शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथमा रहेको संक्रामक अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

बुधबार, ०९ असार २०७८, १३ : ३७
बुधबार, ०९ असार २०७८

पोखरा लेखनाथ स्थित रहेको गण्डकी प्रदेश सरकाले स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहजरुपमा उपचार गराउनका लागि स्थापना गरेको प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा रोग अस्पतालमा सहज रुपमा अक्सिजनको आपूर्ति गर्ने उदेश्यले अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।

कोरोना संक्रमितहरुका लागि सहजरुपमा अक्सिनज उपलब्ध गराउनका लागि पुरी फाउण्डेसन बेल्जियमको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट स्थापनाका लागि फाउण्डेसनका प्रतिनिधी बेदुराम भुसाल उपकरण र ईन्जिनियरको टोलीसहित पोखरा आएका छन् । प्लान्टबाट दैनिक ६ हजार लिटर लिक्वीड अक्सिजन उत्पादन हुने बताइएको छ । गैर आवासीय नेपाली समाज बेल्जियम र अन्य विभिन्न संस्थाहरुको सहयोगमा करिव दुई करोड मूल्य बराबरको प्लान्ट जडान हुनेछ । 

कोरोना महामारीका बेला साविकको लेखनाथ सामुदायीक अस्पताललाई गण्डकी प्रदेश सरकारको मातहतमा ल्याई संक्रामक तथा सरुवा रोग अस्पतालका रुपमा बिकास गरीएको थियो । हाल अस्पतालमा ७५ शैया रहेका छन् । 

कोरोना कहरका बिचमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले अस्पतालमा प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको पुरी फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत बेदराज पुरीले जानकारी दिए । अस्पतालका निर्देशक डाक्टर बिकास गौचनले फाउण्डेसनको पहलमा स्थापना हुने अक्सिजन प्लान्टले विरामीको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास ब्यक्त गरे । ‘फाउण्डेसनको पहलमा भएको यो सहयोगले अब कोही पनि विरामी अक्सिजन अभावका कारण ज्यान गुमाउने छैनन’उनले भने ।

फाउण्डेसनमार्फत अस्पतालमा प्लान्ट स्थापनाका लागि निरन्तर पहल गरेका पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता यज्ञ बहादुर थापाले प्लान्ट स्थापनापछि कोभिड वा जुनसुकै रोगका विरामीले अब अक्सिजनकै खोजीमा पोखराका अस्पताल चहार्न नपर्ने विश्वास ब्यक्त गरे । 

उनले लेखनाथवासीका लागि पुरी फाउण्डेसनले अमूल्य सहयोग गरेको बताउदै स्वास्थ्य क्षेत्रमा राज्य र  अन्य संघसंस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । 

त्यस्तै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले लेखनाथको अस्पतालमा अक्सिजन प्लान्ट बनेपछि त्यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आउने बताए । उनले कास्कीका गाउँ गाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई पनि उपकरणका हिसाबले सुविधा सम्पन्न बनाउन सबै लाग्नु पर्ने बताए ।

कार्गो विमानमार्फत नेपाल ल्याईएको प्लान्ट जडान गर्न एक साता लाग्ने फाउण्डेसनले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप