आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बर्खे अधिवेशनका लागि संसद् सचिवालयको तयारी सुरु

शनिबार, १२ असार २०७८, ०७ : १९
शनिबार, १२ असार २०७८

राष्ट्रिय सभाको बर्खे अधिवेशनमा बैठक बस्नका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेपछि संसद् सचिवालयले बैठकको आवश्यक तयारी गर्न लागेको हो।

कोरोनाको नयाँ भेरियन्टका कारण जोखिम भइरहेकाले त्यसलाई ध्यानमा राख्दै बैठक सञ्चालन गर्ने तयारी गरिएको छ। गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ। राष्ट्रिय सभाका सांसद धेरैजसो उपत्यकाबाहिर रहेका छन्। जसकारण समितिको बैठक पनि बस्न सकेको छैन। संसद् सचिवालयले सबै सांसदलाई अधिवेशन आह्वानको जानकारी विभिन्न माध्यमबाट गराउँदै आएको छ।  

यसअघि सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी थालेको थियो। बैठकमा एक सांसद र अर्को सांसदबीच दुई कुर्सी खाली राखी गरी सामाजिक दूरी कायम गरिएको थियो। संसद्मा प्रवेश गर्ने सांसदले अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको थियो। त्यस्तै, सेनिटाइजरको प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य संगठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने व्यवस्था गरिएको थियो। 

संसद् भवनबाहिर हात धुन साबुनपानीको व्यवस्था पनि गरिएको थियो। हात धोएपछि मात्र संसद् भवनमा प्रवेश दिइने व्यवस्था गरिएको थियो। ‘सांसदहरूको टेबलमा सेनिटाइजर अनिवार्य गरिएको छ र बोल्नुअघि माइक पनि अनिवार्य रुपमा सेनिटाइज गर्नुपर्ने व्यवस्था गरिएको थियो।’ यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप