सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको डेढ महिनामा स्वास्थ्य पूर्वाधारमा के-के भयो प्रगति ?

मङ्गलबार, ०८ असार २०७८, १२ : २२
मङ्गलबार, ०८ असार २०७८

कोरोनाभाइरस (कोभिड—१९) संक्रमितको संख्या तीव्र गतिमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि सुरु गरेको निषेधाज्ञा डेढ महिना बितिसक्दा पनि कायम छ । निषेधाज्ञा जारी हुनुभन्दा अघिल्लो दिन अर्थात् वैशाख १५ गते १४ हजार ८३४ को परीक्षण गर्दा ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामासमेत संक्रमण दर ओरालो लाग्दै गएपछि आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको छ । असार ५ गतेसम्म काठमाडौंमा ६ हजार ३८, ललितपुरमा २ हजार ८ सय ५६ र भक्तपुरमा २ हजार ७८ जना सक्रिय संक्रमित छन् ।

वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो सातासम्म संक्रमितको संख्या लगातार उकालो लाग्दै जाँदा अस्पतालमा संक्रमितको चाप बढ्यो भने अक्सिजन र बेडको हाहाकार भयो । तर पछिल्लो दिनमा संक्रमितको संख्या घट्दै जाँदा अस्पतालहरुमा पनि बेड खाली हुन थालेका छन् ।

संक्रमितको संख्या यसरी घट्यो

कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमण तीव्र गतिमा फैलिएको पाइन्छ । वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भए पनि केही सातासम्म संक्रमणको रफ्तार निकै बढ्यो ।

निषेधाज्ञा खुकुलो भए पनि जोखिम उस्तै

निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । ‘विस्तारै निषेधाज्ञा खुकुलो हुँदै जाँदा वा संक्रमितको संख्या कम हुँदै जाँदा जोखिम कम भयो भनेर बुझ्न भएन,’ उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएर बजार, कार्यालय, औद्योगिक क्षेत्र आफ्नो लयमा फर्किँदै जाँदा संक्रमण दर शून्यमा झार्ने काम हाम्रै हो ।’

कोरोना संक्रमितको ग्राफमात्रै घटेकाले जोखिम उस्तै रहेको डा.अधिकारीको भनाइ छ । कडा निषेधाज्ञाका कारण सार्वजनिक स्थानमा हिँडडुल कम, जनस्वास्थ्यका मापदण्ड पालनामा केही सुधार भएकाले संक्रमण फैलन कम भएको उनले सुनाए ।

जनस्वास्थ्यविज्ञ डा.शरत वन्तका अनुसार कोरोना भाइरसका नयाँनयाँ भेरिएन्ट देखिने क्रम जारी रहेकाले कन्ट्याक्ट टे«सिङ, कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्छ ।

नेपालमा पनि उत्परिवर्तन ‘के ४१७ एन’ म्युटेसन अर्थात् एवाई.१  पनि देखिसकेकाले सचेत हुनुपर्ने विज्ञहरु बताउँछन् । कोरोना भाइरसका नयाँनयाँ भेरिएन्टहरु पुष्टि हुनेक्रम जारी रहेकाले सचेत हुनुपर्ने उनले बताए । हाल निषेधाज्ञालाई खुकुलो बनाइए पनि जनस्वास्थ्यका अभ्यास विधिमा पालना गर्न र गराउनबाट चुक्न नहुने उनको भनाइ छ ।

​जनस्वास्थ्यविज्ञ डा.वन्तका अनुसार पहिचान भएका संक्रमितसँगै पहिचान नै नभएका संक्रमित समुदाय धेरै भएकाले अझै त्रास कायम छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य पूर्वाधारको व्यवस्था

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो लहर आउने पूर्वानुमान गरे पनि दोस्रो लहरसँग जुध्न आवश्यक तयारी नगर्दा अक्सिजन, बेड लगायत स्वास्थ्य पूर्वाधारको अभावमा संक्रमितले ज्यानसमेत गुमाए ।

कोरोना संक्रमितको ग्राफ उकालो लागेसँगै वैशाखको अन्तिम साताबाट जेठको पहिलो सातासम्म अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटरको हाहाकार भयो । अस्पतालका आँगन, पेटीमा राखेर बिरामीको उपचार गरेको करिब दुई सातापछि मात्रै सरकारले स्वास्थ्य पूर्वाधार थप गरेपछि संक्रमित उपचारमा सहज भएको थियो ।

निषेधाज्ञाको अवधिमा ठुलो मात्रामा स्वास्थ्य पूर्वाधारको अभाव भइ अस्पतालमा कोभिड बिरामीको चाप बढ्न थालेपछि सरकारले देशका विभिन्न ८६ सरकारी तथा निजी अस्पतालमा संक्रमितको उपचार गर्ने व्यवस्था मिलायो ।

भेन्टिलेटरको संख्या २०७७ वैशाखमा ३२७ रहेकोमा निषेधाज्ञाको अवधिमा ७५७ वटा भेन्टिलेटर थप गरेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

यस्तै, इन्टेन्सिभकेयर युनिट (आइसीयू) बेड संख्या २ हजार ६०० रहेकोमा ४०० थपगरी ३ हजार पु¥याइएको छ । हाइडिपेन्डेन्सी युनिट बेड संख्या सरकारी अस्पतालहरुमा २०७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको छ । ३२ वटा अक्सिजन प्लाण्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै लिक्विड अक्सिजन ट्याङ्क संख्या ३ वटा रहेकोमा थप २७ पु¥याउन प्रक्रिया अगाडि बढाइएको छ । दोस्रो लहरमा ९०० अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ । निषेधाज्ञाको अवधिमा अक्सिजन सिलिण्डर संख्या ५००० भन्दा बढी थप गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै केन्द्र सरकारले संक्रमण नियन्त्रणका लागि स्थानीय तहहरुमा  एन्टिजेनमा आधारित परीक्षणको व्यवस्थासमेत गरेको छ । कोरोना परीक्षणका लागि प्रदेश १ मा १ लाख ७५ हजार, प्रदेश २ मा २ लाख, बागमतीमा ३ लाख, गण्डकी प्रदेशमा १ लाख ५० हजार, लुम्बिनीमा २ लाख, कर्णालीमा १ लाख ५० हजार र सुदूरपश्चिममा १ लाख ७५ हजार थप किट पठाइएको छ ।

यस निषेधाज्ञाको अवधिमा सरकारले कोभिड—१९ का भेरिएन्टहरुको अनुगमन गर्नका लागि नियमित रूपमा जिनसिक्वेन्सिङ गरिरहनुका साथै प्रमाणीकरणका लागि विदेशस्थित प्रयोगशालाहरुसँग सहकार्य गरिरहेको उनले सुनाए ।

यो अवधिमा कोभिड—१९ को उपचार, पहिचान, नियन्त्रण, अध्ययनमा स्वास्थ्य मन्त्रालयले बढी ध्यान दिएको डा.अधिकारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप