नुवाकोटमा स्वास्थ्य सामग्री वितरणमा राजनीति !
कोरोनाभाइरसको संक्रमण समूदायस्तरसम्मै फैलिएको नुवाकोटमा सरकारीस्तरबाट हुने राहत सामग्री वितरणमा राजनीति भएको पाइएको छ । सत्ता निकट नेताहरुले आफू अनुकूल स्वास्थ्य सामग्री वितरण गर्ने परिपाटीका कारण कतिपय जोखिम रहेको स्थानमा स्वास्थ्य सामग्रीको अभाव देखिएको बताइएको छ ।
नुवाकोटमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ र क्षेत्र नम्बर २ बाट एमाले माधव नेपाल पक्षका नारायण प्रसाद खतिवडा विघटित प्रतिनिधिसभा सदस्य हुन् । तर, कोरोना रोकथाम र नियन्त्रण उनीहरुले कुनै पहल गर्दा सरकारी निकायबाट राजनीतिक स्वार्थका कारण सुनुवाइ नहुने गरेको माओवादी केन्द्र नुवाकोटका एक जिल्लास्तरीय नेताले बताए ।
उनका अनुसार सत्ताको निकट रहेका एमालेको केपी ओली निकटका केशव पाण्डे, बद्री मैनालीलगायतले राज्य स्रोतको दोहन गर्दै आफू अनुकुल स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । ‘जनता कोरोनाबाट प्रभावित भइराख्ने क्रम जारी रहँदा नुवाकोटमा सत्ता पक्षबाट राजनीति भइरहेको छ । जसले गर्दा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमै समस्या परेको छ’, एक माधव नेपाल पक्षीय एक नेताले भने, ‘सत्ताको आडमा आफ्नो क्षेत्रमा र अनावश्यक क्षेत्रमा राहत र स्वास्थ्य सामग्री लगिन्छ, जहाँ समस्या छ त्यहाँ ध्यान दिएको देखिँदैन ।’
केही अघि वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले नुवाकोटका लागि स्वास्थ्य सामग्री उपलब्ध गरायो । सो स्वास्थ्य सामग्री मन्त्रालयले आफ्नो च्यानलबाट सिधै वितरण गर्नुपर्नेमा सरकारको नेतृत्व गर्ने गुटका व्यक्तिहरुले आफू अनुकूलको स्थानमा वितरण गरेको ती नेताको आरोप छ ।
‘मन्त्रलायले जति स्वास्थ्य सामाग्री दिनुपर्ने हो आवश्यकताको तुलनामा ज्यादै कम छ। त्यसलाई पनि जसरी आफैले वितरण गरिनु पर्थ्यो, त्यसरी नगरी सत्तासीन दलको एउटा गुटको कार्यकर्ताहरु मार्फत किन कुन उदेश्यले वितरण गरिएको हो ? सामाजिक विकास मन्त्रालयले सार्वजनिक रुपले जवाफ दिनु पर्छ’, उनको भनाइ छ ।
राज्यको स्रोतको सत्ताको निकटकाहरुबाट दुरुपयोग भइरहेको उनको आरोप छ ।
कोरोना भाइरसका कारण नुवाकोटमा सोमबारसम्म ५९३ जना सक्रिय संक्रमित रहेका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ ।
सर्वसाधारण नागरिक, स्वास्थ्यकर्मी, शिक्षक,व्यवसायी जनप्रतिनिधिलगायत सबै क्षेत्रका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको र समूदायमा फैलिरहेको अवस्थामा गुटगत राजनीति नभइ सबै पक्ष हातेमालो गर्दै कोरोना रोकथाम र नियन्त्रणमा जुट्नुपर्ने सरोकारवालाहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली