शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालोबजारी हटाउन मन्त्री बनेको हुँ : उद्योगमन्त्री यादव

शुक्रबार, ०४ असार २०७८, २० : ०८
शुक्रबार, ०४ असार २०७८

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले देशमा अब कालोबजारी, महङ्गो र व्यापारीको मनोमानी नचल्ने बताएका छन् । मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रबार पहिलोपटक गृह जिल्ला आएका मन्त्री यादवले सिरहाको चोहर्वास्थित रेडक्रसमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘व्यापारी व्यवसायीहरुको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्छ तर, त्यस्तो देखिएन । म यिनै अवस्थाको अन्त्यको लागि मन्त्री बनेको हुँ । देशमा अब कालोबजारी, महङ्गी र व्यापारीको मनोमानी चल्दैन ।’

ठूलठूला उद्योगहरुमा मनपरी र छाडापन बढेको भन्दै यसको चाँडै अन्त्य हुने उनले दावी गरे । जनतालाई हित हुने गरी सेवा भावले मापदण्ड भित्र रहेर सञ्चालन हुने उद्योगलाई भने प्रोत्साहन गर्ने जिम्मेवारी सरकारको रहेको भन्दै यसमा कमी नहुने पनि मन्त्री यादवले बताए ।

उद्योगी व्यवसायीहरुको जायज माग सम्बोधनका लागि राज्य पछि नहट्ने उनको भनाइ थियो  । ‘औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योग मैत्री वातावरण बनाउन दिनरात नभनी कार्य थालनी गरिसकेको छु,’ उनले भने, ‘देशमा सरकार जनताका लागि काम गरिरहेको छ भन्ने कुरा जनतालाई अनुभूति गराउनेछु ।’

कोरोनाका कारण देशका औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धरासायी बन्न पुगेको भन्दै यसलाई गतिशील बनाउन आफू गम्भीरतापूर्वक सक्रिय भइसकेको मन्त्री यादवले जनाए । मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै यही मन्त्रालय भएकाले आफूले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप