बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता

बिहीबार, ०३ असार २०७८, २२ : २२
बिहीबार, ०३ असार २०७८

मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावा हुरीका कारण मुलुकका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपरान्हसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक–एक जनाको मृत्यु भएको हो । 

यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क विहिन छन् । भारी वर्षा र हावा हुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उपचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एकरएक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको जनाइएको छ । अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप