के भारतले कोभिडको तेस्रो लहर रोक्न सक्छ ?
गत अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले निकै थलिएको भारत हाल बौरिन थालेको छ । तर विज्ञले केही महिनामा तेस्रो लहर पनि आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।
अदालतले राज्य सरकारलाई यसका लागि के कति तयारी छ भनेर सोधपुछ गरेको छ । कति विज्ञले त तेस्रो चरण १२ देखि १६ हप्तामा आइपुग्ने चेतावनी दिएका छन् । यस्तै अत्यधिक चर्चामा आएको डेल्टा प्लस भेरियन्टलगायत अन्य भेरियन्टले हालका भ्याक्सिनलाई मत्थर पार्ने हो कि भनेर चिन्तित छन् ।
डेल्टा प्लस भेरियन्ट डेल्टासँग सम्बन्धित छ जुन पहिलो पटक भारतमा अघिल्लो वर्ष भेटिएको थियो । यसैका कारण घातक दोस्रो लहर निम्तिएको थियो ।
तर यी डर कति वास्तविक छन् त ? भाइरसका विभिन्न लहर नआउने होइनन् तर यी कति घातक र भयानक हुन्छन् ती विभिन्न कुरामा निर्धारण हुन्छन् ।
सुरक्षा प्रोटोकलः
भारतमा दैनिक संक्रमितको संख्या दैनिक ५० हजारको हाराहारीमा घटेको छ । मे महिनामा दैनिक चार लाख बढी संक्रमित भेटिने गर्दथे । विभिन्न राज्यले कडा लकडाउन गरेपछि संक्रमितको संख्यामा अत्यधिक कमी आएको हो ।
दोस्रो लहरका लागि भीडभाडयुक्त बजार, चुनावी र्याली र धार्मिक कार्यक्रमलाई दोष दिइएको थियो । गलत नीति निर्णय, खराब निगरानी र प्रारम्भिक चेतावनीलाई बेवास्ता अन्य कारणमा परे । यदि यही गल्ती दाहोराएको खण्डमा यसले कोरोनाको तेस्रो लहरलाई प्रश्रय दिने विज्ञको चेतावनी छ ।
भारतका सार्वजनिक नीति र स्वास्थ्य प्रणाली विशेषज्ञ डा. चद्रकान्त लहारियाले भारत एकपटक पुनः निकै कठिन परिस्थितिमा भएको र यसैले अर्को लहर आउने नआउने भन्ने कुरा निर्धारण गर्ने बताए ।
अर्थतन्त्र चलायमान राख्नका लागि क्रमशः लकडाउन खुकुलो राख्न आवश्यक भएको उनले बताएका छन् । ‘यदि हामीले एकाएक लकडाउन हटायौं भने र कोभिडको सुरक्षा प्रोटोकल पालना गरेनौं भने हामीले भाइरस छिटो फैलन सघाउ पुर्याउनेछौं ।’
उनले स्थानीय स्तरमा नै सुरक्षाका उपाय अपनाउन सल्लाह दिएका छन् । यदि कुनै निश्चित बजार र व्यवसायले नियम पालना नगरेको खण्डमा उनीहरुलाई दण्ड जरिवानाको व्यवस्था पनि गर्नुपर्ने पनि उनले बताए ।
के नयाँ भेरियन्टको खतरा अत्यधिक छ ?
डेल्टा भेरियन्टले दोस्रो लहर निम्त्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्यो । यदि भाइरसलाई जोखिममा रहेका जनसंख्याबीच फैलन दिइएको खण्डमा भविष्यमा यस्ता थुप्रै भेरियन्ट आउन सक्ने विज्ञको विश्वास छ ।
भारतीय सरकारले डेल्टा प्लस भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ बताएको छ । तर यसले तेस्रो लहर पनि निम्त्याउँछ भनेर पर्याप्त प्रमाण छैन । यद्यपि, स्थिति एक हप्ताभित्रै परिवर्तन हुनसक्ने विज्ञ बताउँछन् ।
महामारी विज्ञ ड ललित कान्तका अनुसार भाइरस फैलन पाएसम्म यसले स्वरुप फेरिरहन्छ र नयाँ भेरियन्ट देखा परिरहन्छ । ‘हामीले हाम्रो सिक्वेन्सिङको कामलाई बढाउनुपर्छ ताकि खतरनाक भरियन्टबाट पहिल्यै थाहा पाउन सकियोस् र रोकथामका आवश्यक उपाय समयमा नै अपनाउन सकियोस्, ’ उनले भने ।
भारतले जून महिनासम्म ३० हजार स्याम्पलको सिक्वेन्सिङ गरेको छ तर विज्ञले यतिले मात्रै नपुग्ने बताएका छन् । कोभिडका हज्जारौं बिरामीको उपचार गरेका डा. ए फताहुदिनले हाल विकसित भएका भ्याक्सिन अहिलेसम्मका भेरियन्टमा प्रभावकारी छन् तर यसले नयाँ भेरियन्टमा पनि काम गर्छ भन्ने कुनै ग्यारेन्टी छैन । भ्याक्सिन लगाएपछि पनि मानिसहरु बिरामी भएका घटना देखिएको छ, विशेषगरी पहिलो डोजपछि ।’
उनले अर्को लहर पक्का भएको बताएका छन् तर म्युटेशनमा ध्यान दिएर, सिक्वेन्सिङलाई बढाएर र सुरक्षाका मापदण्ड अपनाएर यसलाई पर सार्न सकिने भने बताएका छन् ।
‘यदि हामीले यी सबै कुरा गरेनौं भने तेस्रो लहर हामीले अनुमान गरेभन्दा निकै छिटो आउनेछ ।’
के भ्याक्सिन र पहिले नै संक्रमित भइसकेकाहरुले संक्रमण रोक्न सक्लान् ?
भारतको जनसंख्यामा प्रतिरोधी क्षमताको स्तर कस्तो छ (पहिले संक्रमित भइसकेका र भ्याक्सिनमार्फत्) त्यसले तेस्रो लहरको स्थिति निर्धारण गर्छ । भारतमा ९ देखि २२ जूनमा दैनिक ३० लाख बढीलाई भ्याक्सिन दिइयो । तर सन् २०२१ को अन्त्यसम्म सबै जनतालाई भ्याक्सिन लगाउने सरकारी लक्ष्य प्राप्त गर्नका लागि ८० देखि ९० लाखलाई दैनिक भ्याक्सिन दिन आवश्यक छ ।
हालसम्म भारतमा ४ प्रतिशत जनसंख्याले मात्रै पूर्ण खोप लगाएका छन् र १८ प्रतिशतले पहिलो डोज प्राप्त गरेका छन् ।
खोप अभियानमा तीब्रता नआएको खण्डमा लाखौं अझै पनि जोखिममा हुनेछन् । यद्यपि, पहिले नै कोभिड संक्रमित भइसकेका सुरक्षित भने हुनसक्लान् ।
तर कतिजना भारतीय संक्रमित भए र कतिजनामा भाइरससँग लड्न प्राकृतिक एन्टीबडी विकसित भयो भन्ने आँकडा निश्चित गर्न गाह्रो छ । भारतका थुप्रै शहर, गाउँ परीक्षणका लागि नै संघर्षमा छ । आफूलाई संक्रमण भए नभएको थाहा पाउन कुनै माध्यम नै छैन । यस्तै, मृत्युदर पनि घटाएर सार्वजनिक गरिएको छ । डा. लाहारियाका अनुसार पछिल्लो संक्रमणबाट ५५–६० प्रतिशतमा प्रतिरोधी क्षमता विकास भएको हुनसक्छ ।
म्याथमेटिकल मोडलर र अशोका विश्वविद्यालयमा फिजिक्स र बायोलोजी अध्यापन गर्ने गौतम मेननले यो दर ६०–७० प्रतिशत भएको बताउँछन् । उनलाई विश्वास छ कि भारतले दोस्रो लहरको झैं तीब्रता पुनः झेल्नुपर्ने छैन ।
तर उनले सावधान भने बनाएका छन् ।
‘हाम्रो देशका अधिकांश जनसंख्या संक्रमित भइसकेका छन् तर अझै वृद्धावस्थामा रहेका र भ्याक्सिन नलगाएका करिब २०–३० प्रतिशत संक्रमित भएका छैनन् । तसर्थ हामीले संक्रमण दर बढ्ने बित्तिकै निगरानी बढाइहाल्नुपर्छ,’ उनले भने ।
भारतमा अझै पनि उल्लेख्य मात्रामा मानिसहरु जोखिममा रहेको र अझै पनि घातक भेरियन्ट आउन सक्ने बताउँदै कोरोनालाई हल्का रुपमा लिन नहुने विज्ञ बताउँछन् । ‘तेस्रो लहर कुनै पनि हालतमा आउँछ । तर यसलाई ढिलो गरी आउन दिने कुरामा र यसको असरलाई संकुचित बनाउने जिम्मा हाम्रो हातमा छ,’ डा. फाथाहुदिनले भने ।
‘एकपटक ती स्वास्थ्यकर्मीबारे सोच्नुहोस् त जो विगत एक वर्षभन्दा बढी देखि यो युद्धमा लागिपरेका छन् । हामी थाकिसक्यौं । आफ्नो सुरक्षा उपकरण कृपया नत्याग्नुहोस् । हामीले तेस्रो लहर सहन सक्छौं भन्नेमा पनि विश्वस्त छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?