बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा गोली प्रहार गरी सुनचाँदी पसलमा लुटपाट, ५ जना घाइते

बिहीबार, ०३ असार २०७८, १० : १३
बिहीबार, ०३ असार २०७८

महोत्तरीमा गोली प्रहार गरी लुटेराहरूको एक समूहले गोली प्रहार गरी लाखौं लुटपाट गरेका छन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा  हातहतियार पड्काउँदै लुटपाट गरेका हुन् ।

लुटपाटका क्रममा लुटेराहरूको समूहले चलाएको गोलीबाट राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवारका सदस्यहरु घाइते भएका छन् ।  

गाली लागेर पसल संचालक ५० वर्षीय वीरेन्द्र साह घाइते भएका छन् । उनलाई कम्मरमा गोली लागेको महोत्तरी प्रहरीले जनाएको छ । उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै लुटेराहरूले रड प्रहार गरी घाइते साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते रहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जनाएको छ ।

लुटेराहरूले रड प्रहारबाट घाइते भएकाहरुको टाउको, मुख र शरीरको विभिन्न भाग चोटपटक र गहिरो घाउ लागेको छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको जनाइएको छ ।

सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लुटेराहरूले गोली प्रहारसँगै लुटपाट समेत गरेका थिए । 

लुटेराहरू घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लुटेराहरू कटुवा पेस्तोल, फलामको रड प्रयोग गरी संचालक वीरेन्द्र साहसहित घरमा रहेका उनका श्रीमती, छोरा र छोरी माथि आक्रमण गर्दै घर भित्र रहेको नगद र गरगहना समेत लुटेर फरार भएको महोत्तरीका प्रहरी निरिक्षक रंजन मिश्रले बताए ।

उनले प्रारम्भिक जानकारी अनुसार लुटेराहरूले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । त्यस्तै नगद २ लाख रुपैयाँ समेत लुटेर लगेको महोत्तरी प्रहरीले जनाएको छ ।

संचालक साह सहित परिवारजनहरू समेत घाइते अवस्थामा रहेकाले लुटपाटको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

महोत्तरीमा लुटेराहरूको समुहले यो दोश्रो पटक आक्रमण सहित लुटपाट भएको हो । गत सातामात्रै महोत्तरीको लोहरपट्टी नगरपालिका स्थित बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीमाथि गोली हानी गम्भिर घाइते बनाएको थियो ।

गोली लागि घाइते भएका संचालक साहलाई धरानस्थित अस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जना घाइतेको उपचार जनकपुरधाममा भईरहेको महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप