मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङ बजारमा खानेपानीको हाहाकार

शनिबार, ०५ असार २०७८, १२ : २२
शनिबार, ०५ असार २०७८

सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पु¥याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन । 

बागलुङ नगर खानेपानीले आवश्यकताभन्दा कम खानेपानीको आपूर्ति गर्दै आएको सो बजारमा अहिले खानेपानीको हाहाकार नै भएको छ । अहिले खानेपानी आयोजनाको पानी सदरमुकाम ल्याउने पाइपका ठाउँठाउँमा क्षति पुगेको छ । खानेपानीको मर्मतमा प्राविधिक र बागलुङ नगर खानेपानी तथा उपभोक्त संस्थाका कर्मचारी खटिए पनि हालसम्म पानी आपूर्ति हुन सकेको छैन । 

खानेपानीको अभावमा बागलुङ बजारका बासिन्दा डोकोमा गाग्री, बोतल तथा जार बोकेर बजार पारीको तित्याङ, गैँडाकोट तथा हाँडेपाखा धाउँदै आएका छन् । खानेपानी आपूर्ति नहुँदा कोरोना कहरमा सरसफाइमा समेत समस्या भएको बजारवासीले गुनासो गर्दै आएका छन् । 

पाँच दिनदेखि धारामा पानी नआउँदा शौचालय जानसमेत कठिन अवस्था आइसकेको बागलुङ बजारका स्थानीयवासी हरि सुवेदीले जानकारी दिनुभयो । बागलुङ बजारमा रेश खोला मुहान, भुदी खोला मुहान र रिठ्ठेखोला मुहानबाट ल्याइएको पानीका पाइप विभिन्न स्थानमा बाढीपहिराले क्षति पु¥याएको छ । पहिराले पाइप बगाउँदा बजार क्षेत्रभित्र पिउने पानी आपूर्ति हुन सकेको छैन । निरन्तरको प्रयासका बाबजुद रेश खोलाको मसहानको खानेपानी आज बेलुकासम्म बजार ल्याउने प्रयासमा रहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । 

पहिराकै कारण बागलुङ नगरपालिका–३ सुल्डाँडामा रहेको खानेपानीको रिजर्भ ट्याङ्कीसमेत जोखिममा परेको छ । बागलुङ बजार क्षेत्रभित्र रिठ्ठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अहिले रिठ्ठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर र भुदीबाट २० लिटर पानी दैनिक आउने गरेको छ । सदरमुकाममा प्रतिसेकेन्ड ४० लिटर खानेपानी आपूर्ति गर्दै आए पनि माग भने प्रतिसेकेन्ड ६० लिटर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप