बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा

बिहीबार, ०३ असार २०७८, १५ : ००
बिहीबार, ०३ असार २०७८

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउलगायत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

 गत सोमबार आएको बाढीले मनाङको चामेबजार, नासो गाउँपालिकाको तालगाउँ लगायतका आधा दर्जन भन्दा बढी ठाउँमा क्षति पुर्याएको छ । बुधबार मर्स्याङ्दी नदीमा आएको बाढीले धारापानी बाथोचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल र सीमा प्रहरी चौकीको भवन समेत बगाएको थियो  । मनाङमा बाढी पहिरोबाट एक हजारभन्दा बढी नागरिक विस्थापित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीले जिल्लाभरका करिब पाँच दर्जन घरमा क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा बाढी पहिरोले पाँचवटा झोलुङ्गे पुल, तीनवटा काठे पुल र एउटा बेलिब्रिज बगाएको छ ।

मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको थियो । त्यसैगरी मुख्यमन्त्री पोखरेलले जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्व तयारीमा रहन निर्देशन दिएका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप