बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो मेलम्ची : पूर्वसूचनाले ठूलो मानवीय क्षतिबाट जोगायो

बुधबार, ०२ असार २०७८, १८ : ३६
बुधबार, ०२ असार २०७८

सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार रातिदेखिको बाढीले सयवटा भन्दा बढी घर पूर्णरुपमा डुबानमा परेका छन् भने डेढ सय भन्दा बढी घर आंशिक डुबानमा परेका छन् ।

मंगलबार साँझ नै बाढी आउँदैछ भन्ने सूचना प्राप्त भएपछि ठुलो मानवीय क्षति हुनबाट जोगिएको मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाल बताउँछन् ।

‘मलाई बाढी आउँदैछ भनेर एउटा भाइले फोनबाट जानकारी दियो,’ रातोपाटीसँग उनले भने, ‘सूचना पाएलगत्तै मैले प्रहरीलाई जानकारी गराएँ । त्यसैले स्थानीयवासीलाई समयमै सचेत तुल्याउन सकियो ।’

बाढीको भीषण रुप मंगलबार मध्यरातमा देखिएको थियो । यद्यपि साँझदेखि नै बाढी आउने सूचनाका आधारमा स्थानीयवासी सुरक्षित स्थानतर्फ लागिसकेका थिए ।

आफूले पनि भ्याएसम्म फोन गरेरै बजारवासीलाई बाढी आउँदै गरेको सूचना प्रवाह गरेको वडाध्यक्ष दुलालले बताए । हेलम्बुतिरबाट पनि आफूलाई फोनमार्फत नै सबै खोला उर्लिएको सूचना आएको उनले सुनाए ।

‘सूचना पाएको करिब आधा घण्टापछि इन्द्रावतीमा बाढी आयो,’ उनले भने, ‘बाढीले निर्माणाधीन बसपार्क डुबायो ।’

साँझैमा सूचना पाएका कारण बजारका सबैलाई माथि सुरक्षित स्थानमा जान सूचित गर्ने मौका पाएकाले ठुलो मानवीय क्षति टरेको उनले बताए । ‘उज्यालो भएपछि हेर्दा त सबै डुबानमा परेको थियो,’ उनले भने, ‘करिब ५० वटा घर लेदोसहितको बाढीले पुरिसकेको थियो ।’

उनका अनुसार ८०/९० घर डुबान भइसकेको छ भने करिब डेढसय घर जोखिममा छन् । बजार क्षेत्रका विस्थापितलाई स्थानीय विद्यालयमा राखिएको उनले बताए ।

मेलम्ची–११ कै बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर श्रेष्ठ पनि पूर्वसूचना पाएका कारण स्थानीयवासीलाई बेलैमा सुरक्षित स्थानमा जाने मौका मिलेको बताउँछन् ।

‘इन्द्रावतीमा पहिला बाढी आयो, केहीले माछा मारेर पनि ल्याए,’ उनले भने, ‘बाढी आउँछ भनेर चनाखो भयौं र सबैलाई खबर गरियो । बजारवासीहरु सबै तत्कालै घर छाडेर निस्किए ।’

​उनले मेलम्ची खानेपानी आयोजनाको बाँध खोलेकै कारण बाढी आएको भन्ने सूचना आफूहरुले पाएको बताए । ‘मेलम्चीकै बाँध खोलेका कारण बाढी आएको हो भन्ने पनि छ,’ उनले भने, ‘लेदोसहितको बाढी आएको छ, तीन तलासम्मको घर पुरिएको छ ।’

माथिल्लो भेगमा त्यति ठुलो वर्षा नभए पनि बाढी आएकाले पनि मेलम्ची बाँध खोलेकै कारण डुबानमा परेको आशंका गरिएको उनको भनाइ छ ।

तर वडाध्यक्ष दुलाल भने मेलम्चीको बाँधभन्दा माथिदेखि नै बाढी आएको भन्ने सूचना आफूले पाएको बताउँछन् । उनले भने, ‘तीन तलासम्म घर डुबेको छ, मेलम्चीको पानीले मात्र के भ्याउँथ्यो !’ इन्द्रावती र मेलम्ची गरी दुवै नदीबाट बाढी आएका कारण यति भीषण डुबान भएको उनको भनाइ छ ।

स्थानीयवासी रन्जीतकुमार श्रेष्ठ भने मेलम्ची खानेपानी आयोजनामा सरसफाइको काम भइरहेको बताउँदै मेलम्चीकै बाँध खोलेका कारण यति ठुलो बाढी आएको बताउँछन् ।

‘बाढी आउँछ भन्ने अनुमान नै थिएन,’ उनले भने, ‘लार्केमा काम गर्ने एकजनाले बाढी आउँदैछ भनेर जानकारी गराए, त्यसपछि बाढी आयो ।’

उनले मेलम्चीको बाँध खोलेकै कारण बाढी आएको दावी गरे । उनले भने, ‘पानी नै नपरी यत्रो ठुलो बाढी कसरी आउँछ ?’

श्रेष्ठका अनुसार मेलम्ची बजारमै सय घर जति पूर्ण रुपमा क्षति भएको छ । ‘मेरै घरको तीन तला डुबेको छ,’ उनले भने ।

बेलुका पूर्वसूचना पाएर आफूहरु सुरक्षित स्थानमा आइपुग्दासम्म सामान्य बाढी आएको उनको भनाइ छ । ‘तर राति एक्कासी बाढी बढ्यो,’ उनले भने, ‘हेर्दाहेर्दै घरहरु डुब्न थाले ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप