बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सरकारमा गएर पनि राम्रो काम गर्न सकिरहेको छैनः महन्थ ठाकुर

मङ्गलबार, ०८ असार २०७८, १५ : २१
मङ्गलबार, ०८ असार २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले सरकारमा सहभागी भएपनि सोचे जस्तो काम गर्न नसकिरहेको बताएका छन् । 
मधेश संवाद समूहले मंगलबार आयोजना गरेको ‘नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश’ विषयक भर्चुअल गोष्ठीमा उनले आफूहरु सरकारमा भएपनि देशको ब्युरोक्रेसीलगायत आफूहरुको पक्षमा नरहेको कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् । 

‘अहिले पनि मधेश तथा थरूहटमा थुप्रै समस्याहरु छन्, हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौं’, उनले भने ।  तर राज्य त्यस्ता समस्याप्रति गम्भीर नभएको गुनासो गर्दै उनले माग पुरा भएन भने पीडित समुदाय सडकमा पनि आउन सक्ने भएकाले बेलैमा राज्य सचेत हुनुपर्नेमा जोड दिए । 

नागरिकताको समस्या मधेशको मात्र नभएर पुरै देशको समस्या रहेको बताउँदै उनले प्रतिनिधिसभाले तीन वर्षसम्म विधेयक पास नगरेको कारण योसम्बन्धी अध्यादेशबाट आएको बताए । उनले भने, ‘हाम्रो माग पनि थियो, प्रतिनिधिसभाले गर्न सकेन भने अध्यादेशबाट भएपनि यो समस्या समाधान गर्नुपर्छ र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो,’ उनले भने। 

नागरिकता सम्बन्धी अध्यादेशको  ठाउँ ठाउँमा स्वागत भएपनि त्यसलाई अदालतले कार्यान्वयन नगर्न आदेश दिएको भन्दै उनले सर्वोच्चको आदेश मान्नैपर्ने भएपनि सो समस्या मानवअधिकारसँग सम्बन्धित कुरा रहेकाले समाधान सोही अनुसार गर्नुपर्ने बताए । 

नागरिकताविहिन नागरिक देशमा राज्य विहिन भएर बाँचिरहेको पनि उनले बताए । ‘यही देशको नागरिक भएर विदेश जान पाएको छैन, बैंकमा खाता खोलाउन सकेको छैन, कलेजमा भर्ना गर्न पाएको छैन, कुनै ठाउँमा जागिर खान सकिरहेको छैन, के यो मानवअधिकारको उल्लघंन होइन ?’, उनले प्रश्न गरे । 

हतियार उठाउनेहरु प्रधानमन्त्रीसम्म बनेपनि शान्तिपूर्ण आन्दोलन गरेकाहरुलाई थुनामा राखेको बताउँदै उनले मधेशी, थारुहरुको सँस्कृतिमाथि प्रहार भएको बताए । सँस्कृतिमाथि धावा बोल्नेलाई दण्डित गर्नुपर्ने बताउँदै उनले मधेशी, आदिवासी जनजातिहरुलाई देशको सबै सुविधानबाट वञ्चित गरी राज्यले विभेद गरिरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप