शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौँमा

बुधबार, ०९ असार २०७८, २३ : १४
बुधबार, ०९ असार २०७८

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली आज काठमाडौँ आएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण  आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली काठमाडौँ आएको हो ।

सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा  सुरुङ, पुल र सडक इञ्जिनियरसहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ । कम्पनीको नेपालमा रहेको समूहले स्थान विशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ ।

सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो । डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सेनाले द्रुतमार्गको प्याकेज नं १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड र  प्याकेज नं २ का लागि पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग  ठेक्का सम्झौता गरेको थियो ।  पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ । पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटा छोटा दुई सुरुङ छन् ।

सम्झौतापत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नं १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नं २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम निर्माण कम्पनीलाई ६ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ । आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ । त्यसपछि समानान्तर रुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले जानकारी दिए ।

एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्य रुपमा घट्ने छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुतराजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायापलट ल्याउने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप