बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बर्खामा कोरोनासँगै पानीजन्य सरुवा रोग फैलने खतरा

शनिबार, ०५ असार २०७८, ०९ : २२
शनिबार, ०५ असार २०७८

काठमाडौं । कोरोना महामारीसँगै पानीजन्य सरुवा रोग फैलनसक्ने खतरा बढेको छ । मनसुनी वर्षा सुरु भएसँगै महामारीजन्य सरुवा रोग फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।

बर्खायाममा बर्सेनि यस्ता रोगको प्रकोप फैलने गरेको छ । केहीदिन यता लगातार वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानको समस्या देखिएको छ । अझै केहीदिन देशका अधिकांश भागमा अविरल वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले पनि अझै केही दिन बाढी, पहिरो र डुबानजस्ता प्रकोपको सम्भावना देखिन्छ ।

यस्तो अवस्थामा कोरोनासँगै अन्य विभिन्न प्रकारका सरुवा रोग फैलने खतरा बढ्ने संक्रामक रोग विज्ञ डा. जनक कोइराला बताउँछन् ।
मंगलबार सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची नगरपालिकामा ४ सयभन्दा बढी स्थानीयवासी नजिकैको इन्द्रेश्वर माविमा बसेका छन् । यसरी बाढीपहिरोका कारण घरबाहिर सामूहिक रुपमा अस्थायी बसोबास गर्नेहरुमा कोरोना संक्रमणको उच्च जोखिम हुनुका साथै अन्य सरुवा रोगको समेत जोखिम रहने उनले सुनाए ।

बाढी, पहिरो तथा डुबानमा परी अस्थायी शिविरमा सामूहिकरुपमा केही समय बस्ने नागरिकलाई शुद्ध पानी र शौचालयको व्यवस्था नभएको खण्डमा पानीजन्य रोग फैलिएर अर्को समस्या सिर्जना हुन सक्ने उनको भनाइ छ । यसैगरी खानपान र सरसफाइमा विशेष ध्यान नदिए स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका समस्या देखिने उनले बताए । 

‘बाढी, पहिरोका कारण केहीको उठीबास भएको छ भने केहीको धनजन दुवै क्षति भएको छ,’ उनले भने, ‘मानसिक रुपमा चिन्तित भएका बेला सामूहिक रुपमा बस्दा सरसफाइ र खानपानको ख्याल गरिएन भने स्वास्थ्यमा ठूला समस्या निम्तिन सक्छ ।’

बर्खाको समयमा किटजन्य तथा पानीजन्य रोगको उच्च जोखिम उच्च हुने उनले बताए । बाढीपहिरो प्रभावितहरु सामूहिक रुपमा बस्दा खानेकुरा, पिउने पानी र सरसफाइमा ध्यान पु¥याउन नसकेको खण्डमा झाडापखाला, आउँ, हैजा, टाइफाइड, हेपटाइटिस, डेंगी, स्क्रब टाइफस र हावाबाट सर्ने विभिन्न किसिमका रोगको सिकार बन्न सकिने भएकाले सचेत रहन उनी सुझाव दिन्छन् ।

कोभिडको जोखिम पनि उच्च
केहीदिन यता कोरोना संक्रमणको ग्राफ ओरालो लागे पनि संक्रमणको जोखिम उत्तिकै छ । बाढीपहिरो, डुबानका कारण देशका विभिन्न भागमा अस्थायी शिविरमा सामूहिक रुपमा बस्दा जनस्वास्थ्यका मापदण्ड पालना बस्नुपर्ने डा.  कोइरालाको भनाइ छ ।

घरबाट विस्थापित भएर अस्थायी रुपमा बस्दा जनस्वास्थ्यका मापदण्डका साथै सरसफाइ, खानपानमा ध्यान दिनुपर्ने उनले बताए । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नेहरुले पनि यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

राहत तथा सहयोग वितरण गर्दा लिने र दिने दुबैथरीले जनस्वास्थ्यको मापदण्ड नअपनाए कोरोना संक्रमणले भयाभह रुप लिन सक्ने भन्दै उनले सचेत तुल्याए । ‘राहत तथा सहयोग लिने वा दिने पनि संक्रमित भएका हुनसक्छन्, आफूलाई कोरोना संक्रमण छ भन्नेकुरा कतिपयलाई थाहा नभएको पनि हुन सक्छ,’ उनले भने, ‘थाहा नपाइकन संक्रमित भएका एकजना व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा अरु धेरैजनामा संक्रमण फैलन सक्छ ।’ 

बाढी पहिरो तथा डुबानमा परेर सामूहिक रुपमा बस्नेहरुलाई मास्क, सेनिटाइटर अथवा साबुनपानीले हात धुने व्यवस्था तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन निरन्तर प्रयास गर्नुपर्ने डा. कोइरालाले बताए ।

कोरोनासँगै पानीजन्य रोग फैलन सक्छ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बाढीपहिरोकोे जोखिम बढेसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगको खतरा बढ्न सक्ने भन्दै सचेत तुल्याएको छ ।

बाढीपहिरोको जोखिम भएका बेला सरसफाइ अर्थात् जनस्वास्थ्यका समस्याहरु अझै बढ्न सक्ने भएकाले सजग हुनुपर्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेबाट हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढनसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ,’ उनले भने ।

उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस, बासको प्रबन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन मन्त्रालयको आग्रह छ । 

जनस्वास्थ्य सुरक्षाको लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनमा लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप