शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपेली प्रतियोगिताबाट हट्यो अवे गोलको नियम

शुक्रबार, ११ असार २०७८, १९ : ४४
शुक्रबार, ११ असार २०७८

युरोपेली फुटबलको सर्वोच्च संस्था युइएफएले युरोपेली प्रतियोगिताहरूबाट अवे गोलको नियम हटाउने निर्णय गरेको छ । यसअघि दुई टोलीबीच दुई लेगपछि समग्रमा नतिजा बराबरी भयो भने अवे गोलका आधारमा टिमलाई विजयी घोषणा गरिन्थ्यो । तर, अब युरोपेली फुटबल  प्रतियोगितामा होम गोल र अवे गोल भन्ने हुँदैन । 

दोस्रो लेगपछि समग्र नतिजा बराबरी आएमा पहिलो हाफ १५ र दोस्रो हाफ १५ गरेर कुल ३० मिनेटको अतिरिक्त समय र त्यसबाट पनि नतिजा नआएमा सिधै पेनाल्टी सुट आउटमा खेल जानेछ । सन् १९६५ यता आधा शताब्दीभन्दा लामो समय च्याम्पियन्स लिग, युरोपा लिग लगायत युरोपेली फुटबल प्रतिस्पर्धामा अवे गोलको नियम लागु भयो । युईएफएका अध्यक्ष अलेक्स्यान्द्रर सेफेरिनले भने, ‘जुन उद्देश्यका साथ यो नियम ल्याइएको थियो । त्यसैको प्रतिकूल देखियो ।’ उनले यस नियमले फुटबल टिमहरूलाई आक्रामक खेल्न प्रेरित गर्न नसकेको बताए ।

किन हटाइयो नियम ? 
१९६५–६६ को सिजन पहिलोपटक कप विनर्स कपमा यसको प्रयोग गरिएको थियो । त्यसयता, यो नियम निरन्तर युरोपेली फुटबलमा लागू भएको छ । यद्यपि, आर्सनलका पूर्व प्रशिक्षक आर्सेन विंगर, एथलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमोनीलगायत व्यक्तिहरु यस नियमको विरोधमा थिए  । विशेषगरी कुनै पनि प्रतिस्पर्धाको पहिलो लेगमा घरमा प्रतिस्पर्धा गरिरहेका टोलीलाई यो टिमले खुलेर खेल्न नदिने उनीहरुको तर्क थियो । युइएफएले जारी गरेको विज्ञप्तिमा पनि अवे गोलको नियम लागू भएयता युईएफएका प्रतिस्पर्धामा घरेलु मैदानमा जित र गोलको संख्यामा कमी आएको उल्लेख छ । ‘१९७० को मध्यतिरदेखि अहिलेसम्मको तथ्याङ्क केलाउँदा होम र अवे खेलको जीतमा निरन्तर खाडल बढ्दै गएको स्पष्ट देखिन्छ’ विज्ञप्तिमा भनिएको छ । 

युईएफएको तथ्याङ्कअनुसार ७० को मध्यतिर होम ग्राउन्डमा टोलीहरू विजयी हुने दर ६१ प्रतिशत थियो । र, अवे मैदानमा विजयी हुने दर १९ प्रतिशत थियो । अहिले होम ग्राउन्डको दर झरेर ४७ प्रतिशत र अवे ग्राउन्डको दर बढेर ३० प्रतिशत पुगेको छ । ७० को मध्यतिर होम ग्राउन्डमा औसत २.०२ को दरमा र अवेमा ०.९५ को दरमा गोल भएको थियो । अहिले होम ग्राउन्ड हुने गोल औसतमा झरेर १.५८ र अवेमा हुने गोल बढेर १.१५ मा पुगेको छ । 

युईएफएका अध्यक्ष सेफेरिनले यस नियमका कारण आक्रामक फुटबल निरुत्साहित भएको धारणा राखे । ‘खासमा जुन उद्धेश्यले यो नियम ल्याएको थियो, अहिले त्यसको प्रतिकूल बनेको छ । यसले अहिले, विशेषगरी पहिलो लेगमा आक्रामक खेल्नबाट घरेलु टिमलाई निरुत्साहित गर्छ । किनकि, गोल खाइ हालेमा यसले विपक्षीलाई ठूलो लाभ दिनेछ भन्ने डर उनीहरुमा हुन्छ,’ उनले भने, ‘त्यहाँ निष्पक्षतालाई लिएर पनि आलोचना भइरहेको छ, विशेषगरी अतिरिक्त समयमा अवे टिमले गोल गरेको अवस्थामा घरेलु टिममाथि दुई गोल फर्काउनुपर्ने अवस्था निम्तिन्छ । कुनै समय घरेलु मैदानको लाभ जति महत्वपूर्ण थियो, त्यति अहिले छैन भनेर स्पष्ट रुपमा भन्न सकिन्छ ।’

सन् २०१४–१५ को सिजन चेल्सी यसरी नै अतिरिक्त समयमा पुगेर मारमा परेको थियो । पेरिस सेन्ट जर्माइनसँग पेरिसमा पहिलो लेग १–१ गोलको बराबरी खेलेपछि स्ट्याम्फर्ड ब्रिजमा ९० मिनेटसम्म १–१ गोलको बराबरी नै भएको थियो । 

त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । जहाँ, इडेन हाजार्डले ९६ औं मिनेटमा पेनाल्टीमार्फत चेल्सीलाई अग्रता दिलाए । तर, पिएसजीलाई १ सय  १४ मिनेटमा डेभिड लुईजले बराबरीमा फर्काए । अवे गोलको नियमका कारण यही बराबरीका आधारमा  चेल्सी बाहिरियो । अब, यस्तो परिस्थिति निम्तिएमा खेल बराबरी हुनेछ र टाइब्रेकरमा जानेछ किनकी खेलमा होम र अवे भनेर फरक–फरक नियम हुनेछैन । 

च्याम्पियन्स लिगमा पछिल्ला वर्ष अवे गोलका कारण ठूला–ठूला खेलको नतिजा निस्किएको थियो । टोट्टेनह्यामले ज्याक्सनलाई अवे गोलमै हराएर २०१८–१९ को फाइनल यात्रा तय गरेको थियो । यस संस्करणमा क्वाटरफाइनलमा पनि उसले म्यानचेस्टर सिटीलाई अवे गोलकै आधारमा हराएको थियो ।

कहिलेबाट नियम लागू हुन्छ ?

यो नियम तत्कालै लागू हुन्छ । २०२१–२२ को च्याम्पियन्स लिगका लागि भने अहिल्यै छनोट सुरु भइसकेको छ । यी खेलहरूमा पनि अब अवे गोलको नियम कायम रहने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप