मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

शहरभन्दा गाउँमा कोरोना सङ्क्रमित बढ्दै

शनिबार, ०५ असार २०७८, १३ : ०२
शनिबार, ०५ असार २०७८

कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन । 

गाउँमा पूजापाठ, भोजभतेर पनि निर्बाध चलिरहेका थिए । शहरियालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कतिपय गाउँमा त भुसको आगो फैलिए झैँ कोरोना फैलिएको छ । बरु शहरमा सावधानी अपनाउँदा विस्तारै सङ्क्रमण दर घट्दो देखिन्छ ।

गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । “गाउँमा सावधानी नै अपनाइएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन, मापदण्डको पालना हुँदैन । एक जना सङ्क्रमितले सयौँलाई फैलाउँछ,” श्रीवास्तवले भने ।  

शुक्लागण्डकीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पिसीआर रिपोर्टमा पोजेटिभ हुनेको सङ्ख्या गाउँ र शहर क्षेत्रका बराबरी छ । होम आइसोलेसनले पनि सङ्क्रमण फैलिन बढवा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ ।  

कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाई आम सर्वसाधारणमा रहेको उहाँले दुखेसो गरे । “जति दायित्व स्वास्थ्यकर्मीको छ त्यति नै घरपरिवार, नागरिक समाज, टोलको र जनप्रतिनिधिको छ,” उहाँले भन्नुभयो । कोरोनालाई नियन्त्रण गर्नलाई सबै पक्ष मिलेर गाउँमा निगरानी बढाउनुपर्नेमा उनले जोड दिए ।

भिमादका गाउँ–गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामी थुप्रै छन् । नगरपालिकाको स्वास्थ्य शाखा गाउँमा पुगेर सर्वसाधारणको एन्टिजेन परीक्षण गरिरहेको छ । पछिल्लो समय भिमादको वडा नं २ को जलौदीमा एकैदिन ७० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनालाई पोजेटिभ पुष्टि भयो ।
 
डरलाग्दो तरीकाले गाउँघरतिर सङ्क्रमण फैलिएको भिमाद स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताए । निषेधाज्ञापछि जोखिमयुक्त ठाउँमा रहेकाहरु ह्वात्तै गाउँ पसेकाले गाउँघरमा सङ्क्रमणको स्थिति भयावह भएको उनको भनाइ छ । 

उनका अनुसार गाउँमा सङ्क्रमण फैलनुको अर्को कारणमा बिहे, ब्रतबन्ध  र भोजभतेर पर्दछ । गाउँमा फैलिएको कोरोना नियन्त्रणका लागि एन्टिजेन परीक्षणको दायरा बढाएकामा बिरामी परेका परीक्षण गर्न नमानेको उनले बताए । “सङ्क्रमण भएमा सिटामोल खाने, घरायसी औषधि खाएर दुई÷चार दिनमा निको भएका धेरै छन्,” उनले भने, “सङ्क्रमण भएमा गाउँ समाजले नराम्रो दृष्टिले हेर्न भएकाले पनि परीक्षण गर्न चाहँदैनन् ।” 

जटिल अवस्थामा पुगेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिले सङ्क्रमण र मृत्युदरमा वृद्धि भएको छ । तनहुँमा हाल ९१४ जना सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लामा १७ हजार ३७८ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा चार हजार २४३ लाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएके छ । तीमध्ये ९९ जनाको मृत्यु भएको छ भने तीन हजार २३० जनाले कोरोनालाई जित्न सफल भएका छन् । सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित छन् । देवघाट गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यतर्फ ओरालो झर्दै छ । मृत्यु हुनेको सङ्ख्या शुक्लागण्डकीमा उच्च देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप