बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना पीडितको अनुभूति : मृत्युसँग पौंठेजोरी खेल्दा

शुक्रबार, ०४ असार २०७८, ०९ : ५०
शुक्रबार, ०४ असार २०७८

करिब एक महिनादेखि कोरोना सङ्क्रमित थिएँ । मलाई सङ्क्रमण भएकै कारण भाइ प्रकाश, सालाजी तप्त र छोरा आयुषलाई पनि पोजिटिभ देखिएको अवस्था थियो । अरू सबै १०, १५ दिनमा कोरोनाबाट मुक्त भए, तर मलाई अस्पतालमा उपचार गर्दा पनि करिब ३५ दिनसम्म निरन्तर कोरोना पोजिटिभ रिपोर्ट आइरह्यो ।

करिब १ महिनाको निरन्तर ज्वरो र फोक्सोको सङ्क्रमणले मेरो स्वास्थ्य अति नै कमजोर भइसकेको थियो । करिब १ महिनाअघि रक्त क्यान्सरको उपचार किमोथेरापी सकिए पनि निरन्तर फलो अपमा थिएँ । किमोले प्रतिरोधात्मक क्षमता घटाएकाले औषधिले काम नगरेको डाक्टरको भनाइ थियो । तर, पनि आत्मबल बलियो बनाइराखेको थिएँ ।

अल्का अस्पतालमा भर्ना भएर १५ दिनपछि घर फर्किएको २ दिन मात्र भएको थियो । देशभर कोभिड सङ्क्रमण भयावह बन्दै गयो । दैनिक हजारौँ सङ्क्रमित हुने र सयको हाराहारीमा मृत्यु हुँदै गएका बेला काठमाडौँका कुनै अस्पतालमा भर्ना हुन बेड खाली थिएनन् । मैले अस्पताल भर्नाका लागि बेडको व्यवस्था गरिदिन सबैसँग टेलिफोनमार्फत अनुनय विनय गरेँ ।

समकक्षी साथीदेखि आफूले चिनेको सबै नेताहरु, पत्रकार महासङ्घका अगुवा साथीहरुसँग ‘धेरै गाह्रो भयो कुन अस्पतालमा हुन्छ भर्नाको व्यवस्थामा सहयोग गरिदिनुपर्यो’ भनिरहेँ । सबैले कतै पाइन्छ कि सोधखोज गरेर खबर गर्छु भन्ने जवाफ दिइरहेका थिए । तर कतै पनि बेड नपाएपछि मलाई ज्वरो बढ्दै थियो । ज्वरो १०३ सम्म पुगिसकेको थियो । म आत्तिन थालेँ ।

मैले ओम अस्पतालका डाक्टर बजरङ्ग रौनियारलाई फोन गरेर बेड मिलाई दिन आग्रह गरेँ । रौनियारले बेड त खाली छैनन् तर आएर छातीको डाक्टरलाई चेक गराउनुहोस् र कोभिट इमर्जेन्सीमा गएर बस्नुहोस् भन्ने सल्लाह दिनु भयो । म ओम गएर र छातीको विशषेज्ञलाई चेक गराउदा उहाँले भर्ना गरेर नै उपचार गर्ने केस हो तर बेड खाली नै छैन भन्नुभयो । ओमको कोभिड इमर्जेन्सीमा जाँदा सङ्क्रमितहरुले भरिएर पाइला टेक्ने ठाउँ थिएन ।

हामी निरास हँुदै काठमाडौँका सबै अस्पताल आफै चाहार्ने निष्कर्षमा पुग्यौँ । मलाई ज्वरो बढ्दै थियो । उपचार पाइने आशाहरु टुट्दै थिए । त्यत्तिकैमा एमाले नेता भीम रावललाई फोन गरेर आफूलाई गाह्रो भएकाले कतै कुनै अस्पतालमा बेड खाली छभने मिलाइदिन आग्रह गरेँ । उहाँले टिचिङमा डा. निरज बमसँग कुरा गरेको छु, त्यहाँ जानुहोस् भन्नुभयो ।

ट्याक्सी हुइँक्याउँदै हामी टिचिङ पुग्यौँ ।  तर टिचिङको हालत देखेपछि मन झन् विक्षिप्त भयो । इमर्जेन्सीमा  ठाउँ नभएर बाहिर बरन्डामा सयौँ मान्छे आधा मिटरको म्याटमा एक थान अक्सिजन सिलिन्डरबाट त्यान्द्रो पाइप नाकमा राखेर बसेका भयानक दृश्य देखियो ।  संविधानले यो देशका नागरिकलाई सार्वभौम भन्छ । सरकार गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गर्न जहिले पनि रमाउँछ । आफूसँग त पीडा थियो नै, ज्वरो उकालो लाग्दै थियो । शरीर शिथिल हुँदै थियो । मुटुको धड्कन बढ्दै थियो । उपचार पाउने आशा झिनो बन्दै थियो । राजधानीजस्तो सुविधा सम्पन्न ठाउमा छु । बाँचौँला भन्ने जो आशा थियो, त्यो झिनो बन्दै थियो ।

जिल्ला र गृहनगरबाट कोरोनाले मान्छे मरेका खबर सामाजिक सञ्जालमा आइरहँदा आत्मबल कमजोर हुँदै थियो । आफ्नो त यस्तो दुर्दशा थियो नै तर टिचिङमा सङ्क्रमित बिरामीको हालत देख्दा मन अमिलो मात्र भएन, डर पनि लाग्यो । यो देशले महामारी थेग्दैन जस्तो लाग्यो । आम नागरिकको त्यस्तो दयनीय अवस्था देख्दा हाम्रो मुलुकको समग्र स्वास्थ्य क्षमताको झलक दिन्थ्यो ।

देशको सबैभन्दा ठूलो र नाम चलेको टिचिङमा त यस्तो अवस्था छ भने दूरदराजका बस्तीमा अब बिरामी कसरी उपचार पाउलान् ? यो प्रश्न अहम् बनेर मनमा खेल्न थाल्यो । त्यहाँ मैले भर्ना पाउने त कुरै छोडौँ पाइला टेक्ने पनि अवसर पाइनँ । हामी निरास भएर अर्को अस्पताल चहार्न हिँड्यौँ ।

अल्का अस्पतालमा मलाई उपचार गर्ने छाती रोग विशषेज्ञ डा. विदेश विष्टलाई कतै भर्नाको व्यवस्था गरिदिन बिहानैदेखि फोन गरिरहेको थिएँ । उहाँलाई फेरि फोन गरेर फेरि आग्रह गयौँ । उहाँले सिभिलमा जानुहोस् म केही उपाए गरौँला भन्ने आश्वासन दिनुभयो ।

हामी ठूलो आशा र आशङ्का बोकेर सिभिल हस्पिटल पुग्यौँ । सिभिलमा बस्दैगर्नुहोस्, एकजना डिस्चार्ज भए भने जनरल बेड खाली हुन्छ, त्यहीँ व्यवस्था गरौँला भन्ने आश्वासन मिल्यो । दिनभरि भर्नाका लागि बेडको खोजी भइरहेको थियो । धेरै मान्छे खोजीमा थिए । त्यसअन्तर्गत मेरा मित्र द्वारिका न्यौपाने निरन्तर खटिरहनुभएको थियो । उहाँ त्यहीँ पुग्नुभयो ।

ज्वरो बढ्दै थियो । ज्वरो नाप्ने थर्मोमिटर पनि मसँग थिएन । अस्पतालमा भर्ना हुन अझै २ घण्टा लाग्ने भनियो । बाहिर बस्दा मित्र द्वारिकासँगको कुराकानीले ज्वरोको पीडा बिर्सिन थालेको थिएँ तर ज्वरो भने बढ्दै थियो । बल्ल  बेलुकी ६ बजेतिर भर्ना गरियो । तर लामो समयसम्म कोही पनि डाक्टर आउँदैनन् । नर्सहरु आउँछन् तर, कोरोनाका डरले परै उभिन्छन् ।

ज्वरो १०४ पुगिसकेको छ । सिटामोलले नियन्त्रण नै नहुने । डाक्टरले औषधि नचलाई हामीले दिन मिल्दैन भन्ने कुरा नर्सहरु गर्छन् । त्यो शुक्रबारको दिन थियो । राति अबेरसम्म पनि सिटामोलले ज्वरो नियन्त्रण नहुने भएपछि नर्सहरुले पानी पट्टी गर्न भन्छन् । जीवनसङ्गिनी राधा निराश हुँदै पानी पट्टी गर्छिन् । उनको आँखामा निराशाका आँशु छचल्किएको देख्दा मन झनै अमिलो भएर आउँछ ।

राति १२ बजेसम्म पानी पट्टी गर्दा पनि ज्वरो नियन्त्रणमा आएन । ज्वरो नियन्त्रणभन्दा बाहिर गएपछि मेरो स्मरण शक्ति कमजोर हुन थाल्यो । के बोल्थेँ मलाई नै थाहै थिएन । कसैलाई गर्दा पनि कता फोन गरेँ के गरेँ थाहा हुँदैनथियो ।

मलाई झनै गाह्रो हुन थाल्यो । राधाले साला तप्त र निराजनलाई बोलाइछन् । मेरो मोबाइल थुतेर स्विचअफ गरिएछ । राधाले भाइ प्रकाशलाई घरमा खबर गरिछन् । प्रकाश एम्बुलेन्लेन्स लिएर कैलालीबाट हिँडेछन् ।

यी सबै घटना धेरै दिनपछि मात्रै थाहा पाएँ । भाइ प्रकाश १२ घण्टापछि अस्पताल पुगेको सामान्य सम्झना छ । भेट भएपछि मैले उनलाई ‘बाचिन्न होला, लास लिएर जानू’ भनेको सामान्य सम्झना छ ।

चारदिनको सिभिलको बसाइमा मलाई अहिले पनि कुनै स्मृति छैन । सिभिलले घर पठाइदियो । सायद कसैका लागि बेड खाली गर्नुपर्ने थियो ।

कोठामा आउँदासम्म पनि कुनै सुधार थिएन । ज्वरो आइरहेको थियो । कोरोनाको उपचारका क्रममा अस्पताल बसाइ यो दोस्रो थियो । भाइ प्रकाशले मलाई पछिल्लो दिन फेरि डा. विदेश विष्टलाई भेट्न अल्का अस्पताल लगेछन् । त्यो दिन पनि मलाई ज्वरो आइरहेको थियो । अर्ध होसमा थिएँ ।

उहाँले फेरि एक पटक पीसीआर गरौँ भन्नुभयो । यसअघि करिब डेढ महिनाको अवधिमा मैले ३ पटक पीसीआर गर्दा पोजिटिभ नै देखिएको थियो । पीसीआर त गरियो तर अल्का अस्पतालमा भर्नाका लागि बेड खाली नै थिएन । म अत्यन्तै कमजोर भएको थिएँ । भाइले साँझ पीसीआर नेगेटिभ आएको खबर गरेको थियो । तर स्वास्थ्य अत्यन्तै नाजुक भएकाले मैले त्यसलाई धेरै चासोका साथ लिएको थिइनँ ।

विगत ६ महिना डा. विशेष पौडेलसँग नै रक्त क्यान्सरको उपचार गराएको थिएँ । अनि ज्वरो त्यही उपचारका कारण आएको हो कि भनेर डाक्टरहरुले सुरुमा नै आशङ्का गरिरहेका थिए । त्यसैले नै होला भनेर डा. विदेश विष्टले मलाई डा. विशेष पौडेलले हेर्ने गरी जाउलाखेलमा रहेको ब्लड हस्पिटलमा भर्ना हुन सुझाव दिनुभयो । ब्लड हस्पिटलमा पहिले पीसीआरको रिपोर्ट हेरेर कुरुवाको पनि पीसीआर गराएर नेगेटिभ आएपछि मात्रै भर्ना गर्दो रहेछ । कुरुवाका रूपमा बस्ने जीवन सङ्गिनी राधा र भाइ प्रकाशको पीसीआर रिपोर्ट आउन १ दिन लागेकाले मलाई पहिलो दिन आईसीयूमा राखियो । डाक्टरले उपचार सुरु गरे । तर, औषधि जति दिँदा पनि ज्वरो आइ नै रह्यो । त्यहाँ सम्पूर्ण परीक्षण गर्दा पनि केही पत्ता लागेन ।

उपचारमा संलग्न डाक्टरहरु पनि हैरान भए । सो क्रममा डाक्टर विशेष पौडेलले मलाई हालसालै उपचार गरिएको सीएलएल (रक्त क्यान्सर) नयाँ रूपमा फर्किएको आशङ्का गरेर बोनम्यारो परीक्षण पनि गर्नुभयो । मेरो हेमोग्लोबिन घटेर ४ मा झरेको थियो । खानाखाने मन पटक्कै थिएन । अत्यन्तै नाजुक अवस्थामा बोनम्यारो बायोप्सीको रिपोर्ट नर्मल आयो । यसले मलाई थोरै राहत महसुस भयो । कम्तीमा पहिलेको रोग त फर्किएको रहेनछ भन्ने लाग्यो ।

त्यहाँ हामी २३ दिन भर्ना भयौँ । डा. विशेषले मलाई फोक्सोको सङ्क्रमण घटाउन इन्फो भन्ने इन्जेक्सन चलाउनुभयो । १८ दिनसम्मको सो उपचारले फोक्सोको सङ्क्रमण अलि घटे पनि ज्वरो भने निरन्तर आइ नै रह्यो । आखिर जुनसुकै औषधि चलाउँदा पनि सुधार नभएपछि चिकित्सकहरु स्टोराइज औषधि चलाउने निष्कर्षमा पुगे । स्टोराइजका धेरै ‘साइड इफेक्ट’ हुने रहेछ । सुगरको मात्रा अध्यधिक बढ्ने, जिउ फुल्ने, थकाइ लाग्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने हुँदोरहेछ ।

स्टोराइजको सेवनपछि ज्वरो घट्यो र मलाई ३, ३ दिनमा फलो अपमा रहने गरी अहिले कोठा पठाइएको छ । जीवनमा बिरामले यति धेरै दुःख पाइएको सम्झना छैन । मनोबल उच्च राखेर नै रक्त क्यान्सरको उपचार सफल भएको हो । यो उपचारका क्रममा कयौँ पटक मृत्यु आँखै अगाडि नाचेको देखियो । बाँच्ने आशा थुप्रै पटक गुमाइयो ।

जीवनमा जन्मसँगै मृत्यु जोडिएर आएको हुन्छ । तथापि यो सास्वत सत्य स्वीकार्न धेरै मान्छे तयार हुँदैनन् । कोरोना भाइरसको सङ्क्रमण पहिलो लहरलाई धेरैले खेलाँचीका रुपमा लिए । मैले पनि कोरोना सङ्क्रमणलाई खासै महत्त्व दिएको थिइनँ । तर, आफैँ सङ्क्रमण भएपछि मृत्युको नजिकै पुगियो । अनि लाग्यो यो प्राणघातक हो । अहिले पनि  अलि शरीर जुरजुर हँुदा फेरि फर्किन्छ कि भन्ने डर लाग्छ । सबै सङ्क्रमण ठीक भइसकेका छैनन् । डाक्टरको सल्लाहअनुसार कोठाभित्र मात्रै बसिरहेको छु ।

 अन्त्यमा, मेरा सबै इष्टमित्रलाई आग्रह छ, मैले पाएको दुःख तपाईंहरु कसैले नपाउनुहोला । कोरोना सङ्क्रमणप्रति सचेत हुनुहोला । सङ्क्रमण भइहालेमा बेलैमा उपचार गर्नु होला । कोरोना अत्यन्त घातक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मातृका तिमिल्सेना
मातृका तिमिल्सेना
लेखकबाट थप