शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेगामा ‘फोन’ बाटै ‘लोन’ : कसरी लिन सकिन्छ ?

बैङ्कमा उपस्थित नभइ बिना धितो, बिना कागजात ऋण लिन सकिने
सोमबार, ०७ असार २०७८, १४ : ३७
सोमबार, ०७ असार २०७८


डिजिटल बैंकिङ्गलाई ग्राहकमैत्री बनाउन बैङ्कहरुले विभिन्न योजनाहरु सार्वजनिक गर्दै आइरहेका छन् । साना तथा ठूला कारोबारलाई डिजिटल माध्यममा अपग्रेड गर्दै आइरहेका बैङ्कहरुले यतिबेला कर्जा (लोन)का लागि पनि बैङ्क धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छन् ।

बैङ्कहरुले कोरोना भाइरसको महामारीका कारण मुलुकमा जारी निषेधाज्ञाबाट पीडित ग्राहकका लागि अनलाइनमार्फत अझ फोनमार्फत सिधै कर्जा लिन पाउने सुविधा ल्याएका छन् । सानो र सरल कर्जाको नाममा बैङ्कहरुले आफ्नो बैङ्कमा तलब खाता खोलेका विभिन्न संघ संस्थाका कर्मचारीहरुलाई पनि सजिलै कर्जा दिने गरेको छ । 

भर्खरै मेगा बैङ्क नेपाल लिमिटेडले कर्मचारी लक्षित ‘मेगा फोन लोन’ सुविधा सार्वजनिक गरेको छ । मेगाले स्मार्ट फोनबाट अनलाइनमार्फत तत्कालै प्राप्त गर्न सकिने गरी कर्जा सुविधा ल्याएको हो । 

आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.सँगको सहकार्यमा यो लोन सुविधा ल्याएको बैङ्कका डिजिटल तथा ई–बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए । सिंहका अनुसार यो कर्जा बिना झन्झट, बिना धितो, बैङ्कमा उपस्थित नभइ, बिना कुनै कागजात तत्कालै फोन मार्फत छिटो र सहज तरिकाले लिन सकिन्छ ।

यस सुविधामार्फत मेगा बैङ्कमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म उपभोग गर्न सक्ने सिंहले बताए । 

के हो मेगा फोन लोन ?
‘मेगा फोन लोन’ फोनमार्फत सिधै कर्जा लिन सकिने सुविधा हो । डिजिटल फाइनान्सिङ सर्भिस अन्तर्गत न्यूनतम ३ हजार देखि २ लाखसम्मको कर्जा लिन सकिने मेगाका डिजिटल तथा ई–बैंकिङ्ग प्रमुख विश्व सिंहले बताए । यो कर्जाको अवधि १ महिनाको मात्र हुनेछ । 

मेगा बैङ्कमा तलब खाता भएका ग्राहक जो स्मार्ट फोन प्रयोगकर्ता छन् उनीहरुले आफ्नो फोनमा रहेको मेगा स्मार्ट बैंकिङ्ग एपमार्फत सिधै कर्जाका लागि आवेदन दिन सक्नेछन् । 

मेगा स्मार्ट बैंकिङ्ग एपमार्फत अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने सिंहले बताए । उनी अगाडि भन्छन्, ‘कर्जा लिन इच्छुक ग्राहकहरुले बैङ्कको शाखा भ्रमण गर्नु पर्दैन र अन्य कुनै कागजी प्रक्रियाको झन्झट लिनु पनि पर्दैन । कर्जाको लागि आवश्यक सम्पूर्ण प्रक्रिया अनलाइन मार्फत पूरा भएको अवस्थामा बैङ्कले तुरुन्त कर्जा प्रवाह गर्छ ।’

क–कसले लिन पाउँछन् ?
मेगा फोन लोन मेगा बैङ्कका सवै ग्राहकले लिन पाउँदैनन् । यसका लागि मेगा बैङ्कमा तलब खाता खोलेको हुनुपर्छ । कुनै पनि संघ संस्थामा आवद्ध भएर कार्यरत कर्मचारीहरुले मेगामा तलब खाता खोलेको हुनुपर्छ ।  

तलब खाता खोलेका ग्राहकको उक्त खातामा नियमित तलब आएको वा नियमित कारोबार भएको हुनुपर्ने बैङ्कका डिजिटल तथा ई– बैंकिङ्ग प्रमुख सिंहले बताए । कर्जाका लागि योग्य ग्राहकलाई बैङ्कको सिस्टमले नै म्यासेज पठाउने भएकाले कसले लिन पाउने भन्ने ग्राहकले सजिलै थाहा पाउँने उनले बताए । कोभिड महामारीका कारण भएको निषेधाज्ञाको अवधिमा कसैको तलब आउन सकेको छैन वा आधा मात्रै आएको छ भने पनि मेगाले कर्जा दिने उनले बताए । 

विशेष गरेर निम्न आए भएका र महामारीको असर भएका व्यक्तिहरुका लागि यो कर्जा सुविधा बढी उपयोगी हुन सक्छ । यो सानो तर निकै लाभदायी कर्जा सुविधा भएको सिंहको भनाइ छ । उनी ग्राहकले कुनै अफ्ठेरो परिस्थितीको सामना गरिरहेको अवस्थामा यो कर्जा​ले काम गर्ने बताउँछन् । विशेष गरेर कोभिड–१९को महामारीको चपेटामा परेका जो रकम अभावमा उपचार नपाइरहेको पनि हुन सक्छन्, त्यस्ता ग्राहकका लागि यो सेवा सहयोगी हुन सक्छ । 

कसरी लिने ?
यसका लागि मेगामा तलब खाता भएका ग्राहकले आफ्नो फोनमा मेगा बैङ्क एप डाउनलोड गरी स्मार्ट बैंकिङ्ग सेवा लिनुपर्छ । आफूलाई आवश्यक परेको खण्डमा तत्काल स्मार्ट बैंकिङ्गमार्फत कर्जाका लागि अनलाइन आवेदन दिन सकिन्छ । प्रक्रिया पुरा गरेको केही मिनेटमै ग्राहकको खातामा ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् कर्जा रकम जम्मा हुन्छ । 

कर्जा लिन बैङ्कसम्म धाइरहनु पर्ने र विभिन्न कागजी प्रक्रिया पुरा गर्दा हुने झन्झटबाट मुक्त भइने भएकाले इच्छुक ग्राहकहरूका लागि यो निकै सजिलो विधि हो । यो कर्जा सुविधा पूर्णरुपमा ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितोको आवश्यकता पनि पर्दैन । बिना बैङ्क शाखा भ्रमण, बिना धितो, बिना कागजी प्रक्रिया तुरुन्त कर्जा प्राप्त गर्न सकिने भएकाले यो लोकप्रिय बन्ने मेगाका डिजिटल तथा ई– बैंकिङ्ग प्रमुख सिंहले बताए ।

कर्जा अवधि तथा ब्याजदर
सानो तर निकै लाभदायी लोन सुविधा भएकाले यसको अवधि १ महिना (३० दिन)को मात्रै तोकिएको सिंहको भनाइ छ । ग्राहकले एक हप्ताको लागि मात्रै कर्जा लिन्छु भने पनि पाउँछ । एक हप्ता, दुई हप्ता, तीन हप्ता वा एक महिना आफूले जहिलेसम्म कर्जा चुक्ता गर्न सक्छु भन्ने लाग्छ सोहि अवधिसम्मका लागि कर्जा लिन सकिन्छ । कर्जा आवेदन फारममा कर्जा अवधि छनौट गर्न सकिन्छ । साथसाथै ३० हजार देखि २ लाखसम्म कति लिने त्यो पनि छनौट गर्न सकिन्छ ।

यो कर्जाका लागि बैङ्कले १४ प्रतिशत व्याजदर तोकेको छ । यदि आफूले तोकेको अवधिसम्म कर्जा चुक्ता गर्न सकिएन भने बैङ्कले प्रति महिना ३ सयका दरले थप रकम लिनेछ । 

यसअघि नबिल बैङ्क, एनएमबि बैङ्क, सिटिजन्स बैङ्क, कुमारी बैङ्कलगायतका बैङ्कहरुले पनि कर्मचारी लक्षित फोन लोन सुविधा साथै बचत खाता भएका ग्राहकका लागि फोनमार्फत लिन मिल्ने साना कर्जा सुविधा सार्वजनिक गरिसकेका छन् । यस्ता सुविधाहरुले डिजिटल कारोबार प्रोत्साहनमा टेवा पुग्ने विश्वास बैङ्कहरुको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप