मेलम्चीमा नेतादेखि युट्युबरसम्म
सधैं स्थलगत रिपोर्टिङमा जाँदा कन्टेन्ट देख्ने बित्तिकै लोभिने यो मन र आँखामा सिन्धुपाल्चोक पुग्दा भावुकताले घेराबन्दी गर्यो । समाचारको लागि स्थलगत रिपोर्टिङ गर्न मेलम्ची पुग्दा आँखामा कैद भएको दृश्य भयावह थियो ।
बन्दाबन्दीमा प्रेस पास देखाएर समाचार संकलन गर्न दौडिने हामी पत्रकार प्रायः घटनाको प्रत्यक्षदर्शीका रुपमा उपस्थित हुन्छौं । समाचारको स्रोतलाई उद्धृत गर्दै प्रत्यक्षदर्शीका अनुसार भनेर लेख्छौँ । तर, आफैं प्रत्यक्षदर्शी बन्दा आफैंलाई ख्याल नहुँदो रहेछ ।
गत मंगलबार आएको बाढीले एकैछिनमा सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भयो । जीवनमा यस्तो कहर बनेर आयो, एक मिनेटमै स्वर्गजस्तो ठाउँ उजाड बन्यो । सोही दिन काठमाडौंबाट स्थलगत रिपोर्टिङका लागि म पनि मेलम्ची पुगेँ ।
कम्मरमा हात राखेर बाढीको दृश्य नियाल्दै गरेका बाढीपीडित टंक खड्का भन्छन्, ‘अघिल्लो दिन लोभलाग्दो देखिने यो बजार आज माटो ढुङ्गामात्रै देखिन्छ । यति ठूलो पीडा र छटपटी त शत्रुले पनि बेहोर्नु नपरोस् । अब न पैसा छ, न त बर्खाको झरी छेक्ने छानो नै छ । राहतमा पाएको एकबोरा चामल र एक किलो दालले कहिलेसम्म टिक्ने ?’
मेलम्चीबासीको यतिबेला आँखामा निद्रा पर्न छाडेको छ । ठुलै पहाडले थिचिएको जस्तो बाढी पीडितको मन पीडाले थिचिएको छ । बाढीले घरखेत बगाएपछि रुँदारुँदा सुन्निएका आँखा हातले माड्दै पीडित भन्छन् ‘ज्यान बच्यो, यसमै चित्त बुझाउनुपरेको छ । बाँकी रहेको घर पनि खोलाले बगाउला कि भन्ने चिन्तासहित पीडितहरु तलतिरको बाढीको विध्वंस नियालिरहेका थिए ।
सिन्धुपाल्चोकको भ्रेमाथाङमा गएको पहिरोका कारण आएको भीषण बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठूलो क्षति पुर्यायो । कहिले भुकम्प त कहिले बाढी पहिरोको पीडा खेप्दै आएको सिन्धुपाल्चोकले यसपटक पनि ठूलै क्षति बेहोर्नुपर्यो ।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढी बजार क्षेत्रमा पसेपछि ठूलो संख्यामा घरहरू डुबानमा परे कति मानिस बेपत्ता भए भने कतिले ज्यान गुमाए अझैसम्म २१ जना बेपत्ता छन् । २ सय बढी घर परिवार विस्थापित छन् । करिब ५ सय घर बाढीको उच्च जोखिममा रहेका छन् । बाढीले अर्बौं क्षति पुर्याएको यो क्षेत्रमा नदीको तटीय क्षेत्रका बाढी पीडितहरुलाई भने राहत र पुनर्वासको व्यवस्था अझै हुन सकेको छैन ।
मेलम्चीको तल्लो पुल बजारमा यतिबेला बालुवा, ढुङ्गा र काठ मात्रै देखिन्छ । केही राहत सामग्री प्लास्टिकमा पोका पारेर बेरिएका थिए । सुरक्षाकर्मीको टोलीले स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्दै थिए । अरु समयमा भिडभाड देखिने यो क्षेत्र सुनसान थियो । मेलम्ची बजारको माथिल्लो छेउबाट हेर्दा बजार बगरमा परिणत भएको प्रष्ट देखिन्छ ।
नेतादेखि युट्युबरसम्म
घटनास्थलमा मन्त्री पुगे, सांसद पुगे, नेता पुगे । बाढी पीडितलाई राहत दिनेदेखि पुनर्वासको समेत आश्वासन दिएर फर्किए । पीडितका लागि एक गाँस खाना छ कि छैन भनेर कसैले सोधेनन् । अर्कोतिर उद्घार र राहत बाँड्ने नाममा रमिते र युट्युबरहरुको बाक्लो भिड देखियो ।
घरखेत गुमाएर सडकमा बास गर्नुपर्दाको पीडाले मलीन त्यो अनुहारमा युटुबेहरुको प्रश्न तपाईंको आँखामा देखिने आँसु हो ? कति सम्पत्ति गुम्यो ? अब कहाँ बस्नुहुन्छ ? जस्ता प्रश्नले दुखेको पीडितको मन कसले बुझ्ने ? पीडितको भिडियो खिचेर युट्युब हाल्न युट्युबर तँछाड–मछाड गरिरहेका छन् । पीडितको आँशु र संवेदनामाथि भिडियो बनाउन उनीहरु सक्रिय छन् ।
बाढी पीडितको मुहारमा क्यामेरा र बुम तेर्स्याउनुअघि रुन बाध्य बनेका मेलम्चीका बाढीपीडित नारायणप्रसाद दुलाल भक्कानिँदै रुन्छन् । बाढीले थिचिएको उनको मनमा हजारौं पीडा छन् । बस्नका लागि छानो र खानाका लागि मानो छैन । तर, क्यामेरा र बुम तेस्र्याएर युटुबरहरुले झन पीडा थपिदिएका छन् । घरखेत गुमाउन परेको पीडा दुलाललाई मात्रै होइन, सयौंलाई परेको छ ।
पत्रकारितामा समाजप्रतिको जिम्मेवारी र सकारात्मकता हुनुपर्छ । एउटा चाउचाउको पोका दिएर फोटो खिच्न आउँछन्, अनि रंगीचंगी बनाएर युट्युबमा अपलोड गर्छन् । यसो भनिरहँदा नेपालमा केही राम्रा युट्युब च्यानल पनि त छन् । भन्ने प्रश्न उठ्छ हो नेपालमा ज्ञानवर्धक र सकारात्मक सन्देश दिने च्यानलहरू छन । तर, केही युट्युब च्यानलहरू अतिरञ्जित गर्नतिर लागिरहेका छन् ।
दिनहुँ सिन्धुपाल्चोकको आकाशमा देखिने हेलिकोप्टरको दृश्य हेर्दा लाग्छ, यहाँ राहत राख्ने ठाउँ नै अपुग छ । मास्क र चाउचाउ हेलिकप्टरबाट ओसार–पसार भइरहेका छन् । लाग्छ, यो समाज सेवा हो कि सस्तो लोकप्रियता हो ? विपतको समयमा सबैले संवेदनशील भएर सोच्नुपर्ने होइन र ?
(बिष्ट पत्रकार हुन्)