शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा कारोबार उच्च हुँदा लगानीकर्ताभन्दा ब्रोकरको कमाइ बढी

इन्टरनेट र डिभाइस लगानीकर्ताकै तर कमिसन चाहिँ ब्रोकरलाई ?
शुक्रबार, ०४ असार २०७८, ०८ : १७
शुक्रबार, ०४ असार २०७८

निषेधाज्ञासँगै सेयर बजारमा अनलाइन कारोबार बढ्न थालेको छ । लगानीका अरू विकल्पलाई निषेधाज्ञाले असर गरिरहेको अवस्थामा सेयर बजारमा औसत १७ अर्बसम्मको कारोबार हुने गरेको छ । अनलाइन कारोबार भए पनि ब्रोकरको कमिसन भने लगानीकर्ताले तिरिरहेका छन् । औसत १७ अर्बको कारोबारलाई आधार मान्दा लगानीकर्ताले कमिसन रकमको रूपमा औसतमा दैनिक १२ करोड रुपैयाँसम्म तिर्ने गरेका छन् । लगानीकताले तिरेको यो रकम ब्रोकर मात्र होइन, नेप्सेले पनि पाउँछ । अर्को सीडीएससी, बोर्डले पनि कमिसन पाउँछन् ।

यति ठूलो रकम तिर्नु परेपछि लगानीकर्ताहरु ब्रोकरलेस कारोबार हुनुपर्छ भन्ने पक्षमा छन् भने नेपाल स्टक एक्सचेन्ज तत्काल ब्रोकरलेस कारोबार गर्न सम्भव नभएको बताउँछ ।

इतिहासकै उच्च कारोबार भएको दिन (१९ अर्ब ४२ करोड ३४ लाख ५८ हजार सात सय ६८ कारोबार) ब्रोकरहरुले पनि उच्च कमिसन (१३ करोड ५९ लाख ६४ हजार २ सय ११) पाएका थिए । जति बढी कारोबार हुन्छ उति बढी धितोपत्र दलाल व्यवसायीले कमिसन रकम पाउने गर्छन् ।

कुल कारोबार रकममा किन्दा र बेच्दा दुवैपटक लगानीकर्ताले कमिसन तिनुपर्ने हुन्छ । यसकारण कुल कारोबार रकमलाई २ ले गुणन गरी ब्रोकर कमिसनको औसत आधार मान्ने र जति आधार मानिन्छ त्यसले भाग गर्दा आउने रकम कमिसन बापतको रकम हो ।

इन्टरनेट र डिभाइस लगानीकर्ताकै तर कमिसन चाहिँ ब्रोकरलाई ?

सबै कारोबार अनलाइनबाटै हुन थालेसँगै किन ब्रोकरलाई कमिसन तिर्ने भन्ने आवाज पनि लगानीकर्ताले पटक पटक उठाउँदै आएका छन् । ब्रोकरलेस कारोबारको माग अनलाइन कारोबार सुरु भएसँगै भएको हो ।

विगत २० वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका सक्रिय लगानीकर्ता कमलराज खरेल अनलाइन कारोबारका लागि इन्टरनेट आफ्नै, मोबाइल वा कम्प्युटर डिभाइस आफ्नै तर लगइन पासवर्ड लिएबापत प्रत्येक कारोबारमा कमिसन तिर्नुपर्ने भन्दै प्रतिप्रश्न गर्छन् । नियामकहरु दुखै नगरी कमिसन खान पाउने भएपछि आफूले इनिसिएसन लिन नचाहेको उनको आरोप छ ।

अहिले लगानीकर्ताले सेयर कारोबार गर्दा कुनै न कुनै ब्रोकरको माध्यमबाट मात्रै गर्नुपर्छ । कानुनी रूपमै ब्रोकरमार्फत मात्र कारोबार गर्न पाइने व्यवस्था छ । ब्रोकररहित सेयर कारोबार कार्यान्वयनमा आयो भने लगानीकर्ताले ब्रोकरलाई मध्यस्तकर्ता राख्नुपर्ने जरुरी हुँदैन । लगानीकर्ताले कारोबारका लागि आफूलाई आवश्यक पर्ने लगइन र पासवर्ड सोझै नेप्सेबाट लिन सक्नेछन् । अहिले अनलाइनबाटै कारोबार भए पनि ब्रोकरहरुले ०.२७ देखि ०.४० प्रतिशतसम्म कमिसन लिन पाउने व्यवस्था छ । पछिल्लो समय टे«ड म्यानेजमेन्ट सिस्टममार्फत (टीएमएस) कारोबार गर्नेहरु निकै बढेका छन् । यस अवधिमा झण्डै सात लाख अनलाइन प्रयोगकर्ताहरु पुगेको नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

ब्रोकरलेस कारोबार तत्काल सम्भव छैन, अध्ययन गर्दैछौँ : नेप्से

ब्रोकरलेस कारोबार तत्काल व्यावहारिक र सम्भव नभएको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले बताए । यद्यपि यसको सम्भावना बारे अध्ययन भइरहेको उनको भनाइ छ ।

ब्रोकर कम्पनीहरुले टीएमएस प्रयोग गरेको शुल्क अहिले तिर्नु नपरे पनि शुल्क लाग्ने गरी आफूहरुले नीति बनाएर बोर्डमा पठाएको पराजुलीले बताए ।

 हरेक एक लगानीकर्तासँग डिल गर्न सहज नभएकाले ब्रोकर चाहिने र ब्रोकरले जोखिम व्यवस्थापन गर्ने नेप्सेको धारणा छ । विकसित देशहरुले पनि ब्रोकरलेस कारोबार गर्न नसकेको नेप्सेको तर्क छ । टीएमएस लिनका लागि न्यूनतम पनि मासिक ६५ हजार तिर्नुपर्ने गरी नेप्सेले व्यवस्था गर्न लागेको छ । बोर्डले पास गरेपछि ब्रोकरसँग नेप्सेले शुल्क लिन थाल्नेछ । यसलाई पटक पटक मर्मत सम्भार गर्नुपर्ने हुन सक्छ । त्यसका लागि पनि खर्च लाग्छ ।

पराजुली भन्छन्, ‘मानाैँ खोटाङको एउटा लगानीकर्ताले सेयर किन्नका लागि अर्डर गर्यो तर पछि उसले पैसा भुक्तान गरेन भने उसलाई खोटाङ गएर कसरी समात्ने ? हो यस्तै केश आउन नदिन ब्रोकर चाहिएको हो । ताकि त्यस्ता जोखिम व्यवस्थापनको जिम्मेवारी ब्रोकर नै होऊन् भनेर ।’

लगानीकर्ताहरूले अनलाइन कारोबारमा लाग्ने लागतको विषय नबुझेर ब्रोकरलेस कारोबार हुनुपर्छ भनेर आवाज उठाएको पराजुलीको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप