शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

बुधबार, ०२ असार २०७८, २२ : ३२
बुधबार, ०२ असार २०७८

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ । 

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार गरी काठमाडौं र धुलिखेल ल्याइएको छ ।  यसरी उद्दार गरिएकाहरु सबैको अवस्था सामान्य रहेको छ । बाँकी रहेका सहकर्मी नभेटिएपछि उनीहरुको खोजीका लागि सबै संयन्त्रहरु परिचालित गरिएको जनाइएको छ  । 

हेडवर्क्स नजिकैको क्याम्प साइट बाढीले बगाएपछि राती देखिनै प्रहरी प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीले हराएका कामदारहरुको खोजी जारी राखेका छन्  । 

यस्तो छ खानेपानी आयोजनामा क्षति 

मेलम्ची नदीमा मंगलबार साँझदेखि आएको बाढीले आयोजनाको क्याम्पहरू, उपकरणहरु, निर्माण सामाग्रीहरु बगाएको छ । यस्तै आयोजना स्थलसम्म पुग्ने  पहुँच सडकहरू तथा पुलहरूलाई बगाएको छ । आयोजनाको मुख्य बाँध यथास्थितिमा रहेको र आयोजनाको मुख्य सुरुङ तथा पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको जनाइएको छ । 

प्रवक्ता पन्तले अहिलेसम्म क्षतिको पूर्ण बिवरण आइनसकेको बताएका छन् ।  आयोजनामा हुन गएको क्षतिले सम्पूर्ण आयोजना, निर्माण व्यवसायी, परामर्शदाता सवैलाई दुःखी बनाएको र त्यस क्षेत्रमा हुन गएको मानवीय र पूर्वाधार एवं धनजनको क्षतिले मर्माहत तुल्याएको विज्ञप्तिमा  जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप