शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवा र ओलीको तानातानमा माधव नेपाल

केपी जेठ २ मा फर्किए माधवले के गर्लान् ?
आइतबार, ०६ असार २०७८, १४ : ००
आइतबार, ०६ असार २०७८

एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका निर्णयहरुबाट असन्तुष्ट बन्दै विपक्षी गठबन्धनमा सामेल भएका वरिष्ठ नेता माधवकुमार नेपाल तानातानमा पर्ने संकेत देखिएको छ ।

नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी र सो कमिटीले नेताहरुमाथि गरेको कारवाहीको निर्णयलाई सर्वोच्च अदालतले मान्यता नदिने आदेशपछि अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल पक्षले भन्दै आएको जेठ २ मा फर्कने संकेत देखाएका छन् । यससँगै नेता नेपाल केपी ओली ओली र शेरबहादुर देउवाको तानातानमा पर्ने संकेत देखिएको हो ।

यसअघि एमालेलाई (२०७५ जेठ २) को अवस्थामा फर्काउन आनाकानी गरेका अध्यक्ष ओलीलाई सर्वोच्चको पछिल्लो आदेशले आफ्नो सरकार जोगाउनकै लागि भएपनि एमाले एकता कायम राख्नुपर्ने बाध्याता देखिन्छ । त्यसका लागि ओलीले पार्टी एकताका नाममा वार्ता गर्न आफू निकटका नेताहरुलाई खटाइरहेका छन्  ।

उता, प्रधानमन्त्री ओलीका राजनीतिक कदमविरुद्ध नेपालसहितको विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगिसकेको छ ।

यही असार ९ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ओलीविरुद्धको मुद्दा किनारा लगाउने तयारी भइरहेका बेला एमालेलाई पूर्ववत् अवस्थामा फर्काउने भन्दै अध्यक्ष ओली र नेता नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच लगातार जसो अनौपचारिक वार्ता भइरहेका छन् । तर, यो तहको वार्ताबाट माधव नेपाल स्वयं भने सन्तुष्ट देखिएका छैनन् ।

ओली यो वार्तापछि पनि नेता नेपाल एमालेमा नआए पनि अरु केही प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्न र नेपाललाई एक्ल्याउन सकिन्छ भन्ने बुझाइमा छन् ।

उता, विपक्षी गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षलाई भने नेपाल समुह ओलीसँग मिल्न गए ओली विरुद्धको गठबन्धन कमजोर बन्ने चिन्ता छ ।

नेता नेपाल ओलीसँग मिल्न गए ओलीले प्रधानमन्त्रीको हैसियतले चालेका कदमविरुद्धका लडाइमा हार्ने डर विपक्षी गठबन्धनलाई छ ।

विपक्षी गठबन्धनलाई कमजोर पार्ने योजनाअनुसार नै ओलीले एमालेभित्रको एकता प्रक्रियालाई तीव्र बनाएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

यस्तो विश्लेषणपछि विपक्षी गठबन्धनका नेताहरुले नेता माधवकुमार नेपालसँग निरन्तर संवाद गरिरहेका छन् ।

सोमबारमात्रै काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नेपालकै निवास कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गरेका छन् । यसअघि प्रायःजसो काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुँदै आएको विपक्षी गठबन्धनका शीर्ष नेताबीचको छलफल पछिल्लोपटक नेता नेपालकै निवास कोटेश्वरमा भएको थियो ।

यतिसम्म कि अहिलेसम्म अन्य नेताका घरमा विरलै पुग्ने देउवा सोमबार भने आफ्ना सहयोगी अर्का काँग्रेस नेता पूर्णबहादुर खड्कालाई साथमै लिएर नेपाल निवास कोटेश्वर पुगेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको माधव समूहसहित १४६ जना सांसदले रिट निवेदन दिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

संसद पुनस्र्थापना भए ओली नेतृत्वको सरकार ढाल्ने बुझाइमा रहेको विपक्षी गठबन्धन एमालेको माधव नेपालसँग साथ अनिवार्य खोजिरहेको छ । तर, प्रधानमन्त्री ओली भने एमालेका सके सवै सांसद नभए माधव समुहमा लागेका एकाधबाहेकका अरुलाई आफैसँग राख्ने रणनीतिमा छन् ।

सुरुवाती दिनमा केन्द्र सरकारदेखि प्रदेश सरकारमा समेत आफ्नो वर्चश्व बनाएका ओलीलाई पछिल्लोपटक गण्डकी प्रदेश सरकार ढलेसँगै वागमती, लुम्बिनी र प्रदेश १ सरकार बचाउने चुनौतिसमेत बढेको छ ।

लुम्विनी, प्रदेश १ र बागमति प्रदेशमा एमालेका दुवै समुह एक नभए विपक्षी गठबन्धनले सरकार बनाउने ल्याकत सहजै राख्ने प्रदेश सांसदको गणितले देखाउँछ । सोही कुरा बुझेका ओली माधव पक्षका केही नेताहरुलाई एमाले एकताका नाममा फकाउने रणनीतिलाई निरन्तरता दिइरहेका छन् ।

ओलीको प्रतिगामी कदमकै कारण नेपालसहितको विपक्षी गठबन्धन बनेपनि पुन नेपाल पक्ष ओलीसँग मिल्न गए विपक्षी गठबन्धन कमजोर हुने र ओली थप शक्तिशाली बन्ने त्रास गठबन्धनका नेताहरुलाई छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले नेता नेपालको घरमा काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गएर गरेको भेटवार्तालाई एमाले सिध्याउन गरेको घरदैलोको संज्ञा दिएका छन् ।

नेता नेपालका घरमा भएको नेताहरुको छलफलको तस्वीर शेयर गर्दै ओलीका सल्लाहकार थापाले ट्वीटरमा लेखेका छन्, ‘यो तस्बिरले मान गरेछ कि अपमान ? देउवा प्रचण्ड र उपेन्द्र । एमाले सक्याउन नै उहाँहरुको यो घरदैलो चलिरहेको छ । तर, बझ्ने महाशयले नबुझिदिएपछि कसको के लाग्छ छ र ?’

एमालेमा सम्मानजनक पुनर्वहाली र नेकपा एकता अघिको अवस्थामा फर्कनुपर्ने अडान राखेका नेता नेपाल पछिल्लो समय केही लचक जस्तो देखिएका अध्यक्ष ओलीसँग जाने हुन् या विपक्षी गठबन्धनलाई नै निरन्तरता दिने हुन् भन्ने चासो बढेको छ ।

तानातान छैन : भुसाल

माधव पक्षका नेता वेदुराम भुसाल नेता नेपाल तानातानको अवस्थामा नरहेको दावी गर्छन् । ‘मलाई तानातानको स्थिति भएजस्तो लाग्दैन । किनभने, अध्यक्ष ओली एमाले एकताका लागि तयार हुनुहुन्छ भन्नेमा म कम आशावादी छु’, भुसालले रातोपाटीसँग भने, ‘एकता हुने कुरा त्यस्तो हुँदैहुँदैन ।’

अध्यक्ष ओली पार्टी एकताका लागि भन्दा पनि निरन्तर अल्मल्याउने रणनीतिअनुसार अघि बढेकाले एकताको सम्भावना नदेखेको भुसालको भनाइ छ । ‘समग्रमा माधव नेपालले राखेका ६ बुँदा सम्बोधन गर्न ओली तयार हुनुहुन्न त्यो नहुँदासम्म एकता हुँदैन’, भुसालले रातोपाटीसँग भने, ‘माधवजीले एकताका निम्ति जुन ६ बुँदा राख्नुभएको छ, ती ६ बुँदा सबै लागु भए भने त्यो ठाउँ, अर्थात एकतामा पुगिन्छ,’ उनले थपे, ‘त्यो भयो भने कुनै तानातान हुँदैन ।’

भुसालले गठबन्धनसँगको कुरा गौण भएको पनि बताए । भुसाल यसमा कोही अलमलमा पर्नुपर्ने अवस्था पनि नरहेको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनसँगको कुरा स्पष्ट छ, यदि हामीले नै भनेका सर्तमा ओली पुगे भने हामी जान्छौं भन्ने त उहाँहरुलाई थाहा छ, यसमा अलमल हुने कुरै भएन ।’

उनले विगतमा पनि नेता नेपालले विभिन्न चरणमा दलहरुबीच कार्यगत एकता र सहकार्य गरेको उदाहरण दिँदै आवश्यकताअनुसार दलहरूसँग सहकार्य र प्रतिस्पर्धा दुवै गर्नसक्ने क्षमता रहेको बताए ।  ‘प्रचण्डसँगको सहकार्य या सम्बन्ध, अथवा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादलाई नेता नेपालले मिलाउन सहयोग गरेका उदाहरण छन्’, भुसालको भनाइ छ ।

ओलीसँग अब माधव नेपाल जाँदैनन् : विश्लेषक श्रेष्ठ

वाम विश्लेषक श्याम श्रेष्ठ ओलीले जतिसुकै आश देखाए पनि माधव नेपाल अब ओलीसँग नजाने बताउँछन् । ‘ओली र नेपाल धेरै टाढा पुगिसकेका छन्, त्यसैले अब उनी (माधव) ओलीसँग जाने सम्भावना म देख्दिनँ’, श्रेष्ठको विश्लेषण छ ।

प्रधानमन्त्री ओलीले जेठ २ मा फर्कन तयार भएको भनेर जारी गरेको अपिलबाटै उनी त्यहाँ पुग्न नखोजेको देखिएको श्रेष्ठ बताउँछन् । ‘उनले यसअघि नै जेठ २ मा फर्कन तयार छु भन्ने किसिमको आव्हान गरेका हुन्, तर फर्कनकै लागि होइन । त्यसरी जेठ २ मा फर्कंदा एमाले केन्द्रीय समितिबाहेक सबै कमिटीमा माधव नेपालको बहुमत हुन्छ । माधव नेपाल बहुमतमा हुने गरी ओलीले उनलाई स्थान दिँदैनन्’ श्रेष्ठ भन्छन्, ‘त्यसैले अहिले पनि एमाले एकताका लागि भनेर ओली पक्षबाट जेजस्ता वार्ताका नाटक भएका छन्, त्यो गठबन्धन कमजोर पार्न सकिन्छ कि भन्ने मनसायबाहेक केही होइन ।’

श्रेष्ठले अगाडि भने, ‘यो नाटकले नेता नेपाल तानातानमा परेजस्तो देखिए पनि वास्तविकतामा म त्यस्तो देख्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप