शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको खोप नलगाउँदा के हुन्छ ? विज्ञ भन्छन्– विश्वले नेपाललाई प्रतिबन्ध लगाउन सक्छ

मङ्गलबार, ०८ असार २०७८, १६ : १४
मङ्गलबार, ०८ असार २०७८

नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो हिस्साले पहिलो डोज नै लगाउन पाएको छैन ।

कोरोनाको दुबै डोज खोप लगाइएन भने नेपालबाट कोभिडका नयाँ–नयाँ भेरियन्टहरु जन्मन सक्ने र विश्वले नेपाललाई कारवाही गर्ने र वैदेशिक रोजगारीमा जान नपाउने अवस्थासमेत आउन सक्ने विज्ञको भनाइ छ । त्यस्तो अवस्थामा विदेशी पर्यटकहरु नेपाल नआउने र बारम्बार लकडाउन गरिरहनुपर्ने अवस्थाले अर्थतन्त्र थप बर्बाद हुने जनस्वास्थ्यविद् बताउँछन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएको अवस्थामा नयाँ भेरियन्ट जन्मने खतरा हट्ने, मानिसको मृत्युको जोखिम हट्ने र कोभिड लागि हाले पनि सामान्य रुघाघोकीजस्तो मात्रै हुने विज्ञको भनाइ छ । त्यसैले, सरकारले तत्कालै खोपको प्रवन्ध गरिहाल्नुपर्ने विज्ञको सुझाव छ ।

नेपालमा कोरोना महामारीको तेस्रो लहर आउने खतरा बढ्दै गएको छ । यस्तो अवस्थामा सबै नेपालीलाई खोप लगाउन सकियो भने भने महामारीबाट जोगाउन सकिने भएकाले खोपको प्रवन्ध अपरिहार्य रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित रातोपाटीलाई बताए ।   

खोपको आवश्यकता र महत्व अनि खोप बिना आउन सक्ने चुनौतिबारे डा. दीक्षितको प्रतिक्रिया यस्तो छ–

–  खोप लगायो भने लहर रोकिन्छ । अधिकांशले खोप लगाउन थालेपछि अहिले भनिरहेको दोस्रो, तेस्रो, चौथो लहर रोकिन्छ । लहर आए पनि त्यसले मृत्यु गराउँदैन र जीवन बचाउन सकिन्छ ।

– हामी बालबालिका र वृद्धवृद्धालाई जोखिम समूह मान्छौँ, उनीहरुलाई संक्रमण भए पनि त्यसले  कडा रुप धारण गर्दैन । खोप लगाएका व्यक्तिमा भाइरस प्रवेश गरे पनि त्यो कोभिडजस्तो नभएर सामान्य रुघाखोकीजस्तो मात्रै हुन्छ । अधिकांशले खोप लगाउने हो भने यो विस्तारै कमजोर बन्छ र हट्दै जान्छ ।

– तर, अधिकांशले खोप नलगाउने हो भने धेरै समस्या आउन सक्छ । खोपको दोस्रो मात्रा लगाएका व्यक्तिहरुमा ४ हप्तापछि धेरै राम्रो र बलियो प्रतिरक्षा प्रणाली अर्थात् एन्टीबडी निर्माण गरेको पाइएको छ । त्यसकारण खोपको महत्व कति छ भनेर भनिरहनुपर्दैन ।

–  अहिले कतिपय कुरा ढिला भइसक्यो । कोभिशिल्ड लगाएको १६ हप्ता भइसक्यो, दोस्रो मात्रा लगाउन पाइएको छैन । त्यसपछि के हुन्छ ? दोस्रो मात्राले काम गर्छ कि गर्दैन भन्ने कुरा पनि अनुसन्धान भएको छैन । तर, राम्रै हुन्छ भन्ने आशाचाहिँ गरौं ।

– अधिकांश नागरिकले खोप नै लगाएनन् वा दोस्रो मात्रा लगाएनन् भने नयाँ–नयाँ भेरियन्टहरु हाम्रो देशबाट आउन थाल्छन् । अस्ति भर्खर जुन डेल्टा प्लस भन्ने भेरियन्ट देखियो, त्यस्ता भेरियन्टहरु हाम्रो देशबाट आउन थाल्छन् । त्यस्तो अवस्थामा संसारले हामीलाई गाली मात्रै गर्ने होइन कि कारवाही पनि गर्न सक्छ । विश्वले नै हामीलाई प्रतिबन्ध लगाउन सक्छ । त्यसकारण हाम्रो जिम्मेवारी भनेको जसरी हुन्छ, खोप ल्याएर जनतालाई लगाउने नै हुनुपर्छ, जुन धेरै ढिला भइसक्यो । त्यसकारण भोलि होइन, आजै खोप ल्याएर लगाउनुपर्छ । नत्रभने नयाँ–नयाँ भेरियन्टहरु, नयाँ नयाँ लहरहरु हाम्रो देशमा फैलिइरहन्छ । जसका कारण लगातारको लकडाउन, लुजडाउन आदि कारणले आर्थिकरुपले पनि समस्या पार्छ ।

– कोभिड १९ को संक्रमण र लहर बढिरहेको अवस्थामा हामीले समयमै खोप लगाएनौं भने तेस्रो मात्रै होइन, चौथो, पाँचौं, छैठौं र सातौं लहर पनि आउन सक्छ ।

–  अहिले कति मानिसहलाई के भ्रम पनि छ भने खोप लगाए पनि कोभिड त देखिएकै छ, के अर्थ भयो र भन्ने छ । तर, कुरो त्यस्तो होइन । नेपालमै पनि दोस्रो डोज खोप लगाएका अधिकांश नागरिक अस्पताल जानुपर्ने अवस्थामा छैनन् । कोभिड पोजिटिभ देखिए पनि उनीहरुमा सामान्य रुघाखोकीजस्तो मात्रै लक्षण देखिएको छ । जति पनि अस्पतालमा भर्ना भएकाहरु छन्, उनीहरु पहिलो डोजसमेत नलगाएकाहरु बढी छन् । मृत्यु हुनेको सङ्ख्यामा पनि खोप नलगाएकाहरु बढी छन् । त्यसकारण खोपले कोभिड संक्रमण नै नहुने होइन, संक्रमण भए पनि धेरै असर नगर्ने हो ।

–  बेलायत, अमेरिका, इजरायल लगायतका देशलाई हेर्यौँ भने त्यहाँका अस्पतालहरु अहिले धेरै शान्त छन् । बिरामीको सङ्ख्या ज्यादै कम छ । कोभिड भए पनि अस्पताल जानुपर्ने स्थिति छैन ।

– यसको अर्थ के हो भने नेपालमा पनि कोभिड संक्रमणलाई रोक्ने हो भने खोप नै एकमात्र उपाय हो । खोपविनाको संक्रमण रोकथामको कल्पना पनि गर्न सकिँदैन ।

– यदि सबै नागरिकलाई खोप नदिएमा विश्वले नेपालमाथि प्रतिवन्धसमेत लगाउन सक्नेछ । यहाँका कामदारहरु बाहिर जान नपाउने अवस्था आउन सक्छ भने पर्यटकहरु नेपाल नआउन पनि सक्छन् । त्यसकारण आन्तरिक र बाह्यरुपमा पनि आर्थिक क्षेत्र चलायमान बनाउन खोप नै एकमात्र विकल्प हो । नत्र नयाँ नयाँ भेरियन्ट र नयाँ नयाँ लहर पनि नयाँ–नयाँ लकडाउनहरु भई नै रहन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप