बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा हेलिकप्टरबाट पुर्‍याइयो खोप

सोमबार, ०७ असार २०७८, १८ : ५२
सोमबार, ०७ असार २०७८

मनाङमा कोरोना भाइरस विरुद्धको खोप हेलिकप्टरबाट ल्याइएको छ । जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार नासो गाउँपालिकाका नागरिकलाई लगाउन लगिएको खोप बाढीपहिरोको चपेटामा परेपछि हेलिकप्टरबाट ल्याइएको हो । खोप नासो गाउँपालिका वडा नम्बर ४ स्थित अस्थायी स्वास्थ्य चौकीमा सुरिक्षत तरिकाले राखिएको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

बाढीपहिरोमा परेपछि नासोका नागरिक कोरोना भाइरस विरुद्धको खोप लगाउनबाट बञ्चित भएका छन् । खोप लगाउने भनिएको दिन नै अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले नासो क्षेत्र डुवानमा परेको हो । 
मनाङमा ६ हजार नागरिकलाई पहिलो र दोस्रो चरणमा एक हजार नौ सयले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । अझै तीन हजार तीन सय जनालाई खोप लगाउन बाँकी रहेको स्वास्थ्य प्रमुख आचार्यले बताए । जिल्लाको चामे गाउँपालिकामा दोस्रो चरणको खोप पनि लगाइसकिएको छ ।  

सोमबार नार र फू गाउँमा ७० डोज भेरोसिल र २५ डोज कोभिशिल्ड खोप हेलिकप्टर मार्फत लगिएको स्वास्थ्य प्रमुख आचार्यको भनाइ छ । नार्पाभूमिमा पहिलो चरणमा १ सय ५० डोज खोप लगाइएको थियो । दोस्रो चरणमा १ सय ९० जनालाई खोप लगाइने छ । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालयले काम अगाडि बढाएको छ । बाढीपहिरो गएपछि जिल्लामा शुद्ध खानेपानीको अभाव देखिएको छ । 

बाढीपहिरोले ठाउँठाउँमा खानेपानीको पाइपहरु बगाएको छ । त्यसकारणले पनि अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य भएको स्वास्थ्य प्रमुख आचार्यले बताए । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप