केन्द्रीय संस्करण

लघुकथा : कागज

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

खुट्टामा गोलीका छर्रा अझै बाँकी छन् । राति निदाउन सक्दैन । कहिले त असह्य पीडा हुन्छ । कहिले निद्रामा बडबडाउँछ त कहिले निद्रामै डराएर सिरकमा गुटुमुटु पर्छ ।

३१ वर्षे विनोद २०६३ साल बैशाख ३ गते आन्दोलनका क्रममा घाइते भएको जिउँदो शहीद । उसलाई चार/पाँच दिनदेखि अलि बढी नै सारो भएको छ । खुट्टा सुन्निएको छ, असाध्यै दुख्छ ।

अस्पताल सम्म जाने चाँजो मिलेको छैन । कोभिडको निहुँमा अस्पतालले बिरामीलाई सहज उपचार गरिरहेका छैनन् । ऊ थला परेको यतिका दिन हुँदा पनि उसले उपचार पाएको छैन ।

विनोदका बाबु पनि बाथले हिँडडुल गर्न सक्दैनन् । एउटी आमाले के के मात्र गर्ने ? हिँडडुल गर्न निषेधाज्ञा छ, त्यति सहज छैन । अस्पतालसम्म जान गाडी पनि चलेका छैनन् । छोराको अवस्थाबाट आमा अत्यन्तै चिन्तित छिन् । अस्पताल जान नसके पनि आज विनोदलाई औषधी ल्याउने विचारमा छिन् ।

त्यत्रो राजनैतिक परिवर्तनका लागि गोली खाएको युवा औषधीको गोली नपाएर छटपटाइरहेको छ । त्यही परिवर्तनबाट सत्तामा पुगेकाहरू सत्ताको खेलमा रमाइरहेका छन्, योद्धालाई बिर्सेर ।

आमाले नजिकैको औषधी पसलबाट नदुख्ने औषधी ल्याएर दिइन् । विनोदले पोको पारेको कागजबाट औषधी झिक्यो, हत्केलामा राख्यो । निहुरेर टेबलबाट गिलास उठाउन खोज्यो । अघि औषधी पोको पारेर ल्याएको कागज भुइँमा थियो ।

कागजमा लेखिएको देखियो– गणतन्त्र नेपालको संविधान २०७२ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.