बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

ओलम्पिकको आश, निषेधाज्ञामा निरन्तर प्रशिक्षण

बिहीबार, ०३ असार २०७८, १५ : ०७
बिहीबार, ०३ असार २०७८

टोकियो ओलम्पिक खेल्न पाउने आशमा गत पुसदेखि भारत्तोलनका दुई खेलाडी निरन्तर प्रशिक्षणमा छन् । पछिल्लोपटक २००८ मा भारोत्तोलन खेलाडी कमल अधिकारीले बेइजिङ ओलम्पिकमा नेपालबाट प्रतिस्पर्धा गरेका थिए । २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा नेपालले भारोत्तोलनमा सहभागिता जनाउन पाएन ।

तर, यसपटक वाइल्ड कार्डमार्फत नेपालले सहभागिता जनाउन पाउने आश अझै बाँकी छ । त्यहीकारण नेपाल पुलिसकी सन्जु चौधरी सेनाकी कमला श्रेष्ठ निरन्तर प्रशिक्षणमा खटिरहेका छन् । भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनका अनुसार दैनिक झन्डै ३ घण्टासम्म प्रशिक्षण हुने गरेको छ । खेलाडीहरूका लागि नेपाल भारोत्तोलन संघले नियमित प्रशिक्षणको प्रबन्ध गरेको हो ।

इतिहास रच्ने मौका

प्रतियोगितामा छनोट भएमा यी खेलाडीहरूले ओलम्पिक खेल्ने पहिलो महिला भारोत्तोलकका रुपमा  इतिहास कोर्नेछन् । नेपाल ओलम्पिक कमिटीले नै छात्रवृत्ति उपलब्ध गराएर उनीहरुलाई प्रशिक्षणका लागि प्रोत्साहित गरिरहेको छ ।

५९ केजी तौल समूहमा सन्जु चौधरीले नेपालमै आयोजना भएको दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । उनी उज्वेकिस्तानमा भएको एशियन च्याम्पियनसिपमा आठौं भइन् । त्यस्तै, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी स्वर्ण विजेता कमला श्रेष्ठ यस प्रतियोगितामा ६४ केजी तौल समूहमा सातौं भएकी थिइन् । उज्वेकिस्तान जानुअघि उनीहरुले पोखरामा बन्द प्रशिक्षण गरेका थिए भने उज्वेकिस्तानमा पनि प्रतियोगिता खेल्नुअघि तीन साता प्रशिक्षण गरेका थिए । ‘यी खेलाडीहरु निकै प्रतिभावान छन् र यसपटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाउनेछन् भन्ने विश्वास छ,’ प्रशिक्षक महर्जनले भने,‘उनीहरुले निरन्तर यसरी नै प्रशिक्षणलाई नियमित राखेमा भविष्यमा राम्रो नतिजा ल्याउन सक्छन् । ओलम्पिकमा सहभागी हुन पाए त्यस अनुभव अन्य प्रतियोगिताका लागि काममा आउनेछ ।’

ओलम्पिक छनोटको प्रक्रिया 

ओलम्पिकमा पुरुषतर्फ ७ र महिलातर्फ ७ गरी कुल १४ वटा क्याटागोरीमा प्रतिस्पर्धा हुन्छ । यसअन्तर्गत प्रत्येक क्याटागोरीमा १४ खेलाडीले भाग लिन पाउँछन् । त्यसमा हरेक तौल समूहमा शीर्ष वरीयताको ८ भित्र पर्ने खेलाडी सोझै छनोट हुन पाउँछन् । तर, एउटा क्याटागोरीमा एक देशका एक खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यदि कुनै एकै देशका दुई खेलाडी शीर्ष ८ भित्र परेका छन् भने नवौं हुने खेलाडीले मौका पाउनेछन् ।

त्यस्तै, प्रत्येक महादेशबाट एकजना खेलाडी हरेक क्याटागोरीमा छानिनेछन् । त्यस्तै, महिलातर्फ ३ र पुरुषतर्फ ३ जना खेलाडीका लागि आयोजकको कोटा सुनिश्चित हुन्छ । यो छनोट पूरा भइसकेपछि बाँकी रहेको संख्याका लागि खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागी गराइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप