शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा रेल नचढी सकिने भो विद्यासुन्दरको कार्यकाल

आधा दर्जन आकाशे पुल अलपत्र, पुल भत्काउन बजेट निकासा !
बुधबार, ०९ असार २०७८, २१ : ३९
बुधबार, ०९ असार २०७८

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर शाक्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । विहीबार उनले आफ्नो कार्यकालको अन्तिम बजेट ल्याउँदैछन् । रेल नचढी  शाक्यको पाँचवर्षे कार्यकाल सकिने भएको छ ।  

काठमाडौं महानगरपालिका आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा छ । स्थानीय सरकारले वार्षिक बजेट असार १० गते भित्रै ल्याइसक्नुपर्ने बाध्यताअनुसार संवैधानिक प्रावधानबमोजिम महानगरले विहीबार बिहान ११ बजे नगरसभामार्फत वार्षिक बजेट सार्वजनिक गर्दैछ ।

मुलुककै केन्द्रमा संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको बजेट ल्याउँदै गर्दा हालसम्म गरेका प्रतिवद्धताहरुचाहिँ कति पूरा ग¥यो त ? एकछिन यतातिर ध्यान दिऔं ।

बजेटमार्फत महानगरनगरवासीलाई स्मार्ट सिटीको सपनासँगै मोनो रेल र मेट्रो रेलसम्मको सपना बाँढेको महानगरले धेरैै आयोजनाहरु अधुरै राखेको छ । तीमध्ये केही अधुरा आयोजनाहरु यस्ता छन्–

कहाँ पुग्यो विद्यासुन्दरको मेट्रो रेल ?

पहिलोपटक २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट विजयी भएसँगै मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र मोनो रेल र मेट्रो रेल सञ्चालन गर्ने घोषणा गरेका थिए । पार्टीको घोषणापत्रमा मोनो रेल र मेट्रो रेलको सपना बाँडेका मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटी नै बनाउने घोषणा गरेका थिए । जुन चालु आर्थिक वर्ष २०७७/७८ को महानगरको नीति तथा कार्यक्रमा समेत समेटिएको छ ।

मेट्रो रेललाई जोडतोडले उठाएको महानगरले आफ्नो नीति तथा कार्यक्रमको बुँदा नम्बर १७२ मा यसबारे उल्लेख गर्दै भनेको थियो, ‘काठमाडौं उपत्यकाको शहरी यातायात व्यवस्थापनलाई सुव्यवस्थित गर्न ई–बीआरटी तथा मेट्रो रेलको सम्भाव्यता अध्ययन यसै वर्ष सुरु गरिनेछ ।’

तर, उपलब्धी भने हात लाग्यो शून्यजस्तै भएको छ । हालसम्म पनि यी महत्वाकांक्षी योजनाहरुको कार्य प्रगति भने शून्यकै अवस्थामा छन् । यद्यपि, शुरुवात नै किन नभनौं, मेट्रो रेल सञ्चालनसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सरकारले प्रारम्भिक चरणमा रेल विभाग र परामर्शदाताबीच हालैमात्र (एमओयू) सम्झौता भने गरेको छ ।

पहिलो चरणमा राजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक)देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको रेल विभागले जनाएको छ । यस्तो सम्झौता रेल विभाग र चीनको चाइना रेलवे सिचुआन कम्पनी लिमिटेड तथा नेपालकै सीईएमएटी कन्सल्ट्यान्ट (जेभी)बीच भएको हो ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले सम्झौता भएको एक वर्ष भित्र ‘डीपीआर’को प्रतिवेदन रेल विभागलाई बुझाउने बताइएको थियो । तर, सो प्रतिवेदन हालसम्म पनि बुझाइएको छैन ।

तर, गत वर्षसम्म जोडतोडले उडाइएको सो मुद्दा यस पटक बजेटमा नसमेटिने महानरपालिकाले जनाइसकेको छ । यसबारे रातोपाटीसँग कुरा गर्दै महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले यस पटक महानगरपालिकाको बजेट कोभिड–१९ को रोकथाम तथा उपचार, भ्याक्सिन खरिदमै केन्द्रित हुने बताइन् ।

कोरोनाका कारणले गर्दा यसवर्ष यी महत्वाकांक्षी आयोजना यस पटक ओझेलमा पर्ने भएका छन् ।

आधा दर्जन आकाशे पुल अलपत्र

मोनो रेल र मेट्रो रेलजस्ता महत्वाकांक्षी योजना त बहुवर्षीय हुन् । यी आयोजना निर्माणका लागि लामो प्रक्रिया तथा प्रावधानका कारण समय लाग्नु स्वाभाविक हुन् । तर, यहाँ त महानगरले चालु आर्थिक वर्ष भित्रै सक्ने भनेर वार्षिक बजेट छुट्याएका धेरै कार्यक्रमहरु अलपत्र अवस्थामा छन् । तीमध्ये आधा दर्जन बढी आकाशे पुल पनि अलपत्र छन् ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तोकेरै ९ वटा आकाशे पुलका लागि बजेट छुट्याएको थियो । तीमध्ये हालसम्म तीनवटा मात्र पुल  बनेका छन् भने बाँकी ६ वटा पुलको निर्माण कार्य शुरु नै भएको छैन ।

कोटेश्वर चोकमा बन्ने भनेको आकाशे पुल, स्रोह्रखुट्टेको आकाशे पुल, लामपाटी–कलंकीको आकाशे पुल, कालीमाटी चोकको आकाशे पुल र चाबहिल मित्रपार्क–बागेश्वरीको आकाशे पुल हालसम्म बन्न सकेका छैनन् । नयाँ बानेश्वरमा असार लागिसकेपछि देखखाउनका लागि आकाशे पुलको संरचनासम तेर्स्याईएको छ, तर प्रयोगमा आउने गरी निर्माण सम्पन्न भएको छैन ।

यी पुलहरु प्राविधिक कारणले गर्दा बन्न नसकेको जनप्रतिनिधिसमेत रहेका महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीसँग बताए । ‘महानगरले बजेट नै छुट्याएर तोकिएका आकाशे पुलहरु बनाउन नचाहेको होइन । हामीले धेरै प्रयत्न गरेका हौं । तर, केही प्राविधिक व्यवधानका कारणले गर्दा बनाउन सकिएन’ प्रवक्ता डंगोलले रातोपाटीसँग भने ।

उनका अनुसार कतिपय तोकिएका स्थानहरुमा पर्याप्त फुटपाथको अभावमा आकाशे पुलको निर्माण गर्न सकिएको छैन भने, कतिपय स्थानहरु आकाशे पुल निर्माणका लागि उपयुक्त नभएकाले काम रोकिन पुगेको हो । यद्यपि, ३–४ वटा आकाशे पुल भने चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्न महानगर सफल भएको डंगोलको भनाई छ ।

उनका अनुसार चाबहिल चोकको आकाशे पुल, विष्णुमती माथिको आकाशे पुल र रामशाहपथको सर्वोच्च अदालत र पुरातत्व विभाग र स्वास्थ्य मन्त्रालयल वारपार गर्ने माइतीघर मण्डलाअघिको आकाशे पुल चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न भएका छन् ।

कुन पुलका लागि कति बजेट छुट्याइयो ?

चालु आर्थिक वर्षको बजेट मार्फत महानगरपालिकाले तोकिएका ९ वटा आकाशे पुलका लागि करिब सवा करोड बजेट छुट्याएको थियो । जसमध्ये, उल्लेखित ७ पुलको बजेट विवरण यस्तो छ–

कोटेश्वर आकाशे पुल : १ करोड २० लाख (संशोधित)

चाबहिल आकाशे पुल : १ करोड २५ लाख

मित्रपार्क–बागेश्वरी आकाशे पुल : ८५ लाख

कालीमाटी आकाशे पुल : १ करोड

लामपाटी–कलंकी आकाशे पुल : ७५ लाख

स्रोह्रखुट्टे आकाशे पुल : १ करोड

माइतीघर–रामशाहपथ आकाशे पुल : ५६ लाख १६ हजार

पुल भत्काउन पौने १२ लाख खर्च !

पुल निर्माणका लागि मात्र होइन, भत्काउनका लागि पनि महानगरपालिकाले चालु आर्थिक वर्षमा पौने १२ लाख अर्थात् ११ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ ।

नयाँ बसपार्क अगाडि निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको आकाशे पुल भत्काउनका लागि महानगरपालिकाले चक्रपथ सुधार आयोजनालाई आर्थिक सहयोग स्वरुप उक्त रकम उपलब्ध गराएको हो । उक्त रकम बजेटमै व्यवस्था गरेर उपलब्ध गराइएको हो ।

हाल यो पुल पूर्णरुपमा भत्काइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप