बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाढीले निर्माणधिन पुल बगायो

बिहीबार, ०३ असार २०७८, ०८ : १७
बिहीबार, ०३ असार २०७८

सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए । 

प्रदेश सरकारको रु तीन करोड ५० लाखको  लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए । 

यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए । 

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप