बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरको बजेट : साढे ३ करोडको गाडी, पदाधिकारीको सुविधाका लागि साढे ३ करोड

बजेट तालिम, बैठक भत्ता, सवारी साधन खरिदमै केन्द्रित
बिहीबार, १० असार २०७८, २० : ५८
बिहीबार, १० असार २०७८

जनकपुरधाम उपमहानगरपालिकाले डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । अगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयको सभाकक्षमा भएको नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।

अगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा जनकपुरधाम उपमहानगरले चालु तर्फ ६२.२३ प्रतिशत अर्थात ९५ करोड ७५ लाख ६१ हजार रुपैयाँ र पुँजीगत तर्फ ३७.७७ प्रतिशत अर्थात ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरले ल्याएको बजेटमा चालु खर्च बढी हुनुले विकास निर्माणका कार्यलाई वास्ता नै नगरिएको अर्थविदहरुको भनाइ छ ।

कोरोना महामारीको त्रास कायमै रहँदा जनकपुरधाम उपमहानगरको बजेट स्वास्थ्य, शिक्षा तथा कृषि समेतलाई बेवास्ता गर्दै तालिम, बैठक भत्ता, सवारी साधन खरिदमा विशेष केन्द्रित रहेको जनप्रतिनिधिहरुकै आरोप छ । बजेटमा अगामी आर्थिक वर्ष सवारी साधन खरिदको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सवारी साधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख रुपैयाँ, पदाधिकारीको लागि अन्य सुविधामा २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि युवाहरुलाई सीप विकास तालिमका लागि ९९ लाख रुपैयाँ, कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार रुपैयाँ, सार्वजनिक सम्पत्ति मर्मत सम्भारका लागि २ करोड ५५ लाख रुपैयाँ, विद्युत संरचना निर्माणका ५ करोड ६१ लख रुपैयाँ, अन्य सार्वजनिक निर्माण शिर्षकमा १ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरको नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड रुपैयाँ र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जनकपुरधाम उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेट बारे स्पष्ट नरहेको भन्दै जनकपुरधाम उपमहानगर वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले विरोध गरेका छन् । त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि बजेट छुट्याएपनि सो शीर्षकमा चालु आर्थिक वर्षमा कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन ।

बजेट प्रस्तुतिको क्रममा नगर उपप्रमुख मिश्रले विभिन्न शीर्षकको नाम उल्लेख गरेपनि अधिकांश शीर्षकमा रकम नछुट्याइएकोे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहले आरोप लगाए । जनकपुरधाम उपमहानगरले वडाहरुका लागि छुट्याइएको बजेटप्रति अध्यक्ष जानकीराम साहले आपत्ति जनाए । उनले आक्रोश पोख्दै भने, ‘नगरप्रमुख लालकिशोर साहको नियत नै भ्रष्टाचार गर्ने देखियो ।’ यसअघि नगरसभा चलिरहँदा वडा अध्यक्ष साह सहित अधिकांश कार्यपालिका सदस्यहरुले नगर प्रमुख लालकिशोर साहको कार्यशैली अपारदर्शी रहेको भन्दै बिरोध गरेका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्मित सभाहलमा नगरसभा भइरहँदा पत्रकारलाई भने नगरप्रमुख लालकिशोर साहले प्रवेशमा रोक लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप