ad
x
प्रेरक

प्रेरक व्यक्तित्व :  मानवतावादी योद्धा नेपोलियन बोनापार्ट

person explore access_timeअसार ६, २०७८ chat_bubble_outline0

                                                                


नेपोलियन बोनापार्ट बरोबर सुनिने नाम हो । खासगरी साहस र विरताको क्षेत्रमा उनको नाम बढी आउने गर्छ । अहिलेसम्म पनि महानायक, महान् सेनापति र महान् विजेतामाउनकै नाम लिने गरिएको पाइन्छ ।



 फ्रान्स क्रान्तिको नेतृत्व गर्ने नेपोलियनको खास नाम नेपोलिनि दि बोनापार्टे हो । १५ अगस्ट १७६९ मा इटालीमा जन्मेका यी साहसी योद्धाको बाबुको नाम चाल्र्स बोनापार्ट र आमाको नाम लिटेजिया रेमालिनो थियो । बाबु चाल्र्स फ्रान्स दरबारमा भूमध्यसागरीय टापु कोरसियाको प्रतिनिधित्व गर्थे, जुन उनी जन्मनेको एक वर्षपछि फ्रान्ससँग एकीकरण भएको थियो ।



बाबु केही अल्छी शोभावका भए पनि आमा साहसी र विदुषी थिइन् । उनी छोरालाई सानैदेखि महापुरुषहरूको कहानी सुनाउने गर्थिन् तर नेपोलियन भने उदण्ड स्वभावका भएर निस्केका थिए । झगडा, कुस्ती, लडाईँ तथा लडभीड बढी रुचाउँथे । त्यसैले बाबुले उनलाई सैनिक विद्यालयमै भर्ना गरिदिए । उनले सम्पूर्ण शिक्षा सैनिक शैक्षिक संस्थाबाटै पाएका थिए ।



अध्ययन सकेपछि आर्मीमा भर्ना भए । फ्रान्सिसी आर्मीको सेकेन लेप्टेनमा सुरु नियुक्ति थियो उनको । नोकरी पनि आफ्नो स्वभाव अनुसारको पाएकाले अनेक किसिमका साहस, बहादुरी र पराक्रम देखाउने अवसर पाए । आन्तरिक विद्रोह दबाउनेदेखि थुप्रै वाह्य युद्धमा विजयी भएर देखाए । उनकै नेतृत्वमा फ्रान्सिसी सेनाले सन् १७९६ मा इटलीका राज्यहरूलाई परास्त गरेको थियो । उनको उदयको अध्याय यहीँबाट सुरु भएको मानिन्छ । उनी असम्भव भन्ने कुरा मूर्खको शब्दकोषमा मात्र हुन्छ भन्थे र सोही  अनुसार सेनाको नेतृत्व गर्थे । फलतः उनको अगाडि कोही पनि टिक्न सक्दैन थिए ।



जीवनमा निरन्तर एकपछि अर्को सफलता प्राप्त गर्दै गएकाले उनको लोकप्रियता ह्वात्तै बढ्यो । यसबाट सरकारसमेत डरायो र सन् १७९८ मा मिश्र देश पठाइदियो तर उनी त्यहाँ धेरै समय भने बसेनन् । एक वर्षपछि नै अर्थात् १७९९ मा स्वदेश फर्केर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सत्ता हातमा लिए । त्यतिबेला उनी १० वर्षका लागि प्रथम कन्सल (सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति) बनेका थिए ।



दश वर्षका लागि कन्सल बनेका भए पनि ११ नोभेम्बर १७९९ देखि १८ मई १८०४ सम्म करीव पाँच वर्षमात्र कन्सलको हैसियतमा रहे । त्यसपछि सम्राट घोषित भएर ६ अप्रिल १८१४ सम्म नेपोलियन १ को नामले सम्राट् बनेर फ्रान्सको नेतृत्व गरे । यतिबेला युरोपका अनेक क्षेत्रका शासक उनी नै थिए तर सन् १८१२।१३ तिर रुससँगको युद्धमा हार खानु परेकाले यसैको निहुँमा कोरसिका र इटालीको बीचमा रहेको एउटा टापुमा रहने गरी निर्वासित हुन पुगे । यहाँ पनि उनी धेरै दिन बसेनन् । सन् १८१५ को सुरुतिरै त्यहाँबाट भागेर फ्रान्स पुगे र पुनः सत्ता हातमा लिई २० मार्च १८१५ देखि २२ जुन १८१५ सम्म सम्राट् बने । नियति पनि कस्तो, ठीक यति नै बेला ब्रिटिस सेनासित उनले वाटरलूको युद्धमा नराम्रोसँग हार खानुप¥यो । यसैका कारण उनलाई पुन बन्दी बनाइयो र बन्दी अवस्थामै सन् १८२१ मा सेन्टहेलेना टापुमा निर्वासित गरियो । ५२ वर्षको उमेरमा यहीँ नै उनको देहान्त भएको थियो ।



उनी जति साहसी, वीर र पराक्रमी थिए त्यति नै दयालु, परोपकारी र मानवतावादी पनि थिए । यसबारे एउटा घटना निकै चासो पर्दो छ । उनको विजय अभियान जोडतोडका साथ चल्दै थियो । एकपटक युद्धकै अभियानमा अष्ट्रियाको राजधानी भियाना पुगेका थिए । युद्धको क्रममा जहाँ पुग्थे त्यहाँ सकेसम्म भौतिक र मानवीय क्षति कम होस् भन्ने चाहन्थे । यहाँ पनि यस्तै नीति लिएका थिए । त्यसैले सन्धीको प्रस्ताव लिएर आफ्ना एउटा दूत भियाना सरकार समक्ष पठाए तर नगरवासीले यति निर्ममतापूर्वक दूतको हत्या गरे कि यसबाट उनी तिलमिलाए र सेनालाई सम्पूर्ण नगर ध्वस्त पार्नु भन्ने आदेश दिए ।

जब क्रुद्ध नेपोलियनको सेनाबाट आगो र तोपको वर्षा हुन थाल्यो तब नगरवासीको भागाभाग चल्न थाल्यो । नगरका एकसेएक भवनहरू धमाधम ढल्न थाले । सम्राटका भवनसमेत निसानीमा परेपछि एकजना युवकले आएर विनम्रतापूर्वक भने–

‘सम्राट ! रिसानी माफ पाउँ, एउटा निवेदन गर्न चाहन्छु ।’

‘के कुरा हो भन्न सक्छौ ।’ नेपोलियनले उनको अनुहार हेर्दै भने–

‘तर होस गर्नु, कुनै लप्पनछप्पन चल्ने छैन ।’

‘त्यस्तो होइन सम्राट् ! मामिला मानवीय छ ।’

‘के कुरा हो ढुक्क भन्न सक्छौ ।’

‘कुरो के भने जहाँ गोलावारी भइरहेको छ त्यहाँ सम्राटकी छोरी सुतेकी छन् ।’

‘त्यसो भएर के भयो त ?’

‘थप गोलावारी भयो भने उनी मर्न सक्छिन् ।’

‘राजकुमारीलाई बाहिर आउन भन्नू, इज्जतपूवर्क जान दिइने छ ।’

‘तर उनी बिरामी छिन् सम्राट् ! हिड्न सक्दिनन् ।’

युवकको कुरा सुनेर नेपोलियन झस्के । उनको मुटु दयाले भरियो र सेनालाई तत्काल गोलावारी रोक्ने आदेश दिए ।

उनको कुरा सुनेर सेनानायकले भने–

‘सम्राट् ! के कुरा गर्दै हुनुहुन्छ यस्तो । हाम्रो विजय निश्चित छ । आक्रमण गर्ने उपयुक्त मौका यही हो ।’

त्यसपछि नेपोलियनले सम्झाउँदै भने–

‘युद्धको नीति अनुसार तपाईँले भन्नुभएको ठीक हो तर युद्धभन्दा पनि मानवता ठूलो हो । त्यसैले हामीले युद्धकै अवस्थामा पनि मानवता भुल्नुहुँदैन । मानवताको नाताले रोगी राजकुमारीमाथि दया गर्नैपर्छ ।’

यसरी उनले बरु निश्चित भइसकेको विजयलाई अनिश्चित हुन सक्ने खतरा मोल्न चाहे तैपनि मानवताको नातालाई भुल्न सकेनन् ।

त्यस्ता वीर पुरुषको पनि मृत्यु भने निकै दर्दनाक तरिकाले भएको छ । उनको मृत्युबारे अहिलेसम्म पनि अनेक अड्कलबाजी पाइन्छ । कसैले पेटको क्यान्सरका कारण उनको मृत्यु भएको भनेका छन् । कसैले सेन्टहेलेना टापुका तत्कालीन ब्रिटिस गर्भरले फ्रान्सका काउन्टसँग मिलेर जेलभित्रै हत्या गरेका हुन् भनेका छन् । उनलाई दिने गरिएको दबाईमै बिष मिलाइएको थियो भन्नेहरू पनि त्यत्तिकै छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X