शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरको नीति : ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाइने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट

बिहीबार, ०३ असार २०७८, १४ : ५३
बिहीबार, ०३ असार २०७८

काठमाडौं महानगरपालिकाले ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रुमैत्री बनाउने भएको छ । ‘महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय सम्पदाहरुको पहिचान र डिजिटल माध्यमबाट अभिलेखीकरण गरी यस्ता स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरिनेछ,’ महानगरको आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा भनिएको छ, ’ ‘पशुपतिनाथ लगायत दर्शनार्थीहरुको धेरै चाप हुने धार्मिक स्थलहरुका सरोकारवालाको सहयोगमा दर्शनका लागि पंक्ति ब्यबस्थापन प्रणाली व्यवस्था गरिनेछ । पर्यटनःआर्थिक समृद्धिमा पर्यटन भन्ने मूलमन्त्रलाई आत्मसात गरी पर्यटन प्रवद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, संवद्र्धन र बिस्तारमा जोड दिने नीति लिइनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिनेछ । उपत्यकाका विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरू जोड्ने गरी विद्युतीय हप अन हप अफ बस सञ्चालन गरिनेछ ।’ 

विद्युतीय सवारी करमा शतप्रतिशत छुट  
नीति तथा कार्यक्रममा नेपाल सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ । ‘सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाह गर्ने व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । 

नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरिएको छ । 
नीति तथा कार्यक्रममा नेपाल सरकार, प्रदेश सरकार र काठमाडौं उपत्यकाका स्थानीय तहहरूसँगको सहकार्यमा सडक सुरक्षा कार्ययोजना तर्जुमा गरी सडक प्रयोगकर्ताहरूलाई सडक सुरक्षा मापदण्डले निर्दिष्ट गरेका उपायहरूको अवलम्बन गर्न अभिप्रेरित गर्ने, महानगरपालिकाको बौद्धस्थित नवनिर्मित वारुणयन्त्र भवनलाई सुविधा सम्पन्न बनाई स्थानीय विपद व्यवस्थापन तथा तालिम केन्द्रको रुपमा स्तरोन्नति गरिने पनि उल्लेख छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप