जे हेरेको छ त्यो हेर्छु । अरूलाई साथ दिने मात्र हो । खेलाडी साथीहरु माइन्ड नगर्नु होला । खेलकुदमा मेरो रुचि छैन ।
मोबाइल
मसँग अहिले सामसुम ब्रान्डको एउटा मोबाइल छ । फेरि फेरि मोबाइल बोक्ने बानी छैन । पहिले मोटोरोला कम्पनीको सेट बोकेको थिए । अहिले यो फेरेको छु । मोबाइलका धेरै फङ्सनहरु चलाउन पनि आउँदैन ।
फोन गर्ने, उठाउने, सामाजिक सञ्जाल चलाउने, युट्युब हेर्न, म्युजिक सुन्ने यस्तै यस्तैका लागि मोबाइल प्रयोग हुन्छ । विदेशमा रहेका केही साथीभाइले मोबाइल गिफ्ट पठाउँछु भनेका छन् । त्यो लिन मन लाग्दैन । आफूसँग जे छ त्यसैमा चित्त बुझाउन मनपर्छ भन्ने मेरो धारणा हो । आफू केही दिन सकिन्न । त्यसैले अरूले दिएको गिफ्ट लिन मनलाग्दैैन ।
टिभी
टिभी नहेरेको करिब ५ वर्ष भयो कि । टीभीमा जहिलेदेखि सेटअपबक्स राख्नु भनियो त्यो नराखेको कारण टीभी घरमा त्यतिकै छ ।
पहिले पहिले टीभीमा हिजो आजका कुरा, जिरे खुर्सानी, महजोडीका सिरियलहरु धेरै हेर्थें । अहिले आफूले खेलेको भिडियो र सिरियल अहिले मोबाइलमा हेर्छु ।
चलचित्र
चलचित्र हेर्छु, हेर्न मनपर्छ । पछिल्लो समय हलमा हेरेको चलचित्र ‘छक्का पञ्जा’ हो । बसमा यात्रा गर्दा मोबाइलमा कहिलेकाहीँ फिल्महरु हेर्छु । मलाई मनपर्ने फिल्म कमेडी हो । साउथका एक्सन र बलिउड फिल्म पनि राम्रो लाग्छ ।
गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ र सुन्छु पनि । नेपाली, हिन्दी सबै भाषाका गीतमा रोमान्टिक गीत मनपर्छ । फुर्सद भयो कि गीतसङ्गीत सुन्ने हो । नयाँ पुराना सबै गायक गायिकाको गीत सुन्छु ।
भूल
जीवनमा जानी नजानी धेरै भूल भए होलान् । जीवन भूलहरुकै समिश्रण रहेछ । राम्रो पढेर कलाकारितामा लाग्न पाएको भए अझै राम्रो हुन्थेँ कि । त्यो गर्न सकिएन । एउटा भूल यही हो ।
अर्काे कुरो साथीहरु अहिले पेन्सन खाएर बसेका छन् । मैले पनि जागिर खाएर नबसेर आकाशे खेती कलाकारितामा रोजेँ । अर्काे भूल यही हो । किनभने यो लाइनमा काम दिन्छन् तर दाम दिँदैनन् ।
मापसे
मापसे हल्का गर्छु । खानैपर्ने लत लागेको भने छैन । साथीभाइलाई साथ दिन एक प्यक लिने गरेको छु । ब्रान्ड यही चाहिन्छ भन्ने छैन ।
कलाकारिताको सुरुवातको समय यो प्रसाद हो नखाई कलाकार हुइँदैन भनेर धेरैले सिकाए । त्यसअगाडि छोएको पनि थिइनँ ।
रोग
केही वर्ष अगाडि सुटिङका क्रममा घुँडाको लिगामेन्ट च्यातिएको थियो । अहिले पनि त्यो दुख्छ । लिगामेन्टको अपरेसन गर्दा औषधि र खानपिन नमिलेकाले होला कि त्यो समयदेखि ग्यास्टिकले सताएको छ । अन्य रोग केही छैन ।
राशि
मेरो राशि ‘तुला’ हो । ग्रहदशामा विश्वास अलिअलि लाग्छ । पत्रिकामा दिने गरेको राशि फल मेरो जीवनमा धेरै प्रतिशत मिल्ने गरेको छ । हेराउने जुराउने भने गर्दिनँ ।
मृत्यु
मृत्यु जीवनको अकाट्य सत्य हो । जन्म र मृत्यु कसैले टारेर टर्दैन । एक दिन सबैको मृत्यु हुन्छ । कलाकारिताकै क्रममा मृत्युवरण गर्न सकौँ भन्ने चाहना छ । कलाकारिता एउटा अमर हुने ठाउँ हो । कामका कारणले मृत्युपछि पनि ८, १० पुस्तासम्मले पनि सम्झिउन् भन्ने लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत
-
सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुला गर्न कार्यदल गठन
-
सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)