बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभामा छलफल : नयाँ बजेट उत्पादनमुखी हुन सकेन

शुक्रबार, ११ असार २०७८, २० : ३५
शुक्रबार, ११ असार २०७८

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नयाँ बजेटको सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । आठौं अधिवेशनको १७ औं बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले बजेट वितरणमुखी र उत्पादनमुखी हुन नसकेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले बजेटमा योजनाहरु कनिका छरेको जस्तो भएको र उत्पादनमुखी हुन नसकेको बताउँदै प्रदेशमा रहेका गौरवका योजनालाई थप प्रभावकारी बनाउन नसकेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट विगतकै निरन्तरता भएको बताए । उनले भने– ‘यो बजेटका कार्यक्रम हेर्दा धेरै विगतकै निरन्तरता छन् । प्रदेश सरकारले ल्याएको यो बजेट वितरणमुखी, कनिका छरेको जस्तै देखिएको छ ।’ सरकारले  बजेटमा समेटेका गौरवका योजनाका कार्यक्रमहरु अहिलेसम्म पनि कार्यान्वयन हुन नसकेको बताए । उनले भने –‘पहाडका चार जिल्ला जोड्ने गरी खप्तडमा सडक बनाउने, प्रदेश राजधानीको पूर्वाधार निर्माण, धनगढीस्थित फाप्ला क्रिकेट मैदान, प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ मूल्य पसल, प्रदेश वस सेवा लगायतका अधिकांश कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा गएको हामीले सुनेका छैनौं ।’

उनले प्रदेश सरकारले गठन गरेको प्रदेश योजना आयोगले यस वर्षको बजेटमा दीर्घकालीन योजनाहरु समेट्नुपर्ने बताउँदै भने– ‘सरकारले प्रदेश योजना आयोग गठन गरेको छ । त्यसको सुझावका आधारमा अहिले कार्यक्रम ल्याउनुपर्थ्यो । त्यो देखिएन । कसैलाई खाली तलब खुवाउन मात्र किन आयोग खोल्नु ?’

नेकपा एमालेका प्रदेशसभा सदस्य तारा लामा तामाङले कार्यक्रम पुस्तिकालाई सदनमा छलफल भइसकेपछि अन्तिम रुप दिइनुपर्ने माग गरे । उनले भने–‘अहिले सरकारले ल्याएको कार्यक्रम पुस्तिकामा केही त्रुटी छ । सरकारले यसलाई संशोधन नगरी हामीले सदनबाट पारित गर्ने हो र यसको इकार उकार पनि परिवर्तन हुन्न भने आजै विशेष प्रस्ताव पारित गरौं । अर्को सालदेखि बजेट पेश भएकै दिन पारित गर्ने व्यवस्था गरौं ।’ उनले जनतालाई फलाना संसदले हाम्रो आवाज उठाएको थियो भन्ने सन्देश दिनलाई मात्र छलफल चलाइएको आभास भएको बताए ।

उनले बाजुरा, बझाङ, दार्चुला, अछाम लगायतका जिल्लामा बजेट पर्दा आफुलाई खुशी लाग्ने गरेको बताए । उनले भने –‘सदनमा विपक्षी दलले पनि गोलमोटल गरेर आवाज उठाउने गरेको र सत्तापक्षले गोलमोटल गरि बोल्नुपर्ने बाध्यता हो ।’ उनले योजनामा कमी कमजोरी भए कार्यान्वयनका चरणमा प्रभावकारी बनाउन सुझाव दिए । उनले भने– ‘प्रदेश सरकारका बहुवर्षीय योजनाहरु पनि अहिलेसम्म सम्पन्न गर्न सकेको छैन ।’

प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटले प्रदेश सभाकै गरिमा घटेको बताए । उनले भने –‘सरकारले ल्याएको नीति तथा कार्यक्रमले सदनको गरिमा कायम गरेको थियो । त्यसैका आधारमा बजेट आउला सोचेका थियौं तर, यसले सदनकै गरिमा गुमायो । यसलाई पारित गराउने पक्षमा मेरो कुनै पनि हालतमा समर्थन हुनेछैन ।’ 

शुक्रबारको बजेटमाथिको छलफलमा सत्तापक्षका हर्कबहादुर कुँवर, कुन्ती जोशी, माया भट्ट, देवकी मल्ल, प्रकाश रावल, प्रतिपक्षी दल नेपाली काँग्रेसका कुमारी नन्दा बम र श्याम राना लगायत सहभागी भएका थिए ।
प्रदेशको अर्को बैठक असार १३ गते आइतबार दिउँसो २ बजे बस्ने गरि स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप