मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसका नाममा भर्चुअल फोरममा अराजकता

शुक्रबार, ०४ असार २०७८, १० : २०
शुक्रबार, ०४ असार २०७८

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । कोराना भाइरसको महामारीको बाध्यता छिचोल्दै  कार्यतालिका शंसोधन सहित भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय पार्टीले गरेको छ ।

७० बर्ष लामो विरासत बोकेको एक्लो लोकतान्त्रिक पार्टीको महाधिवेशन स्वभाविक रुपमा एक लोकतन्त्रको उत्सव हो । त्यसैले कांग्रेस महाधिवेशनको चर्चा परिचर्चा हुने गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरुको महाधिवेशन नभएको कांग्रेसकोभन्दा लामो समय भैसकेको छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवा तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेमा दत्तचित्त भएर लागिरहनुभएको छ ।

नेपालमा भएका हरेक राजनीतिक र सामाजिक परिवर्तनको नेतृत्व गरेको कांग्रेस महाधिवेशनलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सधंै विशेष महत्वकासाथ हेरिन्छ । समय घर्केपछि अन्तिम समयमा महाधिवेशन आयोजना गर्ने संस्कार कांग्रेसमा परम्परा नै बनिसकेको छ ।

यतिबेला महामारीकै वीचमा पनि भदौभित्र महाधिवेशन सम्पन्न गर्नैपर्ने संवैधानिक बाध्यता र ओलीराजबाट आम जनमानसलाइ मुक्त गराएर राष्टियता, लोकतन्त्र र सविधानको रक्षा गर्नुपर्ने दोहोरो जिम्मेवारी कांग्रेस नेतृत्वको काधमा आइपरेको छ ।

यी दुबै मोर्चामा आफूलाई अब्बल सावित गर्न र कांग्रेसको दायित्वलाई सफलतापूर्वक पूरा गर्न कांग्रेस सभापति देउवा अर्जुनदृष्टिका साथ लागिपरेको देखिन्छ । महाधिवेशन समयमै सम्पन्न गर्न र विपक्षी गठबन्धनको नेतृत्व गरेर ओलीराजको उद्दण्डताबाट देश र जनतालाई मुक्त पार्न देउवाले देखाएको सकृयता लोकतन्त्रको जीवन बचाउन पनि हो ।

कांग्रेस संगठनको हिसावले ‘मास बेस्ड’ पार्टी नै हो । तर, महाधिवेशनको सन्दर्भमा कांग्रेसका क्रियाशील सदस्य प्रमुख आधार हुन् । क्रियाशील सदस्यमध्येवाट छनोट भएका प्रतिनिधिहरुले नै वडादेखि गाउँपालिका, नगर, महानगर हुँदै जिल्ला प्रदेश र केन्द्रको नेतृत्वका लागि मतदाता छान्ने र चुन्ने भएकाले क्रियाशील सदस्यको टुंगो लाग्नु नै काँग्रेसको महाधिवेशनको ९० प्रतिशत काम सम्पन्न हुनु हो । अहिले कांग्रेस सबैभन्दा बढी सदस्य भएको संगठन हो । उसका क्रियाशील सदस्य मात्रै १० लाख छन् । साधारण सदस्यहरु यसको तीन÷चारगुणा बढी छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा अहिले कांग्रेसभित्र एउटा तप्कामा ‘म राम्रो, अरु सबै नराम्रो’ भन्ने भ्रम छर्न उद्यत देखिन थालेको छ । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले अहिले कांग्रेस महाधिवेशनको सरगर्मी पनि भर्जुअल फोमरहरुमा हुन थालेको छ । कतिपय सिनियर नेताहरु पनि जुम बैठक बोलाउने र त्यहाँ नानाथरी पार्टीलाई आरोप लगाउन तल्लिन भएको देखिन्छ । ती जुम छलफलहरु कसले आयोजना गरेको हो ? केका लागि गरेको हो ? त्यसको उद्देश्य के हो भन्ने कुनै आधार नभए पनि वरिष्ठहरुनै ती बैठकमा सहभागी भएर पार्टीका बारेमा रचनात्मक छलफल र बहस होइन कि पार्टीका नेताहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएको देखिन्छ ।

कांग्रेस लोकतान्त्रिक मुल्य मान्यतामा विश्वास गर्ने पार्टी हो । पार्टीभित्र रचनात्मकरुपमा विरोध गर्न पाइन्छ । तर, त्यसको अर्थ कुनै वैचारिक आधारविनै अनावश्यक लान्छना लगाउनु अलोकतान्त्रिक र एकांकी चरित्र हो ।

कतिपय युवा नेताहरु पार्टी सुधार गर्ने ठूलो कुरा गर्छन् । तर, उनीहरुले पार्टीलाई वैचारिकरुपमा समयसापेक्ष बनाउने विषयमा कहिल्यै छलफल गरेका छन्् ? सांगठानिक रुपमा पार्टीलाई बलियो बनाउने के उनीहरुले कुनै प्रस्ताव पार्टीमा राखेका छन् त ? कहिल्यै छ्रैन । उनीहरु पुराना र पार्टीमा लामो समय सर्घष गरेका नेताहरुलाई अवकाश दिएर आफू त्यो पदमा बस्न पाउनुपर्छ भन्ने ‘सेल्फ सेन्ट्रिक’ मनोविज्ञानबाट ग्रसित छन् ।

जुम र फेसबुकमा दिनहँुजसो कांग्रेस र कांग्रेस महाधिवेशनका विषयमा हुने छलफलमा पार्टीको नीतिका विषयमा कसैले पनि विचार राखेको देखिँदैन । पार्टी विचारमा निखार ल्याउनुपर्छ भनेर बोल्ने एकजना पनि देखिँदैन । खालि, एकले अर्कालाई गाली गर्ने र ‘मै हुँ राम्रो’भन्ने बाहेक ती छलफल कुनै पनि उपलब्धिमुलक छैनन् । यस्तो बहसले पार्टीलाई मजबुत होइन, झन कमजोर बनाउँछ ।

कांग्रेसको आदर्श र बिचार, ओलीले संविधान देश र जनताप्रति गरेको बेइमानी तथा विपक्षी गठबन्धनको नेतृत्व गरेर काँग्रेसले गर्न खोजिरहेको निकासको प्रयासका विषयमा आम जनमानसलाई सुसूचित गर्नुको साटो महामारीको यो मौकामा भर्चुलल फोरमहरु, क्लव हाउस, जुम, फेसबुक लाइभ, ट्विटर स्पेस लगायतबाट आफंै वक्ता, आफैं स्रोताको शैलीमा हुने यस्ता छलफलहरु निरर्थक छन् ।

पार्टी सुधार गर्छौं भन्नेहरुले ती फोरमहरुमार्फत सिर्जनशीलता आम जनतालाई दिन सक्नुपर्छ । नत्र, आफ्नो ‘हिरोइजम’ देखाउनका लागि मात्रै सोझा कार्यकर्तालाई अल्मल्याउने गरी  त्यस्ता फोरमहरु उपभोग गर्ने अधिकार उनीहरुलाई हुँदैन ।

नेपाली कांग्रेसका केही आधिकारिक निकाय, भातृसंस्था र इमान्दार नेता–कार्यकर्ता पार्टी निर्माणको सतप्रयासमा लागेको भए पनि प्रविधिमार्फत विभिन्न समूह निर्माण गरेर बहस र छलफलका नाममा छद्मभेषी स्वरुपमा विभिन्न स्वार्थ समूहहरु सल्बलाएका र स्वतन्त्रताका नाममा स्वच्छन्दता तथा विचार प्रवाहका नाममा अराजकताले प्रश्रय पाउँदैछ । यसप्रति नेतृत्व सजक हुनु जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश पौडेल
सुरेश पौडेल
लेखकबाट थप