नीतिकथा : बालक ध्रुवले कसरी ध्रुवलोक पाए
‘ओर्ली ! ओर्ली ! ओर्लिहाल् ! तैँले महाराजको काख पाउँदैनस् ।’ बाबु उत्तानपादको काखमा बस्न गएका ध्रुवलाई कान्छी आमा सुरुचिले गलत्याउँदै भनिन्–
‘बाबुको काख पाउन मेरो कोखबाट जन्मनुपर्थ्यो । जन्मने बेला उहाँलाई मन नपर्ने जेठीको कोखबाट जन्मने अनि अहिले आएर काखको अधिकार खोज्ने ? सात जन्मसम्म त्यो अधिकार पाउँदैनस् बुझिस् । बाबुको काख ताक्ने भए मेरो कोखबाट जन्मेर आउनुपर्छ ।’
कान्छी आमाको कुरा सुनेर ध्रुव छक्क परे । बाबुले केही भन्छन् कि भनेर उनको मुखमा हेरे तर उनले पनि एक शब्द बोलेनन् । न सुनेको जस्तो गरी हेरी मात्र रहे । उनले कान्छी महारानीलाई यसरी टाउकोमा चडाएर राखेका थिए कि, जसको बिरुद्ध जाने हिम्मत उनमा थिएन ।
त्यसपछि बालक ध्रुवले रुँदै आमा सुनीतिको पासमा गएर भने–
‘आमा ! कान्छी आमाले भन्नुभएको मैले बाबाको काखमा बस्न पाउँदिन रे हो ? भाइ उत्तम (कान्छी आमाको छोरा, जो उनीभन्दा केही कान्छा थिए) बाबाको काखमा बसेको देखेर गएको थिएँ तेरो अधिकार छैन भन्दै गलत्याइन् ।’
छोराको कुरा सुनेर आमा सुनीतिलाई नरमाइलो लाग्यो । उत्तर उनीसँग पनि थिएन । महाराज उत्तानपादको जेठी महारानी भएर पनि दरवारभित्रै एक किसिमले दासीको जस्तो जीवन व्यतीत गर्दै आएकी थिइन् । उनले सुक्कसुक्क गर्दैै भनिन्–
‘भयो बाबु ! छाडिदेऊ । तिम्रोे कान्छी आमाको स्वभाव नै त्यस्तै छ । उनको कुरा सुनेर चित्त न दुखाऊ ।’
आमाको कुरा बुझ्न नसकेर ध्रुवले अकमकाउँदै भने–
‘...तर बाबाले त त्यस्तो नगर भन्नुपर्ने हो नि ? किन उहाँले पनि नदेखेको जस्तो गर्नुभएको त आमा ?’
बिचरी सुनीति धर्मसङ्कटमा परिन् । सानै थिए, अबोध थिए । के भनेर सम्झाउने पाँच वर्षका बालक छोरालाई । तैपनि सम्झाउने प्रयास गर्दै भनिन्–
‘कुरो अर्कै छ बाबु तिमी बुझ्दैनौ । ठूलो भएपछि आफैँ बुझ्दै जानेछौ । अहिलेलाई यति बुझ बाबाको काख नपाउँदैमा के फरक पर्छ र । मानिसले फरक गर्दैमा केही हुँदैन । भगवान्ले त्यस्तो नगरुन्, वश त्यति भए पुग्छ ।’
आमाको कुरा सुनेर ध्रुव थप अलमलमा परे । बालोचित व्यवहार प्रस्तुत गर्दै भने–
‘तपाईँले भन्नुभएको भगवान् को हो आमा ?’
‘उनी भनेका हामी सबैको बाबा र आमा दुवै हुन् बाबु ! सबैको भलो गर्छन्, कल्याण गर्छन्, दीनदुखीलाई सहयोग गर्छन् ।’
‘त्यसो भए कहाँ बस्छन्, कहाँ छन् नि ?’
‘जहाँ पनि बस्छन्, जहाँ पनि छन् बाबु !’
‘जहाँ पनि भए किन देखिँदैनन् त ?’
‘खोज्नुपर्छ देखिन्छन्, फेला पर्छन् !’
‘खोज्नलाई के गर्नुपर्छ नि आमा ?’
‘तपस्या गर्नुपर्छ बाबु !’
‘अनि त्यो तपस्या भनेको के हो र कसरी गर्ने हो तपाईँलाई थाहा छ ?’
‘गाह्रो छ बाबु ।’
‘किन मैले गर्न सक्दिन र ?’
‘सानै छौ, सक्दैनौ ।’
‘गह्रौँ हुन्छ हो ?’
‘गह्रौँ त हुँदैन ।’
‘त्यसो भए बिदा दिनुस्, अहिले नै तपस्या गर्न जान्छु ।’
‘त्यसै भन्छौ भने जान सक्छौ, मेरो आशीर्वाद तिम्रो साथमा छ । सफलता मिलोस् ।’
आमाको आज्ञा लिएर ध्रुव तपस्या गर्न जङ्गलतर्फ लागे । उनको मनमा भगवानलाई पाएरै छाड्छु भन्ने अठोट थियो । उनी कान्छी आमाको वचनबाट नराम्ररी घाइते बनेका थिए । जसरी भए पनि उनको मेख मारेरै छाड्छु भन्ने निधो गरेका थिए ।
ध्रुवको अवस्था देखेर नारदजीलाई दया लाग्यो र परीक्षा गर्ने विचार गर्दै आएर भने–
‘ए बाबु ! पख पख ! कता हिडेँका जङ्गलमा एक्लै यसरी ?’
‘तपस्या गर्न हिँडेको, के तपस्या गर्न पनि साथी चाहिन्छ र ?’
‘साथी त चाहिन्न तर पहिले यो त बताऊ कसको तपस्या गर्ने विचार गरेका छौ ?’
‘भगवान्को नि अरु कसको ।’
‘गाह्रो हुन्छ तपस्या गर्न, सानै छौ, सक्छौ त ?’
‘गह्रौ भारी उचाल्नुपर्ने हो र नसक्ने ?’
‘गह्रौ हुन्छ भन्ने खोजेको होइन । नियममा त बस्नुपर्छ नि ।’
त्यो त कुन ठूलो कुरा भयो र ।’
‘एक्लै छौ, जङ्गलमा बाघभालुको डर हुन्छ, के गर्र्र्छाै ?’
‘कहाँ एक्लो छु ।’
‘को छ त साथमा ?’
‘आमाको आशीर्वाद छदैछनि ।’
ध्रुवको कुरा सुनेर नारदजी खुसी भए । मार्गदर्शन गराउनु उपयुक्त लाग्यो र सम्झाउँदै भने–
‘ठीकै छ त्यसो भए रोक्दिन तर तपस्या किन गर्न खोजेका हौ त्यो चाहिँ बताउनुपर्छ ।’
‘किनकि मलाई भगवानसँग कान्छी आमाको मेख मारेर बाबुको काखमा पाउने आशीर्वाद माग्नु छ ।’
‘के बदला लिन खोज्दै छौ ?’
‘हो, त्यस्तै बुझ्नुस् ।’
‘त्यसो भए कान्छी आमा र तिमीमा के फरक भयो र ?
‘उनले गरेको अपमान पनि सहेर बसुँ त ।’
‘होइन, त्यसो होइन ।’
‘के हो त ?’
‘यसबाट बढी भए बाबुको काखसम्म पाइएला त्यस्तै परे त्यो पनि कुन्नि तर सट्टामा भगवान्लाई नै माग्यौ भने सबैथोक पाउन सक्छौ ।’
‘ओ हो ! त्यसो हो भने त्यसै गर्छु, मार्गदर्शन पाऊँ ।’
त्यसपछि नारदजी ध्रुवलाई तपस्या गर्ने स्थान र तरिका बताएर आफ्नो बाटो लागे । उनी सोही अनुसार तपस्या गर्न थाले । उनको तपस्याबाट भगवान् सन्तुष्ट भई आएर वरदान माग्न आग्रह गरे । उनले नारदले बताए अनुसार हजुरलाई पाउन चाहन्छु भने । त्यसपछि भगवान् मलाई मात्र होइन बाचुन्जेल राज्यसुख भोग गरी मरेपछि ध्रुवलोकमा गएर बस्न पाउने छौ भन्ने आशीर्वाद दिएर आफ्नो लोकतिर लागे । यसैका कारण उनले लामो समयसम्म बाबुको राज्य गर्ने अवसर मात्र पाएनन् आयु सकिएपछि ध्रुवलोकमा गएर बस्ने अवसरसमेत पाएका थिए । भनिन्छ, अहिले पनि उनी आकाशमा ध्रुव ताराको नामले जीवित छन् ।