मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

लोकसेवामा केमिकल इन्जिनियरहरूको कोटा बढाउन माग

सोमबार, ०७ असार २०७८, १४ : २७
सोमबार, ०७ असार २०७८

केमिकल इञ्जिनियरिङका विद्यार्थी एवं प्राध्यापकहरूले लोकसेवा आयोगले केमिकल इन्जिनियहरुको भर्नाको कोटा बढाउनुपर्ने माग गरेका छन् । केम टेक ईन्जिनियरिङ्ग एण्ड रिसर्च सेन्टरद्वारा सोमबार आयोजित वेबिनारमा यस्तो आवाज उठेको हो ।

बाटो मात्र खनेर देशको विकास देख्ने,पुल मात्र बनाएर विकास देख्ने, भ्यु टावर र नाचघर बनाएर विकास देख्ने परम्परालाई परिवर्तन गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न पार्न साथै सुखी नेपाली समृद्ध नेपालको नारा सफल तुल्याउन औद्योगिक क्रान्ति अपरिहार्य रहनुका साथै औद्योगिक विकासमा उत्पादित दक्ष केमिकल इन्जिनियरहरूलाई  परिचालन गर्न ढिला गर्न नहुने निश्कर्ष उक्त वेबिनारमा निकालिएको आयोजकहरूले बताए ।

हाल लोकसेवाबाट आउने केमिकल इन्जिनियरहरु निकै न्यून रहेकाले नेपालमै सरकारी क्षेत्रमा काम गर्न चाहने केमिकल इन्जिनियरहरुलाई सरकारले लोकसेवामार्फत दरबन्दी बढाइ रोजगारीको अवसर दिनुपर्ने माग पनि वेबिनारमा उठेको थियो ।

वेबिनामारमा ‘नेपालमा केमिकल इन्जिनियरहरुको सम्भावना र अवसर’ विषयमा छलफल भएको थियो । वेबिनारमा काठमाडौं विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ्गका डिन प्रा.डा. मनिष पोखरेल, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका सहायक डिन प्राडा सुशील बज्राचार्य, नेपाल इञ्जिनियरिङ्ग एसोसिएशनका अध्यक्ष प्रा .डा. त्रिरत्न बज्राचार्य लगायतका प्रागिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

सरकारी, शैक्षिक, औधोगिक क्षेत्रका व्यक्तित्वहरु समेटिएको वेविनारका मुख्य वक्ताहरुमा नेपाल सरकारका पूर्वसह–सचिव ई .रोमी मानन्धर,गोर्खा ब्रुअरीका सिनियर ब्रिउमास्टर ई. सुरेश सेन, फ्रिल्यांसर डा. ई .दुर्गा व. कारन्जित थिए । प्यानललिस्टमा नेपाल सरकारका सह–सचिव ई प्रभातकुमार सिंह, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक ई सुशील भट्टराई, काठमाडौं विश्वविद्यालय केमिकल ईन्जिनियरिङ्ग विभागका उपप्राध्यापक डा. ई. विवेक उप्रेती थिए ।

वेबिनारमा काठमाडौं विश्वविद्यालयबाट उत्पादित केमिकल इन्जिनियर साथै काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्याल, पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा केमिकल इञ्जिनियरिङ्ग अध्ययनरत बिध्यार्थीहरुको सहभागिता थियो । उक्त वेविनारको मोडरेटरका रुपमा आर्थिक विकाश प्राधिकरण, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक एवं हाल नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत सिनियर डिभिजनल  केमिकल इन्जिनियर डा. ई. चण्डिकाप्रसाद भट्ट थिए ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतपर्ने नेपाल गुणस्तर तथा नापतौल विभाग, उद्योग विभाग, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खानी विभाग, पेट्रोलियम उत्खनन विभाग, नेपाल आयल निगम लगायतका विभिन्न निकायमा केमिकल इन्जिनियरहरुको भूमिका रहने छलफलमा सहभागीले बताए ।

त्यस्तै, कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत पर्ने विभाग, जस्तै– खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागमा केमिकल इन्जिनियर हरु उल्लेखनीय मात्रामा आवश्यक पर्ने हुँदा नेपाल सरकारले यी क्षेत्रहरुमा केमिकल इन्जिनियरहरुलाई अवसर दिनुपर्ने छलफलमा चर्चा भएको थियो ।

औद्योगिक क्षेत्रहरु, जस्तै– सिमेन्ट उद्योग, अक्सिजन प्लान्ट उद्योग, खानीजन्य उद्योग, फलाम उद्योग, तामा उद्योग, रबर उद्योग, कागज उद्योग, चिनी उद्योग, दुग्ध उद्योग, प्लास्टिक उद्योग, पानी प्रशोधन उद्योग, साबुन डिटरजेन्ट उद्योग, कस्मेटिक उद्योग, कार्पेट उद्योग,पेन्ट्स उद्योग, औषधीजन्य उद्योग, जडिबुटी प्रशोधन उद्योग, खाना प्रशोधन उद्योग, कृषिमा आधारित उद्योग, पेय पदार्थमा आधारित उद्योग, मल उद्योग, पोलिमर उद्योग, डिस्टिलरी उद्योग आदिमा केमिकल इन्जिनियरहरुको आवश्यकता पर्दछ ।

त्यस्तै, प्रागिक क्षेत्रहरु, जस्तै– काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्याल, नेपाल अनुसन्धान आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पनि केमिकल इन्जिनियर चाहिने गर्दछ ।

केमिकल इन्जिनियरहरु उत्पादन गर्ने मुख्य थलो नै विश्वविद्यालय रहेको हुँदा विश्वविद्यालयले विभिन्न सरकारी, निजी औधोगिक क्षेत्रहरुसँग सहकार्य गर्दै जानुपर्ने र केमिकल इञ्जिनियरिङ्ग पढाइ हुने  विश्वविद्यालमा यही क्षेत्रका प्रागिक व्यक्तित्वहरु विश्वविद्यालले खोजेर परिचालन गरिनुपर्ने चर्चा उक्त  वेबिनारमा भएको थियो ।

नेपालमै रासायनिक मल कारखाना खोल्ने, पेट्रोलियम पदार्थको उत्खनन गर्नेदेखि लिएर थुप्रै औद्योगिक ग्रामहरु स्थापना हुने चर्चा भइरहकेका बेला यी क्षेत्रहरुमा केमिकल इन्जिनियरहरुको सम्भावना र अवसरहरु रहेको वक्ताहरुले आंैल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप