सडकको कथा

३९ वर्षदेखि त्यही फुटपाथमा ग्राहक कुर्दै लक्ष्मी !

person explore access_timeअसार ११, २०७८ chat_bubble_outline0

उमेरले ५२ वर्ष नाघ्यो । अनुहारका छाला चाउरिएका छन् । जवानी पूरै फुटपाथको व्यवसायमै बित्यो । एउटा सटर लिएर व्यवसाय गर्ने रहर अझै पूरा भएन । तर अनुहारका हरेक धर्सामा सङ्घर्षको कथा झझल्किने उनको मनको उत्साह भने कति पनि चाउरिएको छैन । यता उता हेर्छिन्, ग्राहक आएको देख्ने बित्तिकै जोडीको ५ सय हजुर भन्दै सुरुवाल, टिसर्ट र स्कार्फ देखाउँछिन् । ग्राहकले कपडा छान्छन् तर नलिई हिँड्छन् । एकाध ग्राहक भने उनको समान किनिदिन्छन् ।

त्यही भरमा त उनको गाँस टरेको छ । उनी हुन् लक्ष्मी लामा । घरमा खान दुःख भएपछि उनका श्रीमान् भागेर काठमाडौँ छिरे अनि फुटपाथमा व्यवसाय गर्न लागे । आफ्नै श्रीमान्को सारथि बनिन् उनी । अहिले त उनले नै धेरैजसो व्यवसाय सम्हाल्छिन् ।

उनका बुबा बच्चैमा बिते, एक्ली आमाले कसरी पढाउनु, उनीहरूलाई त बिहे गरेपछि व्यवहार छिने भनेर सन्तोष हुन्थ्यो रे ।

मैले पहिले पढ्न पाएको भए त जागिर बैङ्कमा पनि पाउँथे, सरकारी जागिर पनि पाउँथे । पढेका मान्छे खासै थिएनन्, लक्ष्मीले भनिन् ।

न्युरोड विशाल बजारबाट असन जाने बाटोको २ सय मिटर पारी लक्ष्मी लामाको फुटपाथ व्यवसाय छ । १३ वर्षको कलिलो उमेरदेखि त्यही स्थानमा हरेक दिन ग्राहक कुरेर बस्दै आएकी छन् । उनका श्रीमान् पनि त्यही व्यवसायमा छन् । पालैपालो ग्राहक कुर्ने उनीहरूको दैनिकी हो । उनीहरूका दुई छोरा छन् । काम पाए गर्ने इच्छा त देखाउँछन् तर कोरोनाका कारण काम पाउनै मुस्किल परेको छ ।

हामी लक्ष्मीको छेउ पुग्दा उनले तपाईंहरू मिडियाबाट हो भनेर हामीलाई सोधिन्, उत्तरमा हामीले मुन्टो हल्लायौँ ।

अनि सुनाउन थालिन आफ्ना कथा :

हातका चोर औँला बाटो वरिपरि घुमाउँदै भन्छिन्, ऊ हेर्नुस् त यहाँ त पहिला यस्तो भीड कहाँ हुन्थ्यो र ? फाट्टफुट्ट मान्छे आउँथे, गाडी पनि उतिबिग्न गुड्दैनथे । अहिले त मान्छे पनि कति हुन्, गाडी पनि कति हुन्... ।

मान्छे धेरै हुनु त तपाईंहरूलाई फाइदा हो नि समान बिक्री हुन्छ भन्ने हाम्रो प्रश्नको जवाफमा उनी भन्छिन्, हुन त हो तर के गर्नु कति हो यसलाई भन्दै कपडा छामेर मात्र हिँड्ने धेरै भए ।

कोरोना सर्छ भनेर डर लाग्दैन ?

डर त लाग्छ, के गर्नु २ महिना बन्द हुँदा कति ऋण लागिसक्यो । आ होस्, कोरोना लागेनी लागोस्, रोग लागेर मरोस् तर भोकै बस्न नपरोस् जस्तो लाग्छ । डरायौँ भने त म मात्र होइन हामी परिवारका चारै जना भोकै बस्नुपर्छ ।

दैनिक हजार पन्ध्र सयसम्म हुन्थ्यो आम्दानी तर कोरोनाले त्यही पनि सुकायो । २ सय आम्दानी हुन पनि मुस्किल भइसक्यो ।

यति भन्दै गर्दा लक्ष्मीको अनुहारमा उदासीनताले छरपस्ट देखिन्थ्यो । हसिली स्वभावकी उनी धेरैबेर उदासिनतामा टिक्न सकिनन् । उनी उदासिनताबाट तुरुन्त फर्केर फेरि उज्यालो अनुहार लगाउँदै भन्छिन् तर यो घरबेटी असाध्यै सोझो छ । तिमी बच्चैदेखि यही छौ, मेरै घर अगाडि बसेर व्यवसाय गर भन्नुहुन्छ । वरिपरिकाले पनि माया गर्छन् । सजिलो भएको छ ।

कोरोना नभएर सजिलै खान पुग्थ्यो

कोरोनाले मलाई मात्र होइन सबैलाई समस्यामा पारेको छ । अझ मेरो त सटर छैन, भाडा तिर्नुपर्दैन् । भाडा तिर्नेहरूलाई पो समस्या भएको होला, यहाँ त सटर भाडा पनि कति हो कति महँगो छ । सटर लिएर पसल गर्ने मन छ तर भाडा तिर्ने हैसियत छैन । बाटोको व्यवसाय घाम लागे बेस्सरी पोल्छ, पानी परे प्लास्टिक ओडेर बस्छु ।

ठूलो ठूलो उपलब्धिले पनि खुसी नमिल्ने जमानमा लक्ष्मीबाट कसैले सिक्न सक्छ भने त्यो हो ससाना कुरामा खुसी हुनु । भोकै बस्न नपर्दा खुसी लाग्ने गरेको उनी बताउँछिन् । सडकमै गाँसका लागि भौँतारिकएको जीवन, सडकमै फुटपाथ व्यवसाय गर्दागर्दै अन्त्य गर्ने सोचमा छिन् । उनी भन्छिन् अब लकडाउन नहोस् । सधैँ काम गरेर खान पाइयोस्, काम गर्दागर्दै जीवनको अन्त्य होस् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X