शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विपतमा राहत : मेलम्चीमा राजनीतिको गन्ध !

हेलम्बुमा कोही पुगेन
शुक्रबार, ०४ असार २०७८, १४ : ५०
शुक्रबार, ०४ असार २०७८

विपतमा कुनै पनि संघ संस्थाले सहयोग गर्दा आफ्नो पहिचान देखाउन खोज्नु स्वाभाविक हो । तर, समाजमा पहिचानका नाममा प्रचारमुखी अभियान चलाउनेको पनि कमी छैन । यही विषयमा बिहीबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविमा विवाद हुँदा झडपकै स्थिति उत्पन्न हुन पुग्यो ।

बाढी पहिरोका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दालाई राहत तथा उद्धारका लागि मेलम्ची पुगेको सत्तारुढ दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वविुको टोली र स्थानीयबासिन्दाबीच झडप भएको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महर नेतृत्वको टोली बाढीपीडितका लागि राहत बोकेर बिहीबार सिन्धुपाल्चोक पुगेको थियो ।

एमाले केन्द्रीय कार्यालयबाट महासचिव ईश्वर पोख्रेलले उनीहरुलाई राहत वितरण तथा उद्धारका लागि मेलम्ची पठाएका थिए ।

महासचिव पोखरेलले पठाएको टोलीले मेलम्ची पुगेर स्थानीय इन्द्रेश्वर माविको प्राङगणमा ब्यानरसहित राहत वितरण गर्न थालेपछि स्थानीयले ‘राहतमा राजनीति’ गरेको भन्दै विरोेध गरे ।

त्यसैक्रममा स्थानीय र अनेरास्ववियुको टोलीबीच झडप हुन पुगेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिए । ‘हामीले एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने भनेका थियांै । यद्यपि घटनाका बेला म थिइनँ, तर केही मानिसहरुले आफैं यहीँ बस्ने, मान्छेहरु बोलाउने र घरघरमा राहत पठाउने गर्न थालेपछि विवाद भएछ’, मेयर अर्यालले भने, ‘त्यो भएपछि विरोध हुनु स्वभाविक पनि हो ।’

मेलम्चीमा भएको झडपबारे एमालेको युवा विद्यार्थी फाँट हेर्ने जिम्मेवारी पाएका एमाले नेता खिमलाल भट्टराईले अनेरास्ववियुले लगेको राहत मेलम्ची नगरपालिकाको टोलीलाई हस्तान्तरण गरेर फर्केको बताए ।

‘सम्बन्धित मान्छेहरुलाई बुझाउने स्थिति बनेन, त्यसपछि हाम्रो टोलीले नगरपालिकाको टोलीलाई राहत बुझाएर फर्केको हो’, भट्टराईले विपतका बेला झगडा गर्नु राम्रो नभएको पनि बताए ।

एमाले नेता भट्टराईले योबेला झण्डा वा पार्टीको प्रचार गर्नुभन्दा पनि मानवीयताको कुरा मुख्य भएको बताए ।

कसैले संस्थागत रुपमा सहयोग गर्दा आफ्नो संस्थाको पहिचान दिन खोज्ने कुरा त्यति धेरै नाजायज नभए पनि त्यसकै लागि झगडा गर्नुचाहिँ राम्रो नभएको भट्टराईको भनाइ छ ।

‘जो जान्छ, उ पहिचानसहित जान खोज्छ । पहिचान लुकाएर त कोही जाँदैन । फेरि यसरी सहयोग गर्दा एउटा जागरण पनि आउँछ । प्रतिश्पर्धा हुन्छ । प्रतिस्पर्धा हुँदा पीडितलाई नै फाइदा हुन्छ । जो पुगे पनि राहत नै पुग्ने त हो’, भट्टराईले भने, ‘प्रचारमुखी मात्रै पनि हुनु हुँदैन र पहिचान नै लुकाउनुपर्छ भन्ने पनि होइन ।’ 

विपतका बेला सहयोग गर्न जाँदासमेत स्थानीयबाट हुने त्यस्ता व्यवहारले सहयोग गर्न चाहने अन्यलाई समेत निरुत्साहित बनाउन सक्ने भट्टराईको चिन्ता छ ।

माओवादी केन्द्र निकट अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले क्रान्तिकारी विद्यार्थी संगठन र एमाले अखिलबीच विवाद भएको भनेर प्रचार गरिए पनि उक्त घटनामा आफ्नो संगठनको कुनै संलग्नता नभएको बताए । ‘हाम्रो संगठनका कार्यकर्ताको त्यसमा कुनै संलग्नता छैन, स्थानीयवासीसँग विवाद भएको भन्ने सुनेको हो’ तामाङले रातोपाटीसँग भने ।

हेलम्बुमा कोही पुगेन

मेयर अर्यालले मेलम्ची नगरपालिकामा २ स्थानमा क्याम्प बनाएर स्थानीयलाई खाना खुवाउने र बस्ने व्यवस्था गरेको बताए ।

‘अहिले त जनजीवन अलि सामान्य बन्दै जान थालेको छ । राहत पनि आइरहेको छ । बजारका केही मान्छेहरु बजारभन्दा माथि खाली घरहरुमा बसेका र उनीहरुलाई पनि खाना खुवाउने व्यवस्था गरिएको छ’, मेयर अर्यालको भनाइ छ ।

उनले अस्थायी प्रकृतिको सहयोग जुटेपनि विपतको स्थायी समाधान कसरी गर्ने भन्ने चिन्ता रहेको बताए । उनले हेलम्बु र यांग्रीमा धेरै मानिसहरु विस्थापित भएको भन्दै त्यहाँ कोही नपुगेको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप