शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङको दुई उपमहानगरपालिकाको बजेट, यी हुन् प्राथमिकता

बुधबार, ०९ असार २०७८, २३ : ११
बुधबार, ०९ असार २०७८

दाङको दुई उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरेका छन् । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाले नीति तथा कार्यक्रम सार्बजनिक गरिसकेका छन् । भोलि दुबै उपमहानगरपालिकाले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन । घोराही उपमहानगरपालिकाले आउने आर्थिक वर्षको लागि झण्डै १ अरब बढीको हारहारीमा बजेट ल्याउन थालेको छ । घोराही ५ का वडा अध्यक्ष विष्णुमणि दाहालले १ अरब ७५ करोडको हारहारीमा बजेट ल्याउन लागेको बताए । उनका अनुसार बजेटमा उपमहानगरपालिकाले  कोभिड लक्षित रहेको छ । दाहालले कोभिड विरुद्ध स्वास्थ्यका कार्यक्रम, कृषि प्राथमिकतामा परेको र धेरैजसो पुरानै योजनालाई नै निरन्तरता दिइएको बताए । घोराही उपमहानगरपालिकाले किसान, असहाय, सीमान्तकृत, सेवा तथा अधिकार र स्वास्थ्य सुरक्षाबाट बन्चित भएकाहरुको उत्थानमा केन्द्रित बजेट ल्याउने घोराहीका मेयर नरुलाल चौधरीले बताए ।

कृषि, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकता दिदै सार्वजनिक गरिएको कार्यक्रममा नागरिकहरुको आर्थिक र सामाजिक उत्थानमा केन्द्रित बजेट नीति अघि सारेको हो ।  नगर प्रमुख चौधरीले कोरोना महामारीले असर पारेका क्षेत्रहरुको पहिचान गरि त्यसको पुनरुत्थानका कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख गरे ।

सुत्केरी तथा सिकलसेल र थाल्सेमियाका बिरामीलाई निशुल्क रगतको व्यवस्था गर्न नगर प्रमुख रक्तसञ्चार सेवा र आमा तथा शिशुको जीवन रक्षाका लागि उपप्रमुख आमा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम सञ्चालन गरिने भएको छ । उपमहानगरपालिका असहाय र विपन्नलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने, घरमै थलिएर बसेका बिरामीको उपचार तथा सहयोग कार्यक्रम सञ्चालन गर्ने पनि बजेट कार्यक्रममा उल्लेख छ । स्तन, पाठेघर क्यान्सरको निशुल्क जाँच गर्ने, मोतिया विन्दुको निशुल्क शल्यक्रिया गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने नगर प्रमुख चौधरीले उल्लेख गरे ।

त्यसैगरी किसानहरुलाई धान, गहुँ, मकै, तोरी, आलु, प्याजमा ६० प्रतिशत, टनेल निर्माणमा ७५ प्रतिशत, कृषि औजार खरीदमा ५० प्रतिशत र कृषि साना सिंचाई कार्यक्रममा ८५ प्रतिशत अनुदान उपलब्ध गराउने निती लिइएको छ ।

किसानहरुलाई गाउँमै पुगेर तालिम चलाउने, जलाशय निर्माणलाई निरन्तरता दिने, प्रविधि र प्राविधिक सेवा बिस्तार, कृषि सडक, ग्रामिण विद्युतीकरण, सिंचाई तथा बजार व्यवस्थाका सुविधालाई एकीकृतरुपमा परिचालन गरिने भएको छ ।

उन्नत जातका पशुपालनलाई प्रबद्र्धन गर्ने, माछा पालनलाई भुरा उपलब्ध गराउने, कृषकहरूका मागमा आधारीत कार्यक्रमहरुलाई सञ्चालन गर्ने उपमहानगरले जनाएको छ । त्यसैगरी कोरोनाले प्रभावित बनाएको शिक्षालाई बैकल्पिक सिकाई मार्फत अघि बढाउने र बालबालिकामा उत्पन्न भएको भयलाई न्यूनिकरण गर्न मनोपरामर्श कार्यक्रम सञ्चालन गरिने भएको छ ।

विद्यार्थीलाई विद्यालय भर्ना अभियानमा सघाउन पु¥याउन सामुदायिक विद्यालय भर्ना अभियान चलाइने, दुर्गम क्षेत्रका शिक्षक, बाल विकास सहयोगी कार्यकर्तालाई थप प्रोत्साहन सुविधा दिइने भएको छ ।

थारु भाषामा तयार भएको किताबलाई आगामी आर्थिक बर्ष देखी पठनपाठनमा ल्याइने भएको छ । साथै सामुदायिक विद्यालयमा पढ्ने छात्र र छात्रा एक एक जनालाई एमबीबीएस पढ्न जनही ५ लाख र वीई अध्ययन गर्न जनही ३ लाख रुपैयाँका दरले प्रोत्साहन स्वरुप नगद दिइने पनि उपमहानगरले जनाएको छ ।

त्यसैगरी पूर्वाधार तर्फ कालोपत्रे, ग्राभेल तथा पुराना ट्रयाक खोलेका सडकहरूलाई निरन्तरता दिने र घर नक्सा पास नगरी घर बनाउनेहरूलाई सबै सिफारिसमा रोक लगाउने पनि उल्लेख छ । फोहोरलाई मोहरमा बदल्ने, घरको छानो मुक्त कार्यक्रमलाई निरन्तरता दिने, बाटो, पानीको मुहान, पार्क लगायतका सार्वजनिक स्थानहरुमा हरियाली प्रबद्र्धन गर्ने कार्यक्रमलाई अघि सारिएको छ ।

सामाजिक विभेद न्यूनीकरणका लागि छुवाछुत, सामाजिक कुरीति, लैंगिक विभेद र हिंसालाई रोक्न टोल विकास संस्था मार्फत सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिने भएको छ । बालबालिका, युवा तथा जेष्ठ नागरिकहरुको क्षमता तथा अधिकारलाई संवर्द्धन गर्न पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारी, पर्यटन, उपभोक्ताको क्षेत्रमा पनि उल्लेख्य परिर्वतन ल्याउने गरी कार्यक्रम तय भएको छ ।

तुलसीपुरको बजेट झन्डै साढे ३ अर्ब

गत वर्ष भन्दा १ अर्ब बढी, विकास तर्फ झन्डै ५० प्रतिशत

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको सिलिङ निर्धारण गरेको छ । उसले झन्डै साढे ३ अरब बराबरको बजेट ल्याउने तयारी गरेको छ । गत बर्षको तुलनामा यो बजेट एक अरब भन्दा बढी हो । चालु आर्थिक बर्षमा २ अरब ३४ करोड ३७ लाख, ६४ हजार विनियोजन गरिएको थियो ।

बिहीबार नवाैँ नगरसभामा उपप्रमुख माया आचार्यले आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर\ब ३९ करोडको हाराहारीमा बजेट ल्याउने तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेले बताए।  नगर प्रवक्ता श्याम डाँगीका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी विकास तर्फ एक अर्ब ६२ करोड १६ लाख छुट्याइएको बताए । विकास बजेट प्रक्षेपण गरिएको कुल बजेको ४७‍.७० प्रतिशत हो ।

नगरले सामाजिक सुरक्षा तर्फ ४० करोड र चालुतर्फ एक अर्ब ३५ करोड बजेट विनियोजन गर्ने भएको छ । नगरले प्रत्येक वडाका लागि एक रोड ७० लाख बजेट दिने भएको छ ।

त्यस्तै कार्यपालिका सदस्यहरुको सिफारिसमा प्रति व्यक्ति ४० लाख बजेट छुट्याएको छ । मनोनित कार्यपालिकामा सदस्यको संख्या ७ जना रहेको छ ।

लमही नगरपालिकाले ल्यायो १ अर्ब ८ करोड बढी बजेट

त्यस्तै आगामी आर्थिक वर्षको लागि लमही  नगरपालिकाले एक अर्व ८ करोड बढीको बजेट प्रस्तुत गरेको छ ।

उप–प्रमुख देवका बेल्वासेले संघिय वित्तिय समानीकरण अनुदान, संघिय राजश्व बाँडफाँड, प्रदेश वित्तिय समानीकरण अनुदान, प्रदेश सवारी कर बाँडफाँड, आन्तरिक आय लगायत गरी एक अर्व ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिन् ।

संघिय वित्तिय समानीकरण अनुदान १५ करोड ११ लाख, संघिय राजश्व बाँडफाँड अनुदान ११ करोड १५ लाख ६७ हजार, संघिय शसर्त अनुदान २८ करोड ८० लाख, संघिय बिशेष अनुदान ८३ लाख, प्रदेश वित्तिय समानीकरण अनुदान ७१ लख ५७ हजार, प्रदेश सवारी साधन कर बाँडफाँड अनुदान २ करोड ६९ लाख ९१ हजार ५ सय ७८, प्रदेश सरकार रोयल्टी ४० हजार २९, प्रदेश सशर्त अनुदान एक करोड १५ लाख ४४ हजार, प्रदेश सरकार बिशेष अनुदान ७० लाख, प्रदेश सरकार समपूरक अनुदान २ करोड, आन्तरिक आय ३४ करोड ४३ लाख ५० हजार, लमही अस्पतालको आन्तरिक आय २ करोड ८१ लख ८९ हजार र बैंक मौज्दात ८ करोड गरी जम्मा एक अर्ब ८ करोड ४२ लाख ३८ हजार ६ सय ७ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

स्वास्थ्य सेवालाई व्यवस्थित तथा सुदृढिकरण गर्दै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ८ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।

लमही अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनको लागी ५ करोड १० लाख बजेट विनियोजन गरिएको छ । नगरको शिक्षा क्षेत्रमा कुल १६ करोड ७३ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

कोरोनाका कारण सृजना भएको असहज परिस्थितीलाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर सुधार र वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण गर्न २५ लाख बजेट छ ।

पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा ३ करोड ४५ लाख बजेट छ । विपद् व्यवस्थापनको लागी एक करोड ६० लाख, आश्रय घर निर्माणको लागी ५० लाख, नगर आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन गर्न बजेटले सम्वोधन गरेको छ ।

वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाको लागी एक करोड ४३ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार विकासका लागी १४ करोड ३७ लाख ५० हजार, जनता संग मेयर कार्यक्रमको लागी एक करोड, जनता संग उपमेयर कार्यक्रको लागी ५० लाख बजेट विनियोजन गरिएको छ ।

वडा तर्फका योजनाको लागी ९ करोड, विपद् व्यवस्थापन कोषको लागी एक करोड ६० लाख बजेट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप