शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनाबाट खोज, उद्धार तथा राहत जारी

आइतबार, ०६ असार २०७८, २२ : ३६
आइतबार, ०६ असार २०७८

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण  गरिरहेको छ  । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल  र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।

मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका – १ स्थित याङ्ग्रीका बाढीपहिरो प्रभावित २९ जनालाई सेनाको सहयोगमा मेलम्चीबाट उद्धार गरी काठमाडौंँ ल्याइएको थियो ।  सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका – ४ स्थित गल्थुम र माझीटारका बाढीबाट विस्थापित परिवारलाई बस्नका लागि सेनाले दुई स्थानमा सातसात   अस्थायी बासस्थानको व्यवस्थापन गरेको छ ।

बाढीपहिराको कारण विस्थापित हेलम्बु – २ गणेशबगर इलाकामा बसोबास गर्दै आएका ४३  र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० समेत १०३ जनालाई  सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरी राहत सामग्री वितरण गर्न सहयोग गरेको जनाइएको छ ।

मुस्ताङको घरपझोङ्ग गाउँपालिका – ४ स्याङ्ग गाउँबस्तीमा स्याङ्ग खोलाको बहाव बढ्न गई  पस्न सक्ने देखेपछि सेनाले खोला किनारमा ग्याबिन जालीमा ढुङ्गा भरी क्षति हुनबाट रोकेको थियो । प्युठानको मल्लरानी गाउँपालिका – ३ धरमपानीस्थित वरबोटका हीराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता भएकामा सेनाको खोजी टोलीले सरुमारानी गाउँपालिका – १ बाङ्गेसालको मियाबस्ती नजीक राप्ती नदीमा शव फेला पारिएको सेनाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप