शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा लोगो अनिवार्य, नीजि क्षेत्रका डेरी उद्योगहरुलाई पनि लोगो वितरण

शुक्रबार, ०४ असार २०७८, १४ : २७
शुक्रबार, ०४ असार २०७८

काठमाडौं । दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यविधि अनुसार विभिन्न डेरी उद्योगहरुलाई लोगो वितरण गरिएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच संस्थानलाई लोगो हस्तान्तरण गरिएको थियो । 

लोगो प्रयोग गर्ने नीति अनुरुप राष्ट्रिय दुग्ध विकास बोर्डले असार ४ गते काभ्रेको हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टरको दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) प्रदान गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताए ।

पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने क्रमशः प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादवले बताए । अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उनले बताए ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका आधारमा लोगो प्रदान गरिएको हो ।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रहने विश्वास लिइएको बोर्डका कार्यकारी निर्देशक यादवले बताए ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतीक चिन्ह लोगोको सार्वजनिक अनावरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप