खोपका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गर्दै हुनुहुन्छ : मन्त्री आचार्य
गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले कोभिड–१९ बाट बच्ने मुख्य विकल्प खोप भएकाले प्रदेशका नागरिकलाई सुरक्षित राख्नका आवश्यक खोपको व्यवस्था मिलाउनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारसँग समन्वय गरिरहेको बताए ।
उनले केही दिनभित्र मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका विषयमा कुराकानी गर्ने उल्लेख गरे । मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउँदै सार्वजनिक खरिद ऐनको पालना लगायतका कानूनले अप्ठयारो परेकाले खोप खरिदका लागि जिटुजी प्रक्रिया वा अन्य विकल्पका बारेमा छलफलका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई भेट्न जान लागेको जानकारी दिए ।
उनले जनता बाँचे विकास पछि पनि गर्न सकिने उल्लेख गर्दै खोप नै गण्डकी सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले सरकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको उपचार निःशुल्क गर्ने घोषण गरेको बताउँदै कोरोना प्रभावितका लागि पनि राहतका प्याकेज समेत ल्याउन छलफल चलिरहेको बताए ।
मन्त्री आचार्यले सरकारमा मन्त्रिपरिषद विस्तार नहुँदै हतारमा बजेट ल्याउनु परको बताउँदै व्यवसायीसँग सुझाव लिन नसकिएको उल्लेख गरे ।