शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रामोसका १६ वर्ष : यी हुन् म्याड्रिडले नबिर्सने ५ क्षण

शुक्रबार, ०४ असार २०७८, १७ : ५०
शुक्रबार, ०४ असार २०७८

रियल म्याड्रिडमा १६ वर्षसम्म खेलेर थुप्रै उपाधिहरू जितेका सर्जियो रामोसको गन्तव्य अब नयाँ क्लब हुनेछ ।  रियलले  बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर उनको बिदाई गरेको छ । क्लबसँग उनको सम्झौता यही महिनाको अन्त्यमा टुँगिदैं थियो र नयाँ सम्झौता भएन । ३५ वर्षका यी कप्तान बिदाई समारोहमा निकै भावुक देखिएका थिए । सन् २००५ मा अर्को स्पेनिस क्लब सेभियाबाट उनी रियल आएका थिए, उनले त्यसयता ६ सय ७० खेल खेले । क्लबका लागि पाँचवटा ला–लिगा उपाधि र चारवटा च्याम्पियन्स लिग जिते । 

म्यानेचस्टर युनाइटेड र पेरिस सेन्ट जर्माइन दुबै रामोसलाई भित्र्याउनका लागि लालयित छन् । यद्यपि, पूर्व क्लब सेभियाले पनि उनलाई ५ वर्षको सम्झौता अफर गरेको छ । यता, रामोसको बिदाईसँग म्याड्रिडमा एक युगको अन्त्य भएको छ । किनकी, उनले आफ्नो करियरको सुनौलो समय बिताउने क्रममा रियलबाट निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । रामोसलाई रियल समर्थकहरुले संझिरहने प्रमुख ५ क्षण यी हुन् ः

१. फाइनलमा गोल 


२०१४ को च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडले एथलेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गरिरहेको थियो । खेल इन्जुरी समयतर्फ अघि बढ्दा एथलेटिको १–० ले अघि थियो । लाईफलाईनको खोजीमा रहेको रियलको उद्धार यतिबेला रामोसले गरे । लुका मोडरिकले ९२ मिनेट ४८ सेकेन्डमा कर्नरमार्फत दिएको क्रसलाई रामोसले गोलमा परिणत गरे । यस गोलसँगै खेल बराबरी गरेको रियल अतिरिक्त समयमा थप ३ गोल गर्दै ४–१ को जितसहित उपाधि चुम्यो । 

२. बार्यन विरुद्धको प्रदर्शन 

फाइनलमा पुग्नअघि रियलले सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिखको चुनौती सामना गरको थियो । बार्यन विरुद्ध रियलले घरेलु मैदानमा १–० को जित दर्ता गरेको थियो । तर, दोस्रो लेगमा बार्यनलाई उसैको घरमा हराउनु सहज थिएन । एलिनाज एरिनामा रामोसले नै सुरुवाती २ गोल गर्दै रियललाई अघि बढाए । त्यसपछि क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्दा रियलले दोस्रो लेग ४–० र समग्रमा ५–० को जित निकाल्यो ।

३ लगातार तीन पटक च्याम्पियन्स लिग जित्ने कप्तान 

किभमा आयोजित २०१८ को च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई ३–१ ले हराएर रियलले उपाधि जित्यो । सर्जियो रामोसका लागि यो अत्यन्तै सफल क्षण थियो । उनी २०१७ मै च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो कप्तान बनिसकेका थिए । यस जितसँगै लगातार तीनपटक च्याम्पियन्स लिग जित्ने कप्तानका नाममा नयाँ इतिहास बनाए । 

४.सलाह विरुद्धको त्यो प्रहार 

रामोसको चर्चा गर्दा विवाद कसरी छुटाउनु ! यी कप्तानले २०१८ को फाइनलपछि लगातार तेस्रोपटक च्याम्पियन्स लिग जित्ने इतिहास लेखाए । तर, त्यही फाइनलमा उनी भिलेनका रुपमा प्रस्तुत भएका थिए । निर्क फर्ममा रहेका लिभरपुलका महोम्मद सलाहले यस खेलमा म्याड्रिडको डिफेन्सरलाई चुनौती दिइरहेका थिए । र, उनलाई रोक्ने जिम्मा रामोसको थियो । 

पहिलो हाफमा उनले सलाहमाथि खतरनाक ट्याकल गरे । जबर्जस्ती आफ्नो पाखुराले सलाहको काँधलाई च्यापेर उनलाई मैदानमै लडाइदिए । जसकारण, सलाहले रुँदै मैदान छाड्नुपर्यो  । आफ्नो टोली ३–१ ले पराजित भएको उनले ड्रेसिङ रुमबाटै हेरे । लिभरपुलका खेलाडी र कर्मचारी सबैजना यो घटनाले स्तब्ध भएका थिए । सलाह मैदान भएको भए नतिजा फरक आउने थियो । यस घटनापछि सलाहको काँधमा चोट लागेको पुष्टि भयो । ‘यदि तपाई यसलाई फेरि हेर्नुहुन्छ र रियलको पक्षमा हुनुहुन्न् भने पक्कै पनि तपाईले यो कठोर छ भने सोच्नुहुन्छ,’  खेलपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने । 

५. २०१६ युईएफए सुपर कप 

रियल म्याड्रिडका लागि ठूला अवसरमा सलाह सधैं मुख्य भूमिकामा हुन्थे । अर्को उदाहरण, २०१६ को युईएफए सुपर कप पनि हो । जहाँ, रियल म्याड्रिडले रामोसको पूर्व क्लब सेभियासँग खेलिरहेको थियो ।  नर्वेमा भएको यो खेलमा रियल २–१ ले पछि थियो । खेल इन्जुरी समयतर्फ बढीसकेकाले रियलले हार्ने सम्भावना बढ्दै थियो । फेरि, रामोसले एकपटक ९२ मिनेट ३४ सेकेन्डमा हेड गोल गरे । बराबरीपछि खेल अतिरिक्त समयमा पुग्यो । जहाँ, डेनी कार्भाजलको गोलमा रियल विजयी भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप