शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

६ महानगरपालिका : ललितपुरबाहेक सबैको बजेट सार्वजनिक

कसले कतिको बजेट ल्याए ?
बिहीबार, १० असार २०७८, २२ : ३०
बिहीबार, १० असार २०७८

संघीय राज्य संचालन प्रणाली अनुसार संघ र प्रदेशले निर्धारित समयमै आर्थिक वर्षको बजेट ल्याएसँगै बिहीबार स्थानीय तहहरुले पनि आ–आफ्ना नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । बिहीबार विहानै देखि जारी बजेट सार्वजनिक कार्यक्रममा केही स्थानीय तहहरुले भने आन्तरिक विवाद, बजेटका नीति तथा कार्यक्रम पास हुन नसक्दा बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

यस्तैमा संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका भित्रकै एक महानगरपालिका ललितपुर महानगरपालिकाको बजेट विवादमा पर्दा सार्वजनिक हुन सकेन । यद्यपि, अन्य ५ वटा महानगरपालिकाहरुले भने, आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहित आ–आफ्ना बजेट ल्याइसकेका छन् ।

कुल ६ वटा महानगरपालिकाहरु मध्ये हालसम्म काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, विराटनगर महानगरपालिका र वीरगञ्ज महानगरपालिका गरी ५ नगरपालिकाले बजेट सार्वजनिक गरेका छन् ।

जसमध्ये आर्थिक वर्षका लागि सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरपालिकाले १८ अर्ब ९५ करोड ७७ लाखको बजेट ल्याएको छ भने सबै भन्दा कम वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाखको मात्र बजेट ल्याएको छ ।

अन्य, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुलाई छाडेर अहिले हामीले मुख्य ६ महानगरपालिकाहरुको बजेट यहाँ प्रस्तुत गरेका छौं ।

 

काठमाडौं महानगरपालिका

संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८÷७९ का लागि कुल १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको नवौं अधिवेशन मार्फत उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गरेकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन् ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।

बजेट

कुल बजेट  : १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार

चालु तर्फ  : ३ अर्ब ७५ करोड ७७ लाख

आर्थिक विकास तर्फ  : ५५ करोड

सामाजिक विकास तर्फ २ अर्ब ७० करोड

पूर्वाधार विकास तर्फ १० अर्ब ८० करोड

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ अर्ब १५ करोड

पोखरा महानगरपालिका

गण्डकी प्रदेशको मुख्य राजधानी समेत रहेको पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७८ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । बिहिबार नगरसभा मार्फत सार्वजनिक गरिएको बजेटको स्रोत व्यवस्थापन संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण, प्रदेश सरकार वित्तीय हस्तान्तरण, आन्तरिक स्रोत परिचालन र राजस्व बाँडफाँड लगायतका स्रोत मार्फत कार्यान्वयन गरिने जनाएको छ ।

यस्तो स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने महानगरले उल्लेख गरेको छ ।

यसो गर्दा अझ बजेट स्रोत व्यवस्थापनमा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून देखिने जनाएको महानगरले न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने जनाएको छ ।

बजेट

कुल बजेट  : ६ अर्ब २७ करोड ७५ लाख

चालु खर्च तर्फ  : २ अर्ब ९० करोड ९४ लाख

पुँजीगत खर्च तर्फ  : ३ अर्ब ३६ करोड ८० लाख

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नगरसभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत), अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट रु ३ करोड, सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

बजेट

कुल बजेट  : ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार

चालु खर्च र पुँजीगत खर्च यकिन नगरिएको

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ । महानगरपालिकाको आठौं नगरसभा मार्फत बिहीबार उपप्रमुख इन्दिरा कार्कीले प्रस्तुत गरेकी बजेट अघिल्लो वर्षकै हाराहारीको आएको हो ।

कुल ४ अर्ब १० करोड बराबरको बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पुँजीगत तर्फ ३ अरब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरले अनुमान गरेको छ । कार्यालय सञ्चालन तर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगत तर्फ ८९ प्रतिशत रहको प्रस्तुत बजेटमा उल्लेख छ ।

बजेट

कुल बजेट  : ४ अर्ब १० करोड ३ लाख ३८ हजार

चालु खर्च तर्फ  : ४६ करोड ७० लाख ५२ हजार ९२५

पुँजीगत खर्च तर्फ  : ३ अरब ५८ करोड ३२ लाख ८५ हजार

वित्तीय व्यवस्था खर्च तर्फ  : ५ करोड

वीरगञ्ज महानगरपालिका

प्रदेश नम्बर २ अन्तर्गतको वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहित कुल ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार बराबरको बजेट ल्याएको छ । बिहिबार नगरसभा मार्फत महानगरपालिकाले ल्याएको कुल बजेट मध्ये १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार चालु तर्फ र १ अर्ब ६२ करोड ३३ हजार ३० हजार पुँजीगत खर्च तर्फ छुट्याइएको महानगरले जनाएको छ ।

यस्तै, सोही बजेट मार्फत आर्थिक वर्षका लागि वित्तीय व्यवस्था तर्फ ६ करोड ७० लाख ६४ हजार रुपैयाँ बजेट छुट्याइएको समेत वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

विशेष कोभिड–१९ महामारीको रोकथाम तथा उपचारका लागि केन्द्रित भएको महानगरपालिकाको बजेट स्वास्थ्य क्षेत्रमा मात्र १ अर्ब १५ करोड ५७ लाख विनियोजन गरिएको छ । भने, भौतिक पूर्वाधार तथा आर्थिक क्षेत्र विकासका क्षेत्रमा क्रमशः १ अर्ब ३५ करोड र १० करोड छुट्याइएको महानगरपालिकाले जनाएको छ ।

यस्तै, अन्य कृषि, पर्यटन, शिक्षा, सहरी विकास क्षेत्रमा समेत उल्लेख्य बजेट छुट्याएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

बजेट

कुल बजेट  : ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार

चालु खर्च तर्फ  : १ अर्ब ८६ करोड ३५ लाख ४२ हजार

पुँजीगत खर्च तर्फ  : १ अर्ब ६२ करोड ३३ हजार ३० हजार

वित्तीय व्यवस्था तर्फ  : ६ करोड ७० लाख ६४ हजार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप