बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु

शुक्रबार, ०४ असार २०७८, १५ : ३६
शुक्रबार, ०४ असार २०७८

एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् ।

माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् ।

‘स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको छ । त्यो पत्र हामीले आयोगमा बुझाएका छौँ तर आयोगले दल त्याग गरेको सुचना प्रकाशित गरेन । सोही विषयमा कुराकानी गर्न आयोग गएका हौ’, आयोग पुगेका माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

आयोगले सुचना जारी नगरेसम्म पद खाली हुदैन । पोखरेलले माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १७,१८ जना रहेको पोखरेलले जानकारी दिए ।

माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ भनिएकाले सोही अनुसार गर्न सुझाव दिएका छन् । तर माओवादी केन्द्रले त्यसको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएकाले सोही अनुसार गर्न माग गरेका थिए ।

एमाले र माओवादीका नेता आयोगबाट निस्केको केही बेरमा शुक्रबारै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् । महन्थ ठाकुर पक्षलाई गरेको कारवाही अनुमोदन नगरेकोमा यादव पक्ष आयोगसँग चिढिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप