बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘गेटअपबाहिर दर्शकले चिन्दै चिन्दैनन्’

मलाई अमेरिका यहीँ छ – राजु मास्टर
आइतबार, ०६ असार २०७८, १० : २४
आइतबार, ०६ असार २०७८

पछिल्लो समयका चर्चित टेलिभिजन पात्र ‘राजु मास्टर’को वास्तविक नाम भने राजु पौडेले हो । रियलभन्दा पनि रिलको नामबाट उनी चिनिने गर्छन् । सन्तोष पन्तको लोकप्रिय सिरियल ‘हिजो आजका कुरा’बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका उनको ‘राजु मास्टर’को परिचय भने ‘मेरी बास्सै’ शृङ्खलाबाट बनेको हो । शृङ्खला सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ बाहिरिएपछि मुख्य पात्रको रूपमा उनी भित्रिएका थिए ।

‘मेरी बास्सै’ पछि अहिले उनी दुई सिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’मा देखिँदै आएका छन् । यी दुवै शृङ्खलामा उनी अभिनयको अलवा लेखक निर्देशनको जिम्मेवारीसमेत निर्वाह गर्दै आएका छन् । शृङ्खला लेखन निर्देशनमा उनलाई अर्काे कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धु्रवे’को पनि सहकार्य रहँदै आएको छ । कोरोनाका कारण करिब २ महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण छायाङ्कन असम्भव भएकाले अधिकांश सिरियल बन्द भएका छन् । उनका भने ‘हल्का रमाइलो’ र ‘जुठे’ दुवै अहिलेसम्म नियमित चलिरहेका छन् । यसै विषयमा उनलाई सोधिएको केही प्रश्न ।

निषेधाज्ञामा पनि सिरियल नियमित गरिरहनु भएको छ नि ?

–पहिलेदेखि चलिरहेको सिरियल किन रोक्नु भनेर दुःखसुखका साथ नियमित गरिरहेका छौँ । अहिलेको समयमा काम गर्न समस्या धेरै छन् । त्यो समस्यालाई चिर्दै काम गरिरहेका छौँ ।

एकसाथ फरक दुई सिरियलमा काम गर्न कठिन त पक्कै होला ?

–कठिन त छ । दुई सिरियलमा लेखन, निर्देशन गर्ने पनि मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र म दुई जना नै छौ । दुवैले लेख्ने र निर्देशन गर्ने भएकाले एक जनाको भागमा हप्तामा एक सिरियल मात्र पर्छ । मिलेर काम गरेकाले गाह्रो महसुस भएको छैन ।

बाहिर छायाङ्कन कसरी सम्भव भयो ?

–नेपाल टेलिभिजनले हिँड्नका लागि एउटा पास बनाएको छ । जसमा थोरै जना सहभागी भएर कोरोनाको सन्देश दिने काम गर्ने भनिएको छ । त्यसैले हामी ७ जनाको युनिट भएर मात्र सुटिङ गरिरहेका छौँ । पहिले हाम्रो युनिटमा २० जनाभन्दा बढी हुन्थे । ‘हल्का रमाइलो’ अहिले हामी दक्षिण ललितपुरको एक गाउँमा सुटिङ गरिरहेका छौँ । त्यो गाउँमा सिमेन्ट फ्याक्ट्रीले उठाएको गाउँ रहेछ । जहाँ ५, ६ घर छन् । तीमध्ये दुईवटा घरमा मानिस छैनन् । त्यहाँ सुटिङ गर्दा सहरको भन्दा बेग्लै महसुस हुन्छ ।

अहिले सिरियल गर्नैपर्ने बाध्यता त्यस्तो के छ र ?

–नियमित गर्नैपर्ने त्यस्तो बाध्यता त केही छैन । टेलिभिजनबाट पनि रोक्ने कुरा आएको थियो । हाम्रो उद्देश्य सिरियलबाट मनोरञ्जन दिने मात्र होइन । जो कोरोनासँग एकदमै डराएर घरमा बसेका छन् उनीहरुको मुड फ्रेस बनाउने पनि हो । सिरियलबाट हामीले सन्देश र मनोरञ्जन एकसाथ बाँडिरहेका छौँ ।

अहिले काम गर्दा आफू र परिवारलाई जोखिम त पक्कै होला ?

–कोरोनाको यो समय अहिले सबैले आ–आफ्नो तवरबाट केही न केही सहयोग गरिरहेका छन् । कोही राहतमा जुट्नुभएको छ । स्वास्थ्यकर्मी अस्पतालमा खटिएका छन् । हामीले भने सिरियलबाट केही सन्देश र मनोरञ्जन दिइरहेका छौँ । आफ्नो परिवारको सुरक्षाका लागि भने हामी हरेक सुटिङबाट फर्किएपछि केही दिन परिवारबाट छुट्टै बस्ने गरेका छौँ । कतै लक्ष्यण देखिन्छ कि भनेर ।

अबका दिनमा रोकिएला कि ?

–‘हल्का रमाइलो’ कहिलै रोकिँदैन । किनभने हामीले केही दिन अगाडि फेरि ६, ७ भाग खिचेका छौँ । ‘जुठे’ भने रोकिन सक्छ ।

नामको पछाडि ‘मास्टर’ कसरी जोडियो, के शिक्षक पनि हो र तपाईं ?

–शिक्षक भएका कारणले नामको पछाडि मास्टर जोडिएको होइन । यो परिचय केदार घिमिरेले ‘मेरी बास्सै’बाट जुराइदिनु भएको हो । शृङ्खला अभिनयका सिलसिलामा बाढीपीडितलाई एउटा राहत बाँड्ने व्यक्तिको भूमिकामा म थिएँ । राहत बाँड्ने क्यारेक्टर भर्खरको केटोले गरेको नसुहाउने देखेर जुँगा हालेर गेटअप बनाइएको थियो । त्यो समय भूमिकाको नाम के राख्ने भनेर मसँग सोधिएको थियो । मैले मेरो नाम राजु हो, राजु नै राखौँ भनेँ । राहत बाँड्ने क्रममा सिकाउने पनि मेरो क्यारेक्टर थियो । सिकाउने क्रममा युनिटका एक सदस्यले मास्टरले झैँ सिकायो भनेर मुखबाट फ्याट्ट निकाले । त्यो सुनेपछि केदार दाइले मेरो क्यारेक्टरको नाम राजु मास्टर राखिदिनुभयो । अहिले पनि मलाई राजु पौडेलभन्दा पनि राजु मास्टर भनेर चिन्छन् ।

अभिनयको गेटअप बाहिर दर्शकले चिन्छन् कि चिन्दैनन् ?

–मलाई अभिनयको गेटअप बाहिर दर्शकले चिन्दै चिन्दैनन् । अभिनयमा गेटअपमा म बूढो ५५ वर्षको जस्तो देखिन्छु । गेटअप नगर्दा म ३४ वर्षको ठिटो हो । त्यसैले भेट्ने सबैले मलाई तपाईं ठिटो होला भनेर सोचेका थिएनौँ भनेर आश्चार्यमा पर्छन् । मैले गरेको अभिनयको राजु मास्टरको गेटअप करिब ५५ वर्षका मानिसको हो  । २१ वर्षको उमेरदेखि मैले त्यो गेटअप गरेको थिएँ । अबको १६, १७ वर्षसम्म पनि मलाई त्यो गेटअप सुहाउँछ । यो मानिस पहिले पनि यस्तै थियो । अहिले पनि यस्तै छ भनेर मलाई सानो हुँदा देख्ने र अहिले ठूलो भइसकेका भाइबहिनीले भन्ने गर्नुहुन्छ ।

कलाकारिताबाट के पाउनु भयो ?

–कलाकारितामा नाम र दाम दुवै छ । अहिलेको सफलताले धेरै चढ्नु हुँदैन, सानो बन्नुपर्छ भन्ने लाग्छ ।

कलाकारिताबाटै जीवन चल्ला त ?

– पहिले पहिले गाह्रो थियो होला । अहिले छैन । ७ सयको कोठाभाडा लिएर काठमाडौँमा बसेको म । यो कलाकारितामा अहिले काठमाडौँमा घर छ । आफ्नो गाडी छ । नाम, इज्जत छ । मलाई अमेरिका गएर मलाई बस्नुपर्दैन । अहिल अमेरिका नै यहीँ छ । किनभने युट्युबले नेपालमै बसेर डलर कमाउने माहोल बनायो । कलाकारितामा अहिले आर्थिक पाटो पहिलेभन्दा धेरै राम्रो छ । यो राम्रो भएको समय नराम्रो छ भनेर भन्न मनलाई मन लाग्दैन । यस्तोभन्दा लक्ष्मीले सराप्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप