कोरोना फैलिरहेका बेला कार्यालयमा सहयोगीसँग यसरी मस्ती गर्दै थिए बेलायती स्वास्थ्यमन्त्री
बेलायतका स्वास्थमन्त्री म्याट हानकक आफ्नै सहयोगीसँग गोप्य प्रेम सम्बन्धमा छन् । बेलायती अखबार द सनले यसको खुलासा गरेको हो । ४३ वर्षकी गिना कोलाडान्गेलोलाई मन्त्री म्याट हानककले गत वर्ष आफ्नो सहयोगी नियुक्त गरेका हुन् । एक महिनाअघि ४२ वर्षका हानकक आफ्नो मन्त्रालयमा यी सहयोगीसँग मस्ती गर्दै गरेको अवस्थामा क्यामेरामा कैद भए । स्रोतका अनुसार १५ वर्ष लामो वैवाहिक सम्बन्धमा धोका दिएर बाहिरी युवतीसँगको सम्बन्धमा मन्त्री हानकक छन् । यता, कोलडान्गेलो पनि विवाहित हुन् । उनी तीन सन्तानकी आमा समेत हुन् ।
बेलायतमा गत महिना कोरोनाको म्युटेन्ट स्ट्रेन फैलन सुरु भएको थियो । र, यही समय उनी लण्डनस्थित स्वास्थ तथा समाज कल्याण विभागको हेडक्वाटरमा डिप किस गरिरहेको अवस्थामा फेला परे । यो तस्बिर ६ मे ३ बजेको हो, जहाँ विभागको स्रोतकाअनुसार स्वास्थमन्त्री र यी महिला नियमित रुपमा यसरी नै आलिङ्गन गरिरहेका हुन्थे । ‘उनीहरुले यस कुरालाई गोप्य राख्ने प्रयास गरेका छन् । तर, भित्र के हुन्छ भन्ने हामी सबैलाई थाहा छ,’ स्रोतलाई उद्धृत गर्दै द सनले लेखेको छ ।
कोरोना महामारीको समय झुठा अभिव्यक्तिहरु दिएको भन्दै हानकक उसै पनि आलोचित अवस्थामा छन् । त्यसका बाबजुद प्रधानमन्त्री बोरिस जोनसोन आफ्नो मन्त्रिपरिषद्का यी सदस्यको पक्षमा उभिएको भएपनि पछिल्लो खुलासाले उनको नैतिकतामा प्रश्न खडा गरेको छ ।