शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीः तिलोत्तमाको नीति तथा कार्यक्रम सार्वजनिक

बुधबार, ०२ असार २०७८, १८ : ०२
बुधबार, ०२ असार २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगरः खुशी नगरबासी’ लक्ष्यसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र पोषण; युवालाई सीपलगायतका विषयलाई प्राथमिकतामा राखिएको नगर प्रमुख घिमिरेले बताए ।

दोस्रो लहरको कोरोना महामारीले आर्थिक तथा सामाजिक क्षेत्र प्रभावित भैरहँदा ल्याइएको नीति तथा कार्यक्रममा तिलोत्तमाले सबै नगरबासीलाई छिटोभन्दा छिटो कोरोना खोपको पहुँचमा पुर्याउन कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ । सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, सुविधासम्पन्न बनाउँदै ७० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपाङ्गहरुको आधारभूत स्वास्थ्य सेवा घरमै प्रदान गर्ने व्यवस्था मिलाउने घोषणा तिलोत्तमाले नीति तथा कार्यक्रममार्फत् गरेको छ ।

तिलोत्तमाले शिक्षा क्षेत्रका चालु आर्थिक वर्षका प्रायः कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, ईन्टरनेट सेवाको व्यवस्था मिलाउने, कोभिड–१९ को संक्रमणबाट निधन भएका व्यक्तिका छोराछोरीलाई मावि तहसम्मको अध्ययनको लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने पनि घोषणा गरेको छ ।

यस्तै सामुदायिक विद्यालयहरुको साझेदारीमा थप ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय १० लाख विशेष अनुदान उपलब्ध गराउने नीति लिएको तिलोत्तमाले “ग” वर्गको पहेलो कार्ड प्राप्त गरेका तर कुनै सरकारी सुविधा प्राप्त नगरेका अपाङ्गता भएकाहरुलाई प्रोत्साहन स्वरुप वार्षिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

यस्तै अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले लिएको छ । 
मकै, गहुँ, तरकारीको बिउ, सिँचाई बोरिङ, माछा पोखरी, दुध उत्पादन, फूल खेती, पशु बीमामा दिइएको अनुदानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने नीति लिएको तिलोत्तमाले दलहन, तेलहन बालीको बीउमा समेत अनुदानको व्यवस्था गरिने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप